अर्थ संसार
काठमाडौँ– पछिल्लो दिनमा विभिन्न व्यक्तिहरु एक पछि अर्को गर्दै जलविद्युत् आयोजनामा लगानी गर्ने क्रम बढीरहेको बेला राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल पनि जलविद्युत् आयोजना निर्माणमा होमिएका छन् ।
प्रतिष्ठित ब्यक्तिहरुले जलबिद्युत क्षेत्रमा लगानी बढाउँदै गर्दा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी डा. गोबिन्दराज पोख्रेल र पूर्व महालेखा परीक्षक बद्रिबहादुर कार्कीको समूहले सिन्धुपाल्चोकमा ७७ मेगावाटका तीन वटा आयोजना निमार्णको प्रक्रिया सुरु गरेका छन् ।
डा पोखरेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका व्यक्ति हुन् । कार्की यसअघि महालेखा परीक्षक रहेका थिए । चूर्णप्रसाद श्रेष्ठ अध्यक्ष रहेको सिन्धुज्वाला हाईड्रोपावरले ४३ मेगावाटको अपर नेसम खोला आयोजनाको निर्माण तत्काल अगाडि बढाउने जनाएको छ ।
यस्तै सोही समूहले नेसम खोलामा २१ मेगावाटको अपर नेसम ए र १४ मेगावाटको नेसम खोला आयोजना निर्माण प्रक्रिया पनि चाँडै सुरु गर्ने तयारी गरेको छ । हाइड्रो हवको रुपमा रहेको सिन्धुपाल्चोकमा आयोजना अगाडि बढाउँदा पहुँचमार्ग तथा अन्य सुविधा पनि सहज हुने भएकाले आयोजना निर्माणमा लागेको बताइएको छ ।
एउटै करिडोरमा तीनवटा आयोजना बनाएर पोख्रेल र कार्की समूहले नेसम खोला क्षेत्रको बिकासमा पनि सघाउने जनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्व प्रमुख पोख्रेल पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि उनले श्रीमती लोकमायाँ शर्मालाई कम्पनीको सञ्चालक बनाएका छन् ।
मध्य भोटेकोशी १०२ मेगावाट बाहेक सिन्धुपाल्चोकमा निजी क्षेत्रले बनाउन लागेको यो नै ठूलो आयोजना रहेको बताइन्छ । मध्य भोटेकोसी चिलिमे जलविद्युत् आयोजनाले अगाडि बढाएको आयोजना हो ।
सोही क्षेत्रमा निजी क्षेत्रको भोटेकोसी आयोजना रहेको छ । सो आयोजना गोरखा भूकम्पका कारण हाल बन्द अवस्थामा रहेको छ । आयोजना मर्मतको क्रममा रहेको र मर्मत गर्न अझै केही समय लाग्ने बताइएको छ । आयोजनाले नेपाल बिद्युत प्राधिकरणसँग बिद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ ।
सम्बद्ध पक्षकाअनुसार ४३ मेगावाटको आयोजना २०७७ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि पहुँचमार्ग र प्रसारण लाईन निर्माणको काम चालु छ । कुल रु ६ अर्ब ६६ करोड लागतमा बन्ने आयोजनाका लागि संस्थापकहरुले एक अर्ब ८७ करोड र बैंकहरुको चार अर्ब ६० करोड लगानी रहने छ ।
प्रति मेगावाट साढे १५ करोड लागतमा बन्ने आयोजनाका एक हजार भन्दा बढी संस्थापक सेयरधनी रहेको र संस्थापक बनी लगानी गर्न चाहनेहरुलाई यही चैत्र मसान्तसम्मको समय रहेको बताइएको छ ।
२०७५ सालमा सार्वजनिक रुपमा सेयर निश्काशन गर्ने लक्ष्य लिएको आयोजनाले रु १० करोड बराबरको साधारण सेयर आयोजना प्रभावितलाई बितरण गर्ने तयारी गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस