Like us!
Follow us!
Connect us!
Watch us!

यो साता सेयर लगानीकर्ता मालामालः एक सातामै कमाए १ खर्ब १९ अर्ब

अर्थ संसार

शनिबार, १० माघ २०७७, ११ : ०६ मा प्रकाशित

यो साता सेयर लगानीकर्ता मालामालः एक सातामै कमाए १ खर्ब १९ अर्ब

यो एक सातामा सेयर लगानीकर्ताहरुले १ खर्ब १९ अर्ब भन्दा बढीको आम्दानी गर्न सफल भएका छन् । यो सातामा बजारको पूँजीकरण ३.८५ प्रतिशतले बृद्धि भएको हो ।

अघिल्लो साता सेयर बजारको पूँजीकरण ३० खर्ब ७९ अर्ब रहेकोमा यो साता १ खर्ब १९ अर्बले बढेर ३१ खर्ब ९८ अर्ब पुगेको छ । बजारको पूँजीकरण भनेको कम्पनीको बजारमा कायम सेयर मूल्य र कम्पनीको सूचिकृत सेयर संख्याको गुणनफल हो ।

यो सातामा नेप्से परिसुचक ८१.६६ अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक २२८६.५५ को बिन्दुमा पुगेको थियो । यो साताको साप्ताहिक कारोबारबाट नेप्से ३.५७ प्रतिशतले बढेर २३६८.२१ को बिन्दुमा पुगेको छ । यो बिन्दुनै नेप्से परिसूचकको अहिलेसम्मकै उच्च बिन्दु हो ।

अघिल्लो साताको तुलनामा यो साता साप्ताहिक कारोबारमा पनि व्यापक बृद्धि भएको छ । अघिल्लो साता साताभरिमा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यो साता कारोबार रकममा ५०.१९ प्रतिशतले बृद्धि भएर ३४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता नेप्सेमा चार दिन मात्र कारोबार भएकोमा यो साता भने पाँचै दिन कारोबार भएको थियोे ।

अघिल्लो सातामा दैनिक कारोबारको रेसियो ५ अर्ब ६८ करोड रहेकोमा यो साता बढेर ६ अर्ब ८३ करोड पुगेको छ । दैनिक कारोबार रकम अघिल्लो साताको तुलनामा यो साता २०.१५ प्रतिशतले बृद्धि भएको हो ।

अघिल्लो साता नेप्सेमा सुचिकृत कम्पनीहरुमध्ये २१६ कम्पनीको मात्र सेयर कारोबार भएकोमा यो साता भने २२२ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो साता जस्तै यो साता पनि धितोपत्र बजारमा सर्वाधिक कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको साताभरिमा २ अर्ब ३७ करोडभन्दा बढी मूल्यको सेयर कारोबार भएको हो । त्यसै गरि यो साता धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता सेयरको कारोबार प्रभु बैंकको सेयरको भएको छ । बैंकको ३ करोडभन्दा बढी कित्ताको कारोबार भएको हो ।

समग्रमा यो साता धितोपत्र बजार र आम लगानीकर्ताहरुको लागि सम्झनलायक साता बनेको छ । साप्ताहिक कारोबारका ५ कारोबार दिनमा १ दिन झिनो अंकले नेप्से ओरालो लागेको भएता पनि अन्य चार दिन भने नेप्सेले उकालो यात्रा तय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको