काठमाडौं-बैंकहरूले घरजग्गा कारोबार ९रियल इस्टेट०मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए ।
‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित गर्न थालिएको छ ।’ केही साताअघिदेखि नै तुलनात्मक रूपमा घरजग्गाको कारोबारमा ब्याजदर उच्च राखेर त्यस्तो कर्जा निरुत्साहित गर्न थालिएको उनले बताए । तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात ९क्यापिटल एडिक्विसी रेसियो० उच्च दरमा राख्नुपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरूले बताए ।
नेपाल राष्ट्र बैंकको नियमअनुसार घरजग्गा कारोबार र मार्जिन प्रकृतिका कारोबारमा ऋण दिँदा बैंकले एक सय ५० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । त्यसको मतलब घरजग्गा कारोबारमा बैंकले सय रुपैयाँ लगानी गर्न १५ रुपैयाँ पुँजी राख्नुपर्छ । जबकि, आवासीय घर निर्माणमा कर्जा दिँदा बैंकले ६ रुपैयाँ मात्रै आफ्नो पुँजी राखेर सय रुपैयाँ कर्जा दिन पाउँछ । सुन खरिद गर्न वा मुद्दति निक्षेपका आधारमा दिइने कर्जामा लगानी गर्न बैंकले पुँजी राख्नै पर्दैन ।
अरू सामान्य व्यापारिक र उत्पादनमूलक कर्जा प्रवाह गर्दा सय रुपैयाँ कर्जामा १० रुपैयाँ पुँजी राख्नुपर्छ । यसरी १५ रुपैयाँ पुँजी राख्दा बैंकले रियल इस्टेटमा बढीमा सय रुपैयाँ ऋण दिन पाउँछ भने त्यति नै पुँजीले आवासीय घर कर्जामा २ सय ५० रुपैयाँसम्म ऋण दिन पाउँछ । ‘बैंकमा यसै पनि लगानीयोग्य रकम कम भएका वेला जोखिमपूर्ण बजारमा लगानी नगर्ने निचोडमा बैंकरहरू पुगेका छन्,’ ढुंगानाले भने ।
जोखिमपूर्ण बजार
सेयर बजार र घरजग्गा कारोबारलाई सट्टेबाजी बजार ९स्पेकुलेटिभ मार्केट० भनिन्छ । यसलाई राष्ट्र बैंकले सबैभन्दा जोखिमपूर्ण बजारका रूपमा लिएको छ । आज भाउ बढ्यो भने भोलि नै घट्न सक्ने, आज घट्यो भने भोलि बढ्न सक्ने उतारचढावपूर्ण बजारमा ऋण लगानी गर्न बढी जोखिम हुने गर्छ । त्यसै आधारमा राष्ट्र बैंकले पुँजी पर्याप्तता अनुपात बढी राख्नुपर्ने र धितो मूल्यांकन पनि कम गर्ने गरेको छ । अहिले पनि घरजग्गा कारोबारमा बैंकले लगानी गर्दा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिन पाउँछन् । तर, आवासीय घर कर्जामा धितोको ६० प्रतिशत ऋण दिन पाइन्छ । पुँजी बढी राख्नुपर्ने भएकाले ब्याजदर पनि उच्च हुन्छ ।
७४ अर्ब लगानी
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा ७४ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । आवासीय निर्माणमा भने बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र घरजग्गा कारोबार बिस्तारै उकासिन थालेपछि पछिल्ला महिनामा रियल इस्टेट कर्जा बढ्दो क्रममा थियो । एकाएक बैंकहरूसँग ऋण दिने पैसा अभाव हुन थालेपछि घरजग्गा कारोबारमा बैंकहरूले ऋण दिन बन्द गरेका हुन् ।
मुख्य कारण– बैंकहरूमा नै पैसा अभाव
बैंकरहरूका अनुसार हाल वित्तीय प्रणालीमा लगानीयोग्य रकम ९तरलता० अभाव भएपछि सेयर बजार र घरजग्गा कारोबारमा ऋण दिन बन्द गरिएको हो । हिमालयन बैंकका सिइओ अशोक राणाले पनि तरलता बढी भएको वेला मात्रै बैंकहरूले सेयर र घरजग्गा कारोबारमा प्राथमिकतासाथ लगानी गर्ने बताए । ‘अहिले सबै बैंकले पुँजी बढाएकाले पुँजी पर्याप्ततामा समस्या त छैन,’ उनले थपे, ‘तर, लगानीयोग्य रकम नै कम भएकाले सट्टेबाजी बजारमा कर्जा दिन बैंकहरू अनिच्छुक देखिएका हुन् ।’ तरलता बढी हुँदा यस्ता बजारको प्रवृत्ति पनि सुधारोन्मुख रहने र तरलता घट्न थालेपछि सट्टेबाजी पनि तुरुन्तै घट्ने गर्छ । अनुत्पादक क्षेत्र भएकाले थप मूल्य अभिवृद्धि हुने सम्भावना पनि नहुने बैंकरहरू बताउँछन् । यसकारण तरलता संकट जति चुलिँदै जान्छ, घरजग्गाको मूल्य र कारोबार घट्दै जाने अर्थविद्हरू बताउँछन् ।
बैंकहरूको कदमले के फरक पर्छ ?
‘सबैभन्दा पहिले सेयर र घरजग्गाको कारोबारमा प्रवाह भएको ऋण पुनः बैंकिङ प्रणालीमा फर्किन्छ,’ बैंक अफ काठमाण्डू लुम्बिनीका सिइओ अजय श्रेष्ठले भने, ‘अहिले पनि घरजग्गा कारोबारमा बैंकको लगानी बढ्नुको साटो फर्किन थाल्छ ।’ यसले घरजग्गाको मूल्यवृद्धि रोकिने र यसको कारोबार पनि घट्ने उनले बताए ।
करिब आठ वर्षअघि घरजग्गा कारोबारमा फोका ९बबल० देखिएको वेला राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरेको थियो । जसले गर्दा मूल्य केही समय स्थिर भएको थियो । ‘त्यसवेलाजस्तो डरलाग्दो परिस्थिति अहिले बनेको छैन,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘तर, अहिले पनि बैंकले कर्जा नदिएपछि घरजग्गा कारोबार सुस्ताउँछ ।’
विनय बञ्जारा र नयाँ पत्रिका
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस