अर्थ संसार, पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित रकम सम्बन्धमा छलफल भएको छ ।
बैठकमा सदस्यले भौतिक पूर्वाधार विकास मन्त्रालयमा अन्यमा भन्दा बढी रकम विनियोजन भएको बताउँदै यसको सही कार्यान्वयनको आवश्यकता औँल्याए । प्रदेशसभा सदस्य गायत्री गुरुङले जनताका आधारभूत आवश्यकता र भावना समेटेर बजेट आएको बताउँदै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
बजेटले प्रदेशको राजधानीबाट जिल्ला सदरमुकाम र जिल्ला सदरमुकामबाट प्रत्येक स्थानीय तहलाई जोड्न खोजेको बताउँदै यसले समृद्ध प्रदेशका लागि महत्वपूर्ण आधार तयार गरेको बताए ।
प्रदेशसभा सदस्य मणिभद्र कँडेलले बजेटले स्थान र आवश्यकतालाई समेट्न नसकेको बताउँदै बजेटमा देखिएका त्रुटि देखाउनु, सचेत गराउनु प्रतिपक्षको जिम्मेवारी भएको बताए । मोहनप्रसाद रेग्मीले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउँदै त्यसैअनुरुप बजेट विनियोजन भएको उल्लेख गरे ।
भगवतप्रकाश मल्लले बजेटअनुसार व्यवहार नदेखिएको बताए। कृष्ण थापाले रातो किताबमा प्रणालीगत त्रुटि भनी छुट पत्र आएको चर्चा गर्दै त्यसमा पनि सबैलाई नसमेटिएको गुनासो गरे । राजीव पहारीले यथार्थताको जगमा विकास र समृद्धिलाई लक्षित गर्दै बजेट आएको टिप्पणी गरे ।
बैठकमा प्रदेशसभा सदस्य मीना गुरुङ, विष्णुप्रसाद लामिछाने, दीपक थापा, लक्ष्मी सुनार र सावित्रा गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस