Like us!
Follow us!
Connect us!
Watch us!

आफ्ना सरकारी कागजात गोप्य राख्नुहोस्, नत्र फस्नुहोला है !

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १३ : ०५ मा प्रकाशित

आफ्ना सरकारी कागजात गोप्य राख्नुहोस्, नत्र फस्नुहोला है !

हिलिहाङ गाउँपालिका-५ चतुरेबजार घर भई झापाको दमकमा बस्दै आएकी प्रीति तुम्बापो लोवा आफ्नो नाममा पक्राउ पुर्जी जारी भएको सुनेपछि छाँगाबाट खसेजस्तै भइन् । कहिल्यै नामसमेत नसुनेका व्यक्तिले आफूविरुद्ध ठगीको आरोपमा मुद्दा दायर गरेपछि उनी अत्तालिइन् ।

दूधे नानीसँग झापामा बस्दै आएकी श्रीमतीका नाममा ठगी गरेको भनि पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि विदेशमा रहेका प्रीतिका श्रीमान् राजेन्द्रविक्रम लोवा हतार हतार बिदा मिलाएर नेपाल आए । कल्पना नगरेको विषय भए पनि मुद्दा चलिसकेको अवस्थामा उनीहरूले एक अधिवक्ताको सहयोग लिई प्रतिउत्तर दिए । 

ठगी गरेको आरोप लागेर मुद्दा लड्नुपर्ने भएपछि लोवा परिवारले सबै कुरा खोज्न थाल्यो । सो क्रममा भने उनीहरू झनै आश्चर्यमा परे । पक्राउ पुर्जी जारी भएको ठगीको मुद्दा पर्साकी नुरजहान खातुनले आफू लोवाबाट ठगीमा परेको भनि दायर गरेको पत्ता लाग्यो । मुद्दा अदालतमा विचाराधीन छ । मुद्दामा खातुनले आफूलाई अपरिचित व्यक्तिले बारम्बार मोबाइल एप इमोमा फोन गरी चिठ्ठा परेको बताएको, चिठ्ठाको रकम लिन ७० हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने र उक्त रकम प्रीति तुम्बापो लोवाका नाममा ९८२९२६०८९८ नम्बरबाट खोलिएको आइएमई पेमा पठाउन भनिएकाले आफूले उक्त रकम पठाएको र रकम पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएकाले आफू ठगिएको दाबी गरिएको छ । खातुनले जिल्ला अदालतमा गत ५ जेठ  अभियोगपत्र दर्ता गरेको पाइएको छ । 

आइएमई पे एप्लिकेसन सञ्चालन गर्न नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने हुँदा ठगी गरेका व्यक्तिले लोवाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरेको खोजीका क्रममा पत्ता लाग्यो । तर, लोवाको नागरिकताको प्रमाणपत्र प्रयोग गरेर गरिएको ठगी यतिमा सीमित थिएन ।

लोवा परिवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरी आइएमई पे एप्लिकेसनमार्फत थप ठगी भएको हुनसक्ने र आफूहरू फस्न सक्ने आशंकामा उक्त एप्लिकेसनको झापाको बिर्तामोडस्थित सम्पर्क कार्यालय आइएमी डिजिटल सोलुसन लिमिटेडमा निवेदन दियो । त्यसपछि थाहा भयो, लोवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रयोग गरी खोलिएको आइएमई पे एप्लिकेसनबाट २८९ वटा कारोबार भएका रहेछन् । अनि प्रिती तुम्बापो लोवाका नाममा ११ लाख ३५ हजार ५० रुपैयाँ पठाइएको रहेछ । उक्त एपमार्फत २० लाख ५२ हजार २५ कूल कारोबार भएको विवरण लोवा परिवारले पाएका छन् ।

७ वैशाख ०७७ मा लोवाको नाममा खोलिएको आइएमई एपको अकाउण्टमा सोही वर्षको फागनुसम्म सक्रिय भएको पाइएको छ । अहिले आइएमई पे एपको उक्त अकाउण्ट बन्द छ भने अकाउण्टका लागि तथा चिठ्ठा प-यो भनि सम्पर्क गर्ने गरिएको मोबाइल नम्बरसमेत बन्द छ । तर, यति गम्भीर अपराधबारे तबसम्म लोवा परिवार बेखबर थियो, जबसम्म पक्राउ पुर्जी आएको थिएन । 

‘कसरी यस्तो भयो हामी अचम्मित छौँ’, पीडितका श्रीमान् राजेन्द्रविक्रम लोवाले भने, ‘नागरिकताको प्रमाणपत्र विभिन्न कामका लागि फोटोकपि र स्क्यान गर्नबाहेक अन्यत्र प्रयोग भएको पनि छैन् ।’

झापामा बस्ने उनीहरू न त पर्सा पुगेका छन्, न त्यहाँ अन्य कुनै सम्बन्ध नै छ । तर, उक्त एप्लिकेसनमा आर्थिक कारोबार भने अत्यधिक रूपमा पर्सा जिल्ला आसपासमै भएको देखिएका छन् । आफूहरूलाई जानकारी नै नभएका विषयमा मुद्दा परेको तथा नागरिकताको प्रमाणपत्र प्रयोग भएकाले अनुसन्धान गरी सहयोग गरिदिन लोवा परिवारले सोमबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा निवेदन दिएका छन् । 

उक्त विषयमा प्रहरीलाईसमेत जानकारी दिन आवश्यक परे उजुरी दिने तयारीमा लोवा परिवार छ । उक्त मुद्दा र लोवाको नागरिकताको प्रमाणपत्र प्रयोग गरी ठगी गरिएको विषय गम्भीर रहेको लोवाका कानुन व्यवसायी टीका तिम्सिनाले बताए । ‘यो निकै गम्भीर अपराध हो । यस्ता घटना दोहोरिन नदिन सचेतना जरुरी छ”, तिम्सिनाले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको