Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले सामाजिक उत्तरदायित्वका कामबारे स्पष्ट नीति ल्याउनुपर्नेमा जोड

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १० : ५८ मा प्रकाशित

राष्ट्र बैंकले सामाजिक उत्तरदायित्वका कामबारे स्पष्ट नीति ल्याउनुपर्नेमा जोड

बैंक एवं वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण एवं जलवायु परिवर्तनका क्षेत्रमा गर्ने कामका विषयमा नेपाल राष्ट्र बैंकले स्पष्ट नीति तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मंगलबार  बैंक एवं वित्तीय संस्थासँग आयोजना गरेको ‘जलवायुमा शासकीय सदाचार’ विषयक अन्तक्रिया कार्यक्रममा नेपाल बैंकर्स एशोसिएशनका व्यवस्थापक दिपेन महर्जनले स्पष्ट नीतिगत व्यवस्था नहुँदा काम गर्न असहज भएको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत वाग्मती किनारमा वृक्षरोपण गर्दा सहभागी भएका तीन ओटा संस्थामध्ये कार्यक्रम सकिएपछि कसैले पनि जिम्मेवारी नलिदा समस्या भएको उदाहरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्पष्ट नीतिगत व्यवस्था नहुँदा वातावरण संरक्षणका क्षेत्रमा गरिएको लगानी सदुपयोग हुन नसकेको एशोसिएशनले बताएको छ । रुद्रमती किनारमा रोपिएका बिरुवा सुक्दा नजिकैका स्थानीयवासीले पानीसमेत नहालेकाले स्थानीय तहलाई पनि जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्था हुनुपर्ने माग उनले गरेका छन् ।

विगत वर्षमा यस्ता कामको प्रतिवेदन कसैलाई पेश गर्नु नपरे पनि यस वर्षदेखि भने नेपाल राष्ट्र बैंकले प्रतिवेदन माग गर्न थालेको छ । प्रतिवेदन माग गरेसँगै स्पष्ट नीतिगत र कानूनी व्यवस्था गरिए वातावरण संरक्षणमा योगदान पुग्ने प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले बताएका छन् ।

कार्यक्रममा राष्ट्र बैंकका अधिकारीलाई समेत डाकिएकामा नआएको टीआई नेपालकी कार्यक्रम संयोजक प्रकृति अधिकारीले जानकारी दिइन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी पहिरोलगायत समस्या बढ्न थालेकाले संरक्षणका काममा सुशासनका विषयमा अभियान शुरु गरिएको उनले सुनाइन् ।

टीआई नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बबिता शर्माले वातावरण संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको