अर्थ संसार, चितवन- व्यवसाय कर सङ्कलनमा सहयोग पुर्याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट उद्योग वाणिज्य सङ्घलाई रु २३ लाख ८३ हजार ९७० र उद्योग सङ्घलाई रु १४ लाख ३० हजार ३८२ प्रदान गरिएको हो । असार २२ गतेसम्मको सङ्कलित रकमबाट भुक्तानी गरिएको महानगरले जनाएको छ । गत आर्थिक वर्ष भरमा रु पाँच करोड १९ लाख ५० हजार ९७६ सङ्कलन भएको महानगरले जनाएको छ । बाँकी रकम चालू आर्थिक वर्षमा थप गरेर भुक्तानी पाउने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए ।
भरतपुर महानगर प्रमुख रेणु दाहालले उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हुन् ।
भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य सङ्घ चितवनलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको पाँच प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग सङ्घलाई व्यवसाय दर्ता दस्तुरबापत सङ्कलित रकमको तीन प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।
महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताए । महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र पौडेलले सो रकम कर सङ्कलनमा सहयोग पुग्ने गरी विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस