Like us!
Follow us!
Connect us!
Watch us!

रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

बुधबार, २८ फागुन २०७६, १७ : ०७ मा प्रकाशित

रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

अर्थ संसार, काठमाण्डौं – रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।  

राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उहाँ सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनु हुनेछ । 

त्यस्तै, राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३८३ मत र विपक्षमा शून्य मत परेको थियो । सदनमा ४३ जना अनुपस्थित रहेका थिए । संसदबाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी उक्त प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ । 

उक्त कदमको विरोधमा रहेका व्यक्तिहरुले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै यसविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । 

त्यसैगरी, पूर्व केजीबी अधिकारी ६७ वर्षीय पुटिनले रसियामा सत्ता सम्हालेको २० वर्षभन्दा बढी भइसकेको छ । दुई पटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति भएपछि उहाँ सन् २००८ मा प्रधानमन्त्री बन्नु भएको थियो । पुटिनको स्थानमा उहाँकै विश्वासपात्र डिमित्री मेडभेडेभ राष्ट्रपतिमा छानिनु भएको थियो । 

त्यस्तै, तत्कालीन राष्ट्रपति मेडभेडेभको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ मा पुटिन फेरि राष्ट्रपति बन्नुभयो, र सन् २०१८ मा उहाँ पुनः ६ वर्षका लागि राष्ट्रपति चयन हुनुभयो ।

ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्ताब बमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनु हुनेछ । राष्ट्रिय मतदान हुनुअघि रसियाको संवैधानिक अदालतले ड्युमाको प्रस्तावमाथि विचार गर्नेछ । 

त्यसैगरी, ड्युमाले गरेको संशोधन प्रस्तावले रसिया सरकारको कार्यकारी शक्ति अरु मजबूत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउने छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको