नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका शीर्ष निकायहरूसँग अर्थतन्त्र पुनःस्थापनाबारे विस्तृत छलफल गरेका छन्। हालैको प्रदर्शनका कारण प्रभावित भएका उद्योग, व्यवसाय र वित्तीय क्षेत्रमा देखिएको संकट समाधानका लागि सुझाव संकलन गर्न उनले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स तथा बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूसँग अलग–अलग बैठक गरेका हुन्।
छलफलमा सहभागी स्रोतका अनुसार गभर्नरले क्षति भएको संरचना र उद्योग व्यवसायलाई पुनःसंरचना गरेर सञ्चालनमा ल्याउन राष्ट्र बैंकले कसरी नीतिगत सहजीकरण गर्न सक्ने भन्नेमा राय मागेका थिए।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आन्दोलनको क्रममा ऋण प्रभावित भएका व्यवसायी तथा उद्योगीलाई सहज बनाउनुपर्ने विषय बैठकमा मुख्य रूपमा उठाइएको बताए। “ऋणीहरूले भुक्तानी गर्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै के कस्तो व्यवस्था गर्न सकिन्छ भन्नेबारेमा गभर्नरले सुझाव लिनुभएको छ, हामी पनि विस्तृत अध्ययनपछि राय दिनेछौं,” कोइरालाले स्पष्ट पारे।
बैठकमा आर्थिक गतिविधि फेरि सुचारु गर्न निजी क्षेत्र र नियामकबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस