अर्थ संसार, पर्वत- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो ।
यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । व्यावसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन भएपछि स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न गाविसका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका–६ साविकको शालीग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करीब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ ।
यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चरमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए ।
विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको विहादी गाउँपालिका–६ शालीग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताए । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस