Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जामा सीमा तोक्नुमा गलत नियत छैन : गभर्नर

पत्रपत्रिका

मंगलबार, १६ कार्तिक २०७८, ०६ : २४ मा प्रकाशित

सेयर कर्जामा सीमा तोक्नुमा गलत नियत छैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा सीमा तोक्नुमा कुनै गलत नियत नभएको बताए । राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजार घटेको भनेर टीकाटिप्पणी हुँदै आएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा गभर्नर अधिकारीले समग्र बैंकिङ क्षेत्रलाई व्यवस्थित गर्न शेयर धितो कर्जामा सीमा तोकिएको बताएका हुन् । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेको थियो । नयाँ व्यवस्था अनुसार एक व्यक्तिले एक बैंकबाट ४ करोडसम्म र समग्र बैंकिङ प्रणालीबाट १२ करोडसम्म कर्जा लिन पाउँछन् । यसअघि यस प्रयोजनको कर्जामा कुनै सीमा तोकिएको थिएन ।

गभर्नर अधिकारीले राष्ट्र बैंक सेयर बजारको नभएर बैंकिङ क्षेत्रको नियामक निकाय भएको बताए । ‘हुन त सेयर धितो कर्जामा कम नै कर्जा प्रवाह भएको छ । तर, बैंकिङ क्षेत्रमा भएको पूँजीलाई सबैतिर परिचालन गर्ने उद्देश्यसहित शेयर धितो कर्जामा सीमा तोकिएको हो,’ उनले भने । साना सेयर लगानीकर्तालाई पनि कर्जाको पहुँचमा ल्याउन यस्तो गरिएको उनको भनाइ छ । तर, यसमा सोचभन्दा फरक टिप्पणी आइरहेको उनले बताए ।

नेपालीहरूले विलासिताको जीवनयापन गर्दा अर्थतन्त्रमा चाप परेको उनले बताएका छन् । बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जामध्ये ५० प्रतिशत आयात प्रयोजनकै लागि हुने गरेको उनको भनाइ छ । यस्तैविदेशी मुद्राको सञ्चिति बढाउने गरी राष्ट्र बैंकले काम गरेको र तरलता व्यवस्थापनमा राष्ट्र गम्भीर रहेको उनको भनाइ छ ।

आर्थिक गतिविधि बढ्दा पछिल्लो समय तरलतामा असर परेको गभर्नर अधिकारीले बताए । गत आवमा बैंकहरूले जथाभावी कर्जा प्रवाह गर्दा पनि तरलता व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ । ‘बैंकहरूले पैसा हुँदा बोलाई बोलाई कर्जा दिए । त्यसबेला उनीहरूले दीर्घकालीन रूपमा सोचेनन्,’ उनले भने, ‘फलस्वरूप अहिले तरलता अभावको समस्या आएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता बढाउन विकास खर्च आवश्यक रहेको बताए । ‘तरलता अभावको समाधान गर्न सरकारले विकास खर्च व्यापक बनाउनुपर्छ । साथै, विकास गर्ने प्रवृत्तिमा पनि सुधार गर्न आवश्यक छ, उनले भने ।

(याे समाचार आजकाे आर्थिक अभियानमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको