Like us!
Follow us!
Connect us!
Watch us!

गौतमबुद्ध गौरवका सत्पात्र : प्रमओली

अर्थ संसार

शनिबार, ०४ जेठ २०७६, ०९ : ०८ मा प्रकाशित

गौतमबुद्ध गौरवका सत्पात्र : प्रमओली

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ ।

“संसारमा दुःख छ र दुःख हटाउनसके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतमबुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “जातीय भेदभाव र छूवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतमबुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”

बुद्धका विचार जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकाले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्क्री ओलीले संयुत्त राष्ट्रसङ्घले समेत गौतमबुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तका रुपमा अवलम्बन गरी संसारलाई त्यसैअनुरूप शान्तिको बाटोमा डोहोर्‍याउन खोजेको सन्देशमा भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकार सधैँ सकारात्मक रहेको भन्दै बुद्धजयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताउनुभएको छ । किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ ।

“नेपालीले यस विविधतालाई एकताको प्रमुख सूत्रका रुपमा स्वीकारेका छन् । जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो, हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइन तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र सांस्कृतिक सद्भावकायम राखे”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रयत्नशील रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “वर्तमान सरकार समानतासहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ, यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यबद्धताको आवश्यकता छ”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको