Like us!
Follow us!
Connect us!
Watch us!

डेढ खर्ब तरलता थुप्रिँदै

पत्रपत्रिका

बुधबार, ०९ भदौ २०७८, ०७ : १७ मा प्रकाशित

डेढ खर्ब तरलता थुप्रिँदै

बैंकमा बचत गर्न इच्छा जागेको छ ? कुन बैंकले बढी ब्याज दिन्छ भनेर दोधारमा फस्नुभएको छ भने चिन्ता मान्नुपर्दैन। किनभने बैंकहरूले प्राय: जसो हरेक महिना निक्षेपको ब्याजदर परिवर्तन गरिरहेका हुन्छन्। 

यसपटक पनि भदौदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन्। यो पटक ब्याजदर झिनो मात्रै वृद्धि भएको छ। केही बैंकले भने ब्याजदर यथावत् नै राखेका छन्। यद्यपि अब बजारमा तरलता बढ्ने भएकाले अन्तर बैंक ब्याजदर अझै घटन सक्ने आँकलन छ। पछिल्लो समय यस्तो ब्याजदर ५ प्रतिशत हाराहारी पर्ने गरेको देखिन्छ। समग्रमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको साधारण बचतको न्यूनतम औसत ब्याजदर २.६६ प्रतिशत र अधिकतम औसत ४.२० प्रतिशत छ। यसअघिको तुलनामा अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशत विन्दु मात्रै बढेको हो। 

गत साउनमा बचतको अधिकतम ब्याज ४.१५ प्रतिशत मात्रै थियो। यो महिनामा १ दर्जन बैंकले यस्तो बचतको ब्याजदर बढाएका छन्। बाँकी बैंकले यथावत् राखेका छन्। साधारण वचतमा अधिकतम ब्याजदर सिभिल बैंकले ४.०५ प्रतिशतदेखि ६.०५ प्रतिशतसम्म दिएको छ। यस्तै नबिलले ५.०१ प्रतिशतसम्म निर्धारण गरेको छ। सो बैंकले साउनको तुलनामा १.५ प्रतिशत विन्दुले बढाएको हो। यसपछि सेञ्चुरी, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र नेपाल क्रेडिट एण्ड कमर्सले अधिकतम ५ प्रतिशतसम्म साधारण बचतको ब्याजदर तोकेका छन्। यसबाहेकका बैंकको योभन्दा कम ब्याजदर तोकिएको छ। 

यस्तै अहिले समग्रमा एक वर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ७.३० प्रतिशत रहेको छ। गत साउनमा यस्तो ब्याजदर औसत ७.१९ प्रतिशत थियो। यसबीच बैंकहरूले औसत ०.१६ प्रतिशत विन्दुले ब्याजदर बढाएको देखिन्छ। 

यद्यपि हाल यस्तो मुद्दतीमा सबैभन्दा बढी सिभिल र प्रभु बैंकले ८.२५ प्रतिशत ब्याजदर दिएका छन्। यसपछि क्रमश : नेपाल बैंकले ८.०५ प्रतिशत, प्राइम बैंकले ७.७६, नेपाल क्रेडिट एण्ड कमर्सले ७.७५, एनआईसी एसियाले ७.५६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। यसपछि नबिल र मेगा बैंकले ७.५१ प्रतिशत, एनएमबी बैंक, सिटिजन्स, नेपाल बंगलादेश बैंकको ७.५० प्रतिशत व्याजदर दिएका छन्। यसैगरी, सानिमा बैंक ७.२७, कृषि विकास बैंक र सेञ्चुरी ७.२५ प्रतिशत ब्याजदर तोकिएको छ।  

यसैगरी माछापुच्छ्रेले ७.०५, ग्लोवल आईएमईले ७.०१ प्रतिशत ब्याजदर तोकेको छ। यसबाहेक, बैंक अफ काठमाडौं, हिमालयन, सनराइज, एभरेस्ट, कुमारी, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र लक्ष्मी बैंकले १ वर्षे मुद्दतीमा ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यस्तो निक्षेपमा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशतसम्म दिएको छ।  यो महिना न्यून मात्रै वृद्धि भएको ब्याजदर आगामी महिनामा भने घट्ने संकेत देखिएको छ। 

(याे समाचार आजकाे अन्नपुर्ण पाेष्टमा ममता थापाले लेखेकी छिन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको