Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमांडौः न्युन सेयर मूल्यको जोखिमरहित कम्पनी

कृष्ण भट्टराई

सोमबार, १० जेठ २०७८, १४ : ०६ मा प्रकाशित

बैंक अफ काठमांडौः न्युन सेयर मूल्यको जोखिमरहित कम्पनी

नेपालका २७ वाणिज्य बैंकहरुमध्ये एक बैंक अफ काठमांडौ (बिओके) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार बैंकको चुक्ता पूँजी ९ अर्ब ६५ करोड रुपैयाँ छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

तेस्रो त्रैमाससम्मको खुद मुनाफालाई हेर्दा २७ बैंकहरुमध्ये सबैभन्दा बढी खुद मुनाफा हासिल गर्ने बैंकहरुको सूचिमा बिओके २२ औँ नम्बरमा रहेको छ भने बढी वितरण योग्य मूनाफाका आधारमा १९ औँ नम्बरमा ।

बैंकको वित्तीय अबस्था

बैंकको पछिल्लो वित्तीय अबस्थालाइ हेर्दा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ । गत आर्थिक वर्षको चैत्त मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसामा सीमित थियो । यस हिसाबले हेर्दा बैंकले गत बर्षको तुलनामा लाभांश बढाउने देखिन्छ । बैंकले गत बर्ष १३ प्रतिशत बोनस सेयरसहित १६ प्रतिशत लाभांश दिएको थियो । 

 

तेस्रो त्रैमाससम्ममा बैंकको रिजर्भको आकारमा पनि बृद्धि भएको छ । गत बर्षको यो अवधिमा बैंकको रिजर्भमा ४ अर्ब ७६ करोड ४ लाख रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बृद्धि भएर ५ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको वितरण योग्य मुनाफा ८५ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

बैंककोे चालु बर्षको ९ महिनामा निक्षेप ९२ अर्ब १० करोड रुपैयाँबाट बढेर ९६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको खुद कर्जा लगानी ७५ अर्ब ८८ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । 
 

बैंकको निस्कृय कर्जा पनि केहि घटाउन सफल भएको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्त १।५३ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म आइपुग्दा घटेर १.०१ प्रतिशत पुगेको छ  । बैंकको आधार दर ९.३३ प्रतिशतबाट ७.६० प्रतिशतमा र स्प्रेड दर ४.८० प्रतिशतबाट ३.२६ प्रतिशतमा झरेको छ ।

बैंकका ७ वटै प्रदेशमा ९० वटा शाखा, ७८ स्थानमा एटिएम र १० स्थानमा एक्सटेन्सन काउन्टर रहेका छन् । 

सेयर बजारमा बैंक अफ काठमाडौं 

सेयर बजारमा बैंक अफ काठमाडौंको अबस्थालाइ हेरौं । बैंकका ९ करोड ६५ लाख ८१ हजार ७ सय ६४ कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको सेयर एक बर्षयता अधिकतम ३५१ रूपैयाँ र न्युनतम १९६ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १२० दिनको औषत मूल्य २९५.१३ रूपैयाँ रहेको छ । भोलुमको आधारमा हेर्दा पनि बैंक अफ काठमाडौं दैनिक राम्रो संख्यामा कारोबार हुने कम्पनीमा पर्दैआएको छ ।

कम्पनीको मूल्यलाइ एक छिन नियालौं । बैंकको सेयर मूल्य औषत मूल्यलाई आधार मानेर हेर्दा केही सेयर मूल्यमा धेरै उथल पुथल भएजस्तो देखिदैन । आजको कम्पनीको सेयरको बजार मूल्यअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) २१.६९ छ । यो भनेको कम्पनीमा लगानी गर्न त्यति जोखिम छैन भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि उत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । 

लाभांशको इतिहास

कम्पनीको लाभांशको इतिहास हेर्ने हो भने बैंकको लाभांशलाई मध्यम मान्न सकिन्छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा १७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसमा बोनस सेयरको हिस्सा ६ प्रतिशत थियो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १४ प्रतिशत बोनश शेयर, आर्थिक वर्ष २०७३/७४ मा २० प्रतिशत बोनश शेयर, २०७२/७३ मा २३ प्रतिशत बोनस सेयर, वितरण गरेको थियो । यस हिसावले पाँच बर्षअघि बैंकको १ सय कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर अहिले १९० कित्ता पुगेको छ । सेयरधनीले यसबीचमा राम्रो नगद लाभांश समेत बुझिसकेका छन् । 

बैंकको ब्यवस्थापन 

बैंक अफ काठमाडौंको ब्यवस्थापनलाइ हेरौं । कम्पनीको परफरमेन्स हेर्न त्यसको ब्यवस्थापनलाइ हेर्नु पर्छ । बैंक अफ काठमाडौं साविकको लुम्बिनी बैंकसँगको मर्जर पश्चात बनेको बैंक हो । 

बैंक अफ काठमाडौं र लुम्बिनी बैंकका बिचमा मर्जरपश्चात वि.स. २०७३ असार ३० गतदेखि बैंक अफ काठमाडौं लुम्बिनीका नाममा कारोबार प्रारम्भ गरेको भएता पनि केही समयपछि पुनः बैंकको नाम बैंक अफ काठमाडौं कायम गरिएको हो ।     

सन् २०१० मा बैंकले बैंक अफ द इयरको उपाधि पाएको थियो । 

हाल बैंकको अध्यक्षमा प्रकाश श्रेष्ठ रहेका छन् । हाल बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रकाश श्रेष्ठ, राधेश पन्त, जितेन्द्र धिताल रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा र मदनलाल जोशी रहेका छन् भने बैंकको स्वतन्त्र सञ्चालकमा मोहना लोहनी रहेकी छन् ।

हाल बैंक अफ काठमाडौंको व्यवस्थापकीय नेतृत्व (सीईओ) को भूमिका शोभनदेव पन्तले निर्वाह गरिरहेका छन् । उनले ३७ वर्षभन्दा लामो बैकिङ्ग करियरमा धेरै बैंक र विकास बैंकमा उच्च पदमा रही कार्य सम्पादन गरिसकेका छन् । पन्तले नबिल बैंकबाट आफ्नो बैकिङ करियर सुरु गरेका हुन् ।

विगतमा नबिल बैंक, नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको सिईओका रुपमा कार्यसम्पादन गरिसकेका पन्त नेपालको बैंकिङ क्षेत्रको व्यवस्थापनमा अनुभवी मानिन्छन् ।

पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ । उनले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए अध्ययन गरेका हुन् ।

वि.सं. २०७४ सालमा ४ बर्षे कार्यकालका लागि सिईओमा नियुक्त भएका पन्तको यसै बर्ष कार्यकाल सकिँदैछ । 

बैंकको समग्र अबस्था हेर्दा  यसमा गरिने लगानी दीर्घकालीन रूपमा त्यति जोखिपूर्ण भने देखिदैन । बैंकको बजार मूल्य बढेर हुने मुनाफा त छँदैछ, यसले हरेक बर्ष दिने लाभांशसमेत राम्रो रहेको  छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी १६ रूपैयाँभन्दा बढी रहेकाले यस बर्षको लाभांश समेत अघिल्लो बर्षको तुलनामा आकर्षक हुने देखिन्छ । अहिले बजारमा यो बैंकको भन्दा पनि कम लाभांश दिएका कतिपय कम्पनीहरूको मूल्य योभन्दा बढी छ । यो बैंकको सेयरमा लगानी गर्न चाहाने लगानीकर्ताहरुको लगानी त्यति जोखिमपूर्ण भने देखिदैन । 
नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो । यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ । 

यो पनि पढ्नुहोस्

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

 

मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै 

प्राइम लाइफ इन्स्योरेन्स : ब्यवसाय विस्तारमा आक्रामक, नगद लाभांश वितरणमा कन्जुसाई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको