अर्थ संसार, काठमाडौं - बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पुर्याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको अहिले परीक्षण गरिएको छैन ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेकामा कोरोना भाइरस महामारी फैलिएपछि घर फर्कँदा सीमा क्षेत्रमा अलपत्र तथा नानपाराका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई बाँके प्रशासन र भारतीय बहराइच जिल्ला प्रशासनबीच समन्वय गरी गए राति नेपाल प्रवेश गराइएको हो ।
त्यस्तै, सीमानाका आसपास अलपत्र परेका दुवै देशका नागरिकलाई उद्धार गरेर आआफ्ना देशमा जान दिने सहमतिअनुसार भारतबाट ६८७ नेपाल आएको र नेपालबाट करीब एक हजार चार सय भारतीयलाई भारत पठाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस