Like us!
Follow us!
Connect us!
Watch us!

झन्-झन् कडा हुँदै लकडाउन

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, ११ : ४० मा प्रकाशित

झन्-झन् कडा हुँदै लकडाउन

अर्थ संसार, काठमाडौं – विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहमन्त्रालयको निर्देशन अनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताएका छन् । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा समेत प्रहरी सक्रिय रहेको प्रहरी महानिरीक्षक ज्ञवालीको भनाइ छ ।

प्रहरीले करिब ३५ हजारपटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उहाँले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए ।

लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी प्रहरीले गतिविधिको निगरानी गरिरहेको छ । पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहोर्याएर आएमा आवश्यक कारवाही गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक ज्ञवाली भन्छन्, “लकडाउन आदेशलाई अन्य निकायसँग समन्वय गरी नेपाल प्रहरीले पूर्णरूपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरिरहेको छ ।” कोरोनाको सङ्क्रमणलाई रोक्न सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा छ । यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरेका बताए । लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्यअनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले हाल तालिम स्थगन गरी प्रहरी कर्मचारीलाई लकडाउनको कार्यान्वयनका लागि खटाइएको जानकारी दिएका छन् । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको जनाइएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको