Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ०८ : ५७ मा प्रकाशित

सुरू भयाे सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजंघा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । 

सिरिजंघा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । 

आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि गरिसकेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत् १३२ केभीको स्विचयार्डमा जडान गरी नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको पाँचथर जिल्लास्थित अमरपुर सवस्टेशनमा जडान गरिने आयोजना सञ्चालक संस्था स्नो रिभर्स प्रालिले जानकारी दिएको छ । 

प्रालिका अनुसार आयोजनाको खेबाङ–याम्फुदिन क्षेत्रमा रहने विद्युत्गृहदेखि १८ किमी लामो प्रसारण लाइनमार्फत १३२ केभीको अमरपुर सवस्टेशनमा उत्पादित विद्युत् जडान हुनेछ । आगामी २०८० साल वैशाखभित्र आयोजना निर्माण सम्पन्न गर्ने पनि प्रालिले लक्ष्य राखेको छ ।

यता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै स्नो रिभर्स प्रालिद्वारा प्रस्तावित उक्त आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्ने असरका विषयमा प्रभावित क्षेत्रका सरोकारवालासँग राय सुझाव मागेको छ । 

विभागले आइतबार सूचना जारी गर्दै आयोजना सञ्चालनबाट प्रतिकुल असर पर्ने भएमा सरोकारवालाले आफ्नो लिखित राय सुझाव ३५ दिनभित्र विभागसमक्ष पेश गरिसक्नुपर्ने जानकारी दिएको छ ।

ताप्लेजुङ अन्तर्गत नै काबेली खोलाबाट विद्युत् उत्पादन गर्ने गरी काबेली ‘ए’ ३४ मेगावाट, अपर काबेली २३ मेगावाट, सुपर काबेली २० मेगावाट र अपर काबेली–२ १० मेगावाट क्षमताका आयोजना प्रस्ताव गरिएका छन् । ताप्लेजुङ–पाँचथर क्षेत्रमा पर्ने २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ आयोजना भने यसअघि नै निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको