४५ दिनको रिक्तता पछि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को निर्णयले डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेपछि सेयर बजारमा तत्कालै सकारात्मक सन्देश गयो। धेरै समयदेखि राजनीतिक रस्साकस्सीमा अड्किएको गभर्नर नियुक्तिको टुंगो लगिनु नै बजारका लागि स्थायित्वको संकेत मानियो। लगानीकर्ताले यो निर्णयलाई दीर्घकालीन दिशाको सुरुवातका रूपमा लिए।
डा. पौडेल अर्थशास्त्रमा प्राज्ञिक पृष्ठभूमिका व्यक्ति हुन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले चीनको सांघाईबाट इन्जिनियरिङ डिग्री समेत लिएका छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार समेत भइसकेका छन्। यिनले नीति निर्माण, वित्तीय नियमन र बैंकिंग क्षेत्रमा व्यापक अनुभव संकलन गरेका छन्, जुन अनुभवले पूंजीबजारमा विश्वास जगाउने आधार बनेको छ।
गभर्नर नियुक्तिपछि एक टेलिभिजन अन्तर्वार्तामा डा. पौडेलले पूंजीबजारलाई सुदृढ र विश्वसनीय बनाउने लक्ष्य स्पष्ट रूपमा प्रस्तुत गरे। उनले सेयर बजारलाई हल्का रूपमा लिन नहुने बताउँदै नियामक संयन्त्रलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। "पूंजीबजारमा जनताको खर्बौं लगानी रहेको छ, त्यसको सुरक्षामा हामी कुनै कसर बाँकी राख्दैनौं," भन्ने भनाइले लगानीकर्ताबीच आत्मविश्वास थपिएको देखिन्छ।
डा. पौडेलको नियुक्तिपछि नेप्से परिसूचकले एकै सातामा करिब ७७ अंकको वृद्धि गरेको छ। साप्ताहिक कारोबारको पाँच दिनमध्ये तीन दिन बजारमा उल्लेख्य सुधार आएको थियो। लगानीकर्ताको मनोबल उच्च भएको र गभर्नरप्रतिको भरोसाले बजारमा नयाँ ऊर्जा भरिएको देखियो। नेप्से २६८८.५५ विन्दुमा पुग्दा बजार पुँजीकरण पनि १ खर्ब २९ अर्बले वृद्धि भयो, जुन पूंजीबजारमा सकारात्मक सन्देशको प्रभावलाई पुष्टि गर्छ।
गत साता ४३ अर्ब ७० करोड बराबरको सेयर कारोबार हुँदा सबैभन्दा बढी कारोबार जलविद्युत् उपसमूहमा भयो। कुल कारोबारको ४२ प्रतिशतभन्दा बढी हिस्सा लिएको जलविद्युत् क्षेत्रसँगै बैंकिङ, बीमा, र विकास बैंकको पनि उल्लेख्य उपस्थिति देखियो। यसले गभर्नरको नियुक्तिको प्रभाव केवल मनोवैज्ञानिक मात्र नभएर वस्तुगत रूपमा पनि बजारको व्याप्तिमा देखिएको छ।
गभर्नर नियुक्तिका लागि सत्तारूढ गठबन्धनबीचको सहमति लामो समयसम्म बन्न सकेको थिएन। तर अन्ततः नेकपा एमाले र नेपाली कांग्रेसबीचको समन्वयपछि डा. पौडेलको नाम अगाडि बढेको हो। यस सहमतिले सरकारको आन्तरिक समन्वयमा सुधारको संकेत दिएको छ, जसले आर्थिक नीतिमा स्थायित्वको आशा बलियो बनाएको छ।
लगानीकर्ताहरू अब राष्ट्र बैंकबाट स्पष्ट नीति, पारदर्शिता, वित्तीय नीतिमा स्थायित्व र पूंजीबजारमैत्री दृष्टिकोणको अपेक्षा राखिरहेका छन्। गभर्नर पौडेलको अघिल्लो अनुभव, उनको व्यावसायिकता र प्रारम्भिक धारणा हेर्दा पूंजीबजारले केही समयभित्र ठोस नीति सुधारको संकेत पाउने विश्वास देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस