कोरोना भाईरसको महामारी विश्वव्यापी रुपमै पुनः बल्झिएको छ। यसको प्रभाव नेपालसम्म आइपुग्दा यो रोगको सङ्क्रमणलाई न्यूनीकरण गर्दै क्षतिलाई कम गर्न हाल खोटाङ र मनाङ बाहेक देशका ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। हाल नेपाल मात्रै होइन दक्षिण एसिया, एसिया, युरोपेली क्षेत्रका साथै विश्वका कयौँ मुलुक पनि बन्द छन् ।
महामारीले हुनसक्ने मानवीय क्षति कम गर्न र दीर्घकालीन रूपमा अर्थतन्त्रलाई बचाउन सरकारसँग योबाहेक अर्को विकल्प पनि थिएन । तर सरकारको यो विकल्पले सम्पूर्ण जनमानसमा भने धेरै प्रश्न खाडा गरिदिएको छ। अब के होला ? कसो होला ? अल्पकालीन रूपमा बन्द नेपाली अर्थतन्त्रमा कोरोनाभाइरसको दीर्घकालीन प्रभाव कस्तो रहला ? भन्ने शंसय उत्पन्न भएको छ । अहिले विश्वको आर्थिक क्षेत्रमा ठूलो आर्थिक संकट आउने आँकलन भैरहेको छ । वैदेशिक सहयोग, ऋण, अनुदान र विप्रेषणमा आधारित हाम्रो अर्थतन्त्रमा दुरगामी असर पर्ने अड्कलबाजी भैरहेका छन् ।
यो विश्वव्यापी महाव्याधीको समाधान कसरी हुन्छ भन्ने अन्योलता जस्तै यो संक्रमणले नेपाली अर्थतन्त्रलाई कति लामो समयसम्म थला पार्छ भन्ने पनि अनिश्चित छ । बितेको वर्ष नेपालीको औसत आय बढेन । केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालीको औसत प्रतिव्यक्ति आय करीब रु. १ लाख ३१ हजार रह्यो, जुन त्यसभन्दा अघिल्लो वर्षकै हाराहारी हो । अझ अमेरिकी डलरमा गणना गर्ने हो भने त करीब ३३ डलर थप घट्न पुग्यो।
पछिल्लो एक दशकमा हरेक वर्ष औसतमा १० प्रतिशतले वृद्धि भइरहेको औसत प्रतिव्यक्ति आयमा रोकावट आउनुको एक मात्र कारण हो कोरोनाभाइरस र महामारी नियन्त्रणका लागि अपनाइएको निषेधाज्ञा । यो वर्ष पनि महामारीको दोस्रो लहरका कारण अनिश्चय बढेको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा प्रतिव्यक्ति औसत आय करीब १० हजार हाराहारीमा बढ्ने यसअघिको आकलन चुनौतीपूर्ण रहेको अर्थमन्त्रालयले नै स्वीकार गरिसकेको छ।
चैतसम्मको तथ्यांकका आधारमा अर्थतन्त्र चलायमान हुने अनुमान गरिए पनि वैशाखपछि विस्तार भएको संक्रमणको दोस्रो लहरका कारण अधिकांश आर्थिक क्रियाकलापमा रोकावट आएको छ। जसको नकरात्मक प्रभाव अर्थतन्त्रका पर्यटन, व्यापार, लगानी, निर्माण क्षेत्र, वैदेशिक रोजगारी, विप्रेषण, होटल व्यवसाय, आपूर्तिलगायतका क्षेत्रमा देखा परिसकेको छ ।
नेपाल सन् २०२२ सम्ममा कम विकसित राष्ट्रबाट विकासोन्मुख देशमा स्तरोन्तति हुने भनिएको थियो । तर महामारीको कारण यो सम्भावना पनि कम हुँदै गएको छ । महामारीका कारण नेपालमा धेरै व्यवसाय बन्द रहेका छन् । निषेधाज्ञा समाप्त भएपछि पनि व्यवसायहरू सुरु गर्न र नयाँ व्यवसायको स्थापना गर्न चुनौती देखिन्छ । विश्व हाल कोरोनाभाइरस विरुद्ध लडिरहेको छ तर भविष्यमा विश्व आर्थिक सुधारका लागि लड्ने देखिन्छ । श्रम गन्तव्य रहेका मुलुकहरूमा पनि कोरोना भाइरसले भयावह रूप लिएका कारण परिवर्तन भएका श्रम नीतिले पाखुरा बेचेर अर्थतन्त्र चलाउने नेपालजस्ता राष्ट्रलाई धेरै मार पर्ने देखिएको छ ।
नेपाली अर्थतन्त्रको अबको बाटो
कोरोना माहामारीले २१ औं शताब्दीको अत्याधुनिक बिज्ञान,प्रविधि,अर्थतन्त्र,उद्योग, व्यापार, समाज, राजनीति र बिकास निर्माणका योजनाहरु ध्वस्त बनाएको छ । नेपाल जस्तो परनिर्भरताको उत्कर्षमा पुगेको राष्ट्रले अब यस्ता माहामारी पश्चात आफ्नो अर्थतन्त्र कसरी धान्ला त रु यो आम नागरिकका लागि चासोको बिषय बनेको छ।
कोरोनाका कारण नेपाली अर्थतन्त्रको करिब आधा हिस्सा धान्दै आएको अनौपचारिक व्यापार तथा सेवा क्षेत्र प्रभावित हुन पुगेको छ। जसको फलस्वरुप नेपाली अर्थतन्त्र थालिएको छ। यस समयमा अर्थतन्त्रलाई टेवा पु¥याएर अगाडि बढ्नको निम्ति सरकारले मानव पुँँजी,सीप तथा उत्पादन मुलक क्षेत्रलाई प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ।
नेपाली अर्थतन्त्रमा करिब ३० प्रतिशत योगदान बिप्रेषणको छ तर अन्तर्राष्ट्रिय रोजगार बजार प्रभावित हुँदा नेपालको अर्थतन्त्रलाई निकै ठुलो धक्का लागेको छ । कोरोनाबाट बिश्वमा छरिएर रहेका नेपाली पनि प्रभावित हुँदा हाम्रो श्रम बजार निकै खुम्चिन पुगेको छ । त्यसैले अहिलेको हाम्रो एकमात्र अचुक रणनीति भनेको आन्तरिक उत्पादन बढाउने, त्यसैलाई प्रवद्र्धन गर्ने, आन्तरिक उत्पादनकै उपभोग बढाउने र आयातलाई सकेसम्म घटाउने नीति ल्याउनु नै रहेको देखिन्छ।
महामारीबाट औपचारिक र अनौपचारिक दुबै क्षेत्र प्रभावित हुन पुगेका कारण सरकारले नेपालको मौलिक तथा परम्परागत कृषि क्षेत्रलाई जोडतोडको साथ प्रवद्र्धन र बैज्ञानिकीकरण गर्दै अगाडि नबढे देशले ठुलो बिपदको सामना गर्नुपर्ने हुनसक्छ । अहिले राष्ट्रिय पुँजीपति बर्गले आफ्नो लगानीलाई कृषिमा केन्द्रीकृत गर्नुको बिकल्प छैन ।
यदि पुरानै शैलीको आयात व्यापारमा मात्र निर्भर रहने रणनीति अपनाएमा त्यो पुर्ण रुपमा प्रत्युत्पादक हुनेछ । तसर्थ कृषि उपजका प्रशोधन तथा आन्तरिक उपभोग बढाउन प्रविधि तथा प्रवर्तनको पुर्ण प्रयोग सहित देशको खातिरमा काम गर्न सकेमात्र देश चल्न सजिलो हुनेछ ।
१८७०–२०२१ मा विश्व अर्थतन्त्रमा परेको प्रभावलाई बुझ्न गरिएका १८३ अर्थतन्त्रहरुको अध्ययनको रिपोर्ट अनुसार संसारभरि यस महामारी पश्चात कमजोर अर्थतन्त्र भएका मुलुकहरुमा स्वास्थ्य तथा अर्थतन्त्रमा निकै ठुलो असर पर्ने देखिन्छ । बिकासोन्मुख राष्ट्रहरुमा यसका कारण अकाल मृत्यु तथा अनिकाल जस्ता प्रकोपले धेरै ठुलो जनधनको क्षति हुने सम्भावना छ ।
लगानी तथा मानव पुँजीमा आउने ह्रासका कारण बिकास तथा मानिसका दैनिकी लगायत शिक्षा तथा बालबालिकाको स्वास्थ्य र सुरक्षामा बिकराल चुनौतिहरु थपिँदै जाने छन् । यस महामारीको प्रकोपले कमजोर अर्थतन्त्र, अस्थीर राजनीतिक अवस्था र बिकासोन्मुख देशहरुका शिक्षा, स्वास्थ्य, अर्थतन्त्र र राजनीतिक, सामाजिक आधारहरु मुलतः तहसनहस बनाइदिएको छ । यो संकटको कारण कयौं देशहरुमा राजनीतिक ऊथलपुथल हुने तर्फ पनि विज्ञहरुले संकेत गरेका छन् ।
यस महामारीसँगै स्वास्थ्य जोखिम बढेर जानुले मानिस कामबाट बञ्चित त हुन्छ नै त्यस अलावा स्वास्थ्य खर्च पनि बढेर गएको छ । कोरोना संक्रमित स्वास्थ्य संकटासन्न अवस्थामा अस्पताल भर्ना हुँदा निकै ठुलो आर्थिक भार थपिन जान्छ । मानिसहरु ढुक्कले काममा जान सकेका छैनन् र अधिकांश संघ–संस्था,प्रतिष्ठान, उद्योग, कलकारखाना,बिद्यालय, कलेज, मल, होटल, रेष्टुरेन्ट र बजारहरु ठप्प भएका कारण आर्थिक गतिबिधिहरु न्युन छन् ।
अबका बाँकी दिनहरुमा आर्थिक मात्र होइन, मानवीय, सामाजिक, राजनीतिक तथा सांस्कृतिक संकटहरु गहिरिदैं जाने निश्चित छ तसर्थ यस महासंकटबाट बचेर फेरि उठ्न बिश्वले मौलिक अर्थतन्त्रको बिकास गर्दै परनिर्भरता कम गर्नु जरुरि छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस