अर्थ संसार
काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघले जिल्ला विकास समिति र कमलामाइ नगरपालिकासँग मिलेर सिन्धुलीमाढीमा महोत्सवको आयोजना गरिरहेको छ । पुस ७ गते सुरु भएको महोत्सव पुस १८ गतेसम्म संचालन हुने छ । महोत्सवका अबसरमा काठमाडौंबाट एउटा पत्रकारको टोली सिन्धुलीमाढी पुगेको थियो । त्यस अबसरमा उद्योग बाणिज्य संघका अध्यक्ष विनेश श्रेष्ठले पत्रकारहरुसँग सिन्धुलीका सम्भावनाहरुबारे भनेको कुराहरु उहाँकै शब्दमा :
सिन्धुलीमा अमिलो जातका फलफूलको प्रशस्त सम्भावना रहेको छ । जुनार र सुन्तलाबाहेक जिल्लाका ५३ वटा गाविसमध्ये ५० वटामा भुइँकटहर फल्छ । भुइँकटहरलाई हामीले एक गाँउ एक उत्पादन कार्यक्रममा पनि प्रवद्र्धन गर्न खोजिरहेका छौँ । अर्को सम्भावित क्षेत्र ऊर्जा हो । जिल्लामा रहेको कोखाजोर खोलाबाट १३ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । अर्को क्षेत्र पर्यटन हो । पर्यटन क्षेत्रमा सिन्धुलीगढी, फिक्कलडाँडा रहेको छ । त्यो डाँडाबाट तराईका जिल्ला देखिन्छ । त्यस्तै, रमणीय क्षेत्र धेरै छन् । पञ्चकन्या पोखरी छ । त्यससँग धेरैवटा किवंदन्ती जोडिएका छन् । त्यस्तै, हरिहरपुर गढी पनि चर्चित रहेको छ ।
सिन्धुलीमा प्रशस्त जुनार उत्पादन हुने ठाउँ रहेको छ । प्रशोधन गरी निर्यात गर्ने उद्देश्यले जुस उद्योग पनि स्थापना गरिसकेका छौँ । तर, व्यवस्थापनसम्बन्धी केही समस्या आउँदा सञ्चालनमा आएको छैन । त्योभन्दा पनि चुनौती भने जुनारमा देखिएको रोग हो । जुनार चाँडै बिग्रने ‘फ्रुट फ्लाइज’ नामक रोगका कारण अहिले किसान समस्यामा परेका छन् । उत्पादन घटेको छ । यसले भविष्यमा जुनारखेती लोप होला कि भन्ने त्रास उत्पन्न भएको छ । यसलाई उच्च स्तरबाट सरकारले नै चासो राखेर निवारण गर्न आवश्यक देखिएको छ । चीनमा निर्यात गर्न नसक्नुको कारण रोग पनि हो । किनकि उनीहरूले परीक्षण गरेर मात्र लौजाने भएकाले पनि निर्यात गर्न तत्काल नसकिएको हो ।
एकै किसिमको हावापानी नभएकाले एउटै खालको फलफूल उत्पादन गर्न सकिएको छैन । त्यसले गर्दा ठूलो उद्योग स्थापना गर्न सकिएन । जिल्लाका किसानलाई कृषि कर्जाको व्यवस्था भएमा त्यसले ठूलो सहयोग पुग्ने थियो । बैंकले कृषिमा लगानी गर्ने भने पनि किसानले कर्जा पाइरहेका छैनन् । घरखेत हेरेर मात्र कर्जा पाउने गरेका छन् । किसानको खेती हेरेर कर्जा पाउने व्यवस्था गर्न आवश्यक छ । यसो गर्न सकेमा किसानको जीवनस्तरलाई उठाउन सकिने थियो । अहिले आत्मनिर्भर हुने मात्र भइरहेको छ, व्यावसायिक बनाउन सकिएको छैन ।
सिन्धुली हावापानीको हिसाबले विविधतायुक्त वातावरण भएको जिल्ला हो । यसकारण यस जिल्लामा धेरै सम्भावना छन् । कृषि उत्पादन यहाँका आकर्षण हुन् । अर्गानिक कफी, जुनार, ढाका, बाँसका सामग्री, फापर कोदो मासलगातका उत्पादन, घरेलु तथा साना उद्योगद्वारा उत्पादन भएका सामानलगायतका उत्पादनले यस जिल्लालाई चिनाउँछन् ।
स्थानीय उत्पादनको बजारीकरणमा उद्योग बाणिज्य संघले सघाइरहेको छ । यसले नै सामानको बजारीकरणमा पनि ध्यान दिइरहेको छ । केही सरकारी प्रयास भने भएका छन् ।
अहिलेको हाम्रो प्राथमिकता भनेको सिन्धुलीमा यस्तो जडीबुटी पाइन्छ । यस्ता उद्योग खोल्न सकिने सम्भावना छ भनेर प्रचारप्रसार गर्ने र उद्योग स्थापनाका लागि आकर्षित गर्ने हाम्रो लक्ष्य हो । उदाहरणका लागि सिन्धुलीमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । ती जडीबुटी प्रशोधन गर्ने उद्योग स्थापना गर्न सकियो भने त्यसले समग्र रूपमा सबैको हित गर्छ । यसकारण पनि महोत्वसले सहयोग पुर्याउने विश्वास छ । साबुन वा चाउचाउ उद्योग स्थापनाभन्दा पनि कृषिजन्य उत्पादन गर्ने उद्योग स्थापना गर्न सकिएमा यस जिल्लाको समृद्धि हुने हाम्रो इच्छा हो । यो महोत्सवले जिल्लालाई विकासको बाटोमा लैजान अभिप्रेरित गरोस् र अघि बढाउन सहयोग होस भन्ने हामी चाहन्छौँ । समृद्ध सिन्धुली बनाउन यस महोत्वसले प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।
हामीले व्यक्तिगत रूपमा सञ्चालन भएका लघु उद्यमलाई पनि प्राथमिकता दिएका छौँ । ढाकाका सामान, धूप, मैनबत्तीलगायतका सामान भने व्यक्तिगत रूपमा उत्पादन गरे पनि हामीले सामूहिक रूपमा प्रदर्शनी गर्ने व्यवस्था गरेका छौँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस