Like us!
Follow us!
Connect us!
Watch us!

धितोको रकम इम्पेरियलले गायब पारेको गुनासो, कर्मचारी भन्छन्ः चेक लिन कार्यालयमै आउनु पर्छ

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १५ : ०२ मा प्रकाशित

धितोको रकम इम्पेरियलले गायब पारेको गुनासो, कर्मचारी भन्छन्ः चेक लिन कार्यालयमै आउनु पर्छ

पूँजी बजारमा लगानी गर्ने अधिकांश लगानीकर्ताहरुको एउटै गुनासो सुनिन्छ कि स्टक ब्रोकरहरुले दिनुसम्म दुख दिए । समयमा भुक्तानी नगर्ने, फोन नउठाउने त नौलो बिषय रहेन । यो समस्या कुनै २-४ वटा ब्रोकहरुको मात्र होईन । लगानीकर्ताहरुको गुनासो सुन्यो भने लाग्छ ब्रोकरहरु लगानीकर्ताहरुलाई दुःख दिनै स्थापना भएका हुन् । 

सामान्यतः धेरै ब्रोकरहरुको साझा समस्या भनेको फोन नउठ्ने र बेचेको सेयरको भुक्तानी समयमा नगर्ने नै हो । तर कतिपय ब्रोकरहरुले भने लगानीकर्ताहरुको हिसाब नै गडबड गरिरहेको आरोप लगानीकर्ताहरुको छ । 

ब्रोकरहरुको विभिन्न बदमासीहरुबारे लगानीकर्ताहरुको गुनासो आएपछि हामीले पनि विभिन्न ब्रोकर कम्पनीहरुलाई फोन गर्दा उनीहरुको फोनै उठेन । ब्रोकर नं. ४५ (इम्पेरियल सेक्युरीटिज) ले भने एक लगानीकर्ताले धितोवापत राखेको पैसा नै गायव पारेको गुनासो आएको छ । जुम्लामा बसेर सेयर कारोबार गर्दै आएका लागानीकर्ता अंगराज चौलागाईले आफूले धितोबापत राखेको रकम ब्रोकरले गायब बनाएको आरोप लगाए ।  

चौलागाँईले बि।स २०७७ साल पुष १५ गते सेयर कारोबार गर्नका लागि कनेक्ट आईपिएसमार्फत ब्रोकरको खातामा २५००० रुपैयाँ जम्मा गरेका थिए । उनले केही समय धितोपत्र कारोबारसमेत गरे । तर अहिले उनको टिएमएसबाट त्यो धितोको २५००० रुपैयाँ गायब भएको छ । 

उनी भन्छन् “धितोमा राखेको पैसाका आधारमा मैले केही समय कारोबार पनि गरेंँ । तर बिचमा १ २ महिना म गाँउमा भएको र नेटवर्कको समस्याका कारण कारोबार गरिन । यसबीचमा धितो रिफन्डको रिक्वेस्ट पनि गरेको थिएँ । तर त्यो पैसा मेरो बैंक खातामा अहिलेसम्म आएको छैन । ३ हप्तअघि आफ्नो टिएमएसमा हेर्दा धितो रकमबाट पनि त्यो पैसा गायब भएको थियो । २ हप्तादेखि निरन्तर ब्रोकरलाई फोन गरिरहेको छु । पहिलो कुरा त फोन नै लाग्दैन । फोन लागे पनि कहिले कुन कर्मचारीलाई, कहिले कुन कर्मचारीलाई सोध्नुपर्छ भन्छन् । मेरो पैसा फिर्ताका लागि तपाईहरुले पनि पहल गर्दिनु पर्यो । उनले हामीलाई अनुरोध गरे ।

उनका अनुसार एक पटक फोन गर्दा फोन रिसिभ भएको थियो । उहाँहरुले मलाई मेरो बैंकको स्टेटमेन्ट पठाउन भन्नु भएको थियो । उहाँहरुले भने बमोजिम मैले स्टेटमेन्ट पनि पठाएँ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन । फेरि फोन गर्यो भने  लाग्दैन । लागिहाले उठ्दैन ब्रोकरले साह्रै दुख दियो” उनले गुनासो गरे ।

यस बिषयमा बुझ्न इम्पेरियल सेक्युरीटिजमा सम्पर्क गर्दा कार्यालयको फोन लाग्दै लागेन । एक उच्च कर्मचारीको ब्यक्तिगत नम्बरमा सम्पर्क गर्दासमेत फोन उठेन । 

धेरै पटक प्रयास गरेपछि इम्पेरियलको ब्रोकर शाखामा कर्मचारी प्रिया कुँवरले फोन उठाइन् । उनले धितोबापत राखिएको रकम नहराउने दावी गरिन् । उनलाई ग्राहकको नाम दिएपछि उनले रेकर्डमा हेरेर चौँलागाइको नाममा २५ हजार रुपैया आफ्नो कम्पनीले तिर्नु पर्ने देखिएको बताइन् । उनले उक्त रकम अनलाइनबाट ट्रान्सफर गर्न नमिल्ने भन्दै चेक लिन ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने उल्लेख गरिन् । धरौटीको बील जारी गरिँदैन, उनले भनिन्, त्यसैले त्यो रकम कनेक्ट आइपिएसमार्फत अनलाइन ट्रान्सफर गर्न  मिल्दैन । 

यस्तो लकडाउनको बेला २५ हजार रुपैयाँको चेक लिन ग्राहक कसरी काठमाडौं आउने भन्ने हाम्रो प्रश्नमा भने उनले टाढाको ग्राहकलाई भने अनलाइनबाट रकम पठाउन सकिने बताइन् । उनको भनाइले पनि ब्रोकर कम्पनीले ग्राहकलाई दुख दिने गरेको पुष्टी भएको थियो । पहिले अनलाइनबाट रकम ट्रान्सफर गर्नै नमिल्ने बताउने कर्मचारी कुँवरले टाढाको ग्राहक भन्नासाथ अनलाइन ट्रान्सफर गर्न मिल्ने बताएकी थिइन् । टाढाको ग्राहकलाई अनलाइनबाट रकम पठाउन मिल्ने ब्रोकरले अरु ग्राहकलाई चाहिँ धरौटी रकम लिन किन चेक लिन कार्यालयमै आउनु पर्छ भनेर किन दुख दिन्छन ?    

अपडेटः अर्थसंसार डटकमले यो समाचार प्रकाशित गरेको केहि समयमा नै इम्पेरियल सेक्युरीटिजले आफ्नो धितो बापतको रकम आफ्नो खातामा जम्मा गरेको लगानीकर्ता अंगराज चौलागाईले जानकारी दिएकाछन् । यो प्रयासका लागि उनले अर्थसंसारलाई धन्यवाद दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको