मुलुकले आज नयाँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह लाई पाउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता रहेका शाहले शुक्रबार दिउँसो शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथअघि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतका आधारमा सरकार गठन हुन लागेको हो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय बहुमत हासिल गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
रास्वपाले बिहीबार मात्रै संसदीय दलको नेता चयन गर्दै बालेनलाई प्रधानमन्त्रीको जिम्मेवारीका लागि अघि सारेको थियो। झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित शाहले उक्त क्षेत्रमा उल्लेखनीय मतसहित विजय हासिल गरेका थिए।
शपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा हुने तय गरिएको छ। कार्यक्रम अघि राष्ट्रपति शीतल निवासको मञ्चमा उपस्थित हुनेछन् भने त्यसपछि औपचारिक प्रक्रिया पूरा गर्दै नयाँ प्रधानमन्त्रीलाई शपथ गराइनेछ।
समारोहलाई यसपटक केही फरक र विशेष बनाउने तयारी गरिएको छ। बालेन दौरा–सुरुवाल र भादगाउँले टोपीमा उपस्थित हुनेछन्। साथै, शपथका क्रममा वैदिक परम्पराअनुसार स्वस्तिवाचन, बौद्ध परम्पराअनुसार मंगलवाचन तथा शंखध्वनि गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमस्थलमा नेवारी, मैथिली, किराँतलगायत विभिन्न सांस्कृतिक पहिचान झल्काउने प्रस्तुति तथा सजावटसमेत राखिने जनाइएको छ।
शपथ समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी रहेको बुझिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस