Like us!
Follow us!
Connect us!
Watch us!

फोन गर्न अग्लो डाँडा कति दिनसम्म चहार्ने ?

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १० : ४८ मा प्रकाशित

फोन गर्न अग्लो डाँडा कति दिनसम्म चहार्ने ?

जाजरकोटकाे कुशे गाउँपालिका– ८ का रामबहादुर रोकाय बिरामीलाई उपचारका लागि लिएर गएका आफन्तसँग फोन सम्पर्क गर्न अग्ला डाँडामा जान थालेको सात दिन भयो । दैनिक बिहान अग्लो डाडामा जानु र बिहान १० बजे गाउँमा फर्कनु उनको दैनिकी नै भएको छ । उनकी बहिनी लडेर खुट्टा भाँचिएपछि उपचारका लागि नेपालगञ्ज लगेको ११ दिन बित्यो । दैनिक आमा, बाबा र आफन्तलाई बिरामीको अवस्थाका विषयमा जानकारी दिनुपर्ने भएकाले उनी दैनिक फोन सम्पर्क गर्न तीन घण्टा हिँडेर अग्लो डाँडामा जानुपरेको बताउँछन् । 

दैनिक घरको काम छाडेर फोन गर्न डाँडा जाने र आउने गर्दा हैरान भएको उनले पीडा सुनाउँछन् । ‘मजस्तै फोन सम्पर्क गर्न अधिकांश गाउँका मानिस अग्लो डाडाँमा जानेको ठूलै भीड हुने गरेको छ । वर्ष दिनअघि स्काइ फोनले केही ठाउँमा काम गरेको भए पनि अहिले नयाँ नमस्ते प्राविधिको फोनको टावर निर्माणसँगै स्काइ फोनले काम नगर्ने भएको छ’, उनले बताए । 

सिँगो गाउँपालिकामा फोन सम्पर्क गर्न मुस्किल हुँदै आएको स्थानीय पत्रकार सरू बस्नेतले बताइन् । ‘कतिखेर के हुन्छ थाहा नै हुँदैन । सडकको सहज पहुँच भएको र विद्युतीकरणसमेत नभएको कुशेमा बिरामीलाइ उपचारका लागि समेत हेलिकोप्टरको प्रयोग हुँदै आएको छ’, उनले भनिन् ।

जिल्लाको सबै भन्दा बढी हेलिकोप्टरमा बिरामी उद्धार गर्नेमा कुशे गाउँपालिक नै छ । स्थानीय तहमा जडान गरिएको इन्टनेटको माध्यमबाट मात्र सञ्चार सेवा प्रदान गरिँदै आएको कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिएका छन् । 

‘टावर निर्माण गरेर डाँडाहरुमा ठडिएका छन्, वर्ष दिनदेखि टावरहरु हेरेर चित बुझाउनु परेको छ’, उनले भने । टावर सञ्चालनका लागि पहल नगरेको भन्दै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको चर्को आलोचना हुँदै आएको छ । 

घाम नलागेको दिन अग्ला डाँडामा गएर पनि फोन सम्पर्क हुन नसक्ने स्थानीय गणेसमान सिंह बताउँछन् ।  कुशेलगायत जिल्लाका सबै स्थानीय तहमा टावर निर्माणको जिम्मेवारी भारतीय कम्पनीले लिएको थियो । सो सम्पनीलाई काम गर्न भन्दै ६ पटक म्याद थप्दा पनि काम नगर्दा टावर निर्माण कार्य अलपत्र परेको थियोे । अहिले चिनियाँ कम्पनीमार्फत टावर निर्माणको काम थालिएको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । 

‘कर्णाली प्रदेशका १० जिल्लामा काम गर्न एकै कम्पनीलाई ठेक्का दिइएको रहेछ’, उनले भने, ‘१० जिल्लाको काम एकै पटक गर्न खोज्दा जाजरकोट ढिला भयो, मैले जाजरकोटको अलग गरेर काम गर्न दबाब दिएपछि अन्य ६ वटा स्थानीय तहमा काम भएर टावर सञ्चालमा आए । तर, कुशेमा आउन सकेको छैन । दशैंतिहार अगाडि काम गर्ने सहमति भएको थियो, अब होला ।’

यता, नेपाल टेलिकमलाई टावर निर्माण कार्यबारे कहाँ के भइहेको छ भन्ने जानकारीसमेत छैन । नयाँ टावर निर्माणको कुरा सुनिन्छ, तर के कति प्रगति भएको छ भन्ने हामीलाई थाहा हुँदैन टेलिकम जाजरकोटका प्रमुख गोवेन्द्र अधिकारीले बताए । गाउँमा पावरको अभावका कारण टावरहरु सञ्चालनमा समस्या आइरहने उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको