Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे संघीय संसदको बजेट अधिवेशन, कस्ताे छ तयारी ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, १६ : ३९ मा प्रकाशित

सुरू भयाे संघीय संसदको बजेट अधिवेशन, कस्ताे छ तयारी ?

अर्थ संसार काठमाडाैं -  कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा सङ्घीय संसद्को बर्खे अधिवेशन भने आजदेखि सुरु भएको छ ।

सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७७/७८ को आय तथा व्ययको विवरण (बजेट) आगामी जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्को अधिवेशन शुरु भएको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी बाध्यता छ ।

सदनमा भाग लिन आउने मन्त्रिपरिषद्का सदस्य, सांसद,कर्मचारी र सुरक्षाकर्मीलगायतलाई बैठक कक्षमा प्रवेश गर्नुअघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मूलद्वारमा साबुन पानीले मिचीमिची हात धुने र सेनिटाइजरबाट निसङ्क्रमण हुने व्यवस्था मिलाइएको छ । जुत्ताबाट हुन सक्ने जोसखमलाई ध्यान दिँदै मूलद्वार अघि सेनिटाइजरको व्यवस्था गरिएको छ ।

अधिवेशन प्रारम्भ भएको पहिलो दिन भएकाले फोटो पत्रकारले राजनीतिक दलका नेता र सांसदका विभिन्न गतिविधिको तस्वीर लिन तछाड मछाड गरिरहेको देखिन्थ्यो । मूलद्वारमा सांसदको स्वास्थ्य परीक्षण गर्ने सन्दर्भमा ज्वरो नाप्ने व्यवस्था गरिएको थियो ।

प्रतिनिधिसभाको बैठक निर्धारित समय ठीक ४ः०० बजे शुरु भएको थियो भने राष्ट्रियसभाको बैठक भने केही ढिलो (४ः१० बजे) मात्रै प्रारम्भ भयो ।

सङ्घीय संसद्को छैटाैँ अघिवेशन प्रारम्भ भएसँगै सभामुख र अध्यक्षले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र वाचन गरेका थिए भने त्यसको लगत्तै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदको सम्मानमा मौनधारणा गरियो । सभामा संसद्का लागि दूरी कायम हुने गरी कुर्सीको व्यवस्था गरिएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको