कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो ।
बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं । सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो । तर, यस विषयमा कुनै निर्णय गरिएको छैन ।’
सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा कोरोना बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उनको भनाइ छ । ‘पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ । यस अवस्थामा सरकारले सहयोग गर्ने नीति ल्याएमा कोरोना बीमालाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘किनकी कोरोनासम्बन्धी मुख्य दायित्व सरकारको नै हो ।’  
साउनदेखि दाबी आवेदन पनि नलिइने उनले बताए । ‘अहिले पनि कोरोना बीमाको पोलिसी विक्री गर्न मिल्छ । तर, साउनदेखि भने कोरोना बीमा पोलिसीको खरीदविक्री बन्द गरिनेछ,’ उनले भने, ‘साथै, दाबी भुक्तानीका लागि आवेदन दिने म्याद पनि असार मसान्तमा अन्तिम हुनेछ ।’
असारभित्र नै कोरोना संक्रमण भएको पुष्टि भए पनि ग्राहकले बीमा भुक्तानीका लागि यही अवधिमा नै प्रक्रिया अगाडि बढाउनुपर्ने छ । असार मसान्तपछि दाबी भुक्तानीको आवेदन पनि नलिने पौडेलको भनाइ छ । यो समाचार आजको अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस