Like us!
Follow us!
Connect us!
Watch us!

२ दिनमा ७६.०४ अंकले घट्यो नेप्से, नाफा बुक गर्दा करेक्सन आयो, छिट्टै लयमा फर्कने दावी

अर्थ संसार

सोमबार, ०६ बैशाख २०७८, १५ : ३६ मा प्रकाशित

२ दिनमा ७६.०४ अंकले घट्यो नेप्से, नाफा बुक गर्दा करेक्सन आयो, छिट्टै लयमा फर्कने दावी

साताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ  । नयाँ वर्षलाई उमंगका साथ स्वागत गरेको सेयर बजारले आइतबार र सोमबार भने ओरालो यात्रा तय गरेको हो । २७ सयको बिन्दु पार गरेको नेप्से पुन: २६ सयको बाटोमा फर्किएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १.३९ प्रतिशतले घटेर २६६१.९३ को बिन्दुमा पुगेको छ आज नेप्से परिसूचक ३७.५८ अंकले घटेको हो । 

आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । सोमबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.७३ अंकले बढेको थियो । त्यसपछि केहि समय घट्ने बढ्ने हुँदै अन्त्यमा बजारमा ३७.५८ अंकको गिरावट आएको हो । 

यस्तै, सोमबार सेन्सेटिभ परिसूचक ७.०६ अंकले घटेर ४७९ को बिन्दुमा पुगेको छ । आज कूल २१३ कम्पनीको सेयर कारोबार हुँदा एक करोड ४० लाख ७४ हजार १६८ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७१ करोड २१ लाख ७१ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक सँगै कारोबार  रकममा पनि भारी गिरावट आएको छ । आइतबार सेयर बजारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सेयर विश्लेषक एवं नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार अहिले निरन्तर बढेको बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा केहि करेक्सन आएको बताउँछन् ।  गत चैत्र २ गते २३८९.१९ को बिन्दुमा पुगेको नेप्से परिसुचक यो एक महिनामा ३४६.२ अंकले बढेर बैशाख २ गते २७३५.३९ को बिन्दुमा पुगेको थियो । योबीचमा यति धेरै अंकले नेप्से परिसुचक बढ्दा हिजो र आज आएको करेक्सन सामान्य रहेको उनको तर्क छ । 

जहिले पनि बजार जब एक 'स्टेप' पछाडी जान्छ, त्यसपछी मात्र २ स्टेप अगाडी बढ्ने भन्दै उनले कोरोनाका कारण झन् लगानीका अन्य क्षेत्रहरु बन्दा हुँदा सेयर बजारले नयाँ उचाई लिन सक्ने उनको अनुमान छ । "अहिले बजार घट्ने अन्य कुनै पनि कारणहरु छैनन्, यसलाई आम लगानीकर्ताहरुले खरिद अवसरका रुपमा लिनुपर्ने" बताउछन् रौनियार ।

अबको केहि समयमा धेरै बैंकहरु मर्जमा जाने र बैंकिङ क्षेत्रलेनै केहि समय नेप्सेमा तहल्का मच्चाउने उनको प्रक्षेपण छ । अहिलेनै तत्काल बैंकको ब्याजदर पनि बढ्ने सम्भावना नरहेको, विदेशबाट समेत उल्लेखिय रुपमा सेयरबजारमा लगानी भित्रिरहेको र अब सरकारले विकास खर्च समेत बढाउने भएकाले अहिले नै बजार धेरै अंकले घट्ने संभावना आफूले नदेखेको रौनियार बताउँछन्   ।   

आज १३ उपसमूहमध्ये दुई वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकि ११ वटा उपसमूहको सेयर घटेको छ ।  आज फाइनान्स र हाइड्रोपावर समूहको मात्र सेयर बढेको हो ।

सोमबार सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थान नागरिक लगानी कोषले गरेको छ । कम्पनीले २८ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार  गरेको छ ।

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको