Like us!
Follow us!
Connect us!
Watch us!

देशमै पहिलोपटक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १२ : ४२ मा प्रकाशित

देशमै पहिलोपटक अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र

अर्थ संसार, काठमाडाैं - देशमै पहिलोपटक कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण गरिएकाे छ । गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न थालिएकाे हो ।

गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट ४५६ जनालाई सोमबारदेखि  डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुवात गरिएको हो ।

पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचयपत्र तयार गरिएको छ । रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् । गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी,वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताइन् ।

त्यस्तै, महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण शुरु भएको बताए । उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासङ्घमा नरहेको बताउँदै प्रथमपटक शुरुवात भएको उल्लेख गरेका छन् ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ्रे बाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरे ।

गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिएका छन् । उनले रातो परिचयपत्र भएकालाई राज्यले हाल मासिक रु तीन हजार प्रदान गर्दै आएबाट रातो परिचयपत्रका लागि नागरिकको जोड रहने गरे पनि सेतो र पहेँलो परिचयपत्र हुनेले राज्यबाट बढी अवसर प्राप्त गर्ने गरेकाे बताए । परिवारमा एक अपाङ्ग व्यक्ति हुँदा त्यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले अपाङ्गता हुन नदिन प्रयत्न गर्नुपर्नेमा उनको जोड थियो ।

सामाजिक विकास समितिका सभापति दुर्गाबहादुर क्षेत्री तथा वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले अपाङ्ता भएकालाई हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेकामा जोड दिँदै अपाङ्गमैत्री संरचना निर्माण तथा उनीहरूको सवालमा सधैँ सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । – रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको