Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै लगानीकर्ता संगठित, बुल सकिएको छैन

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, २१ : २७ मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर २१ गते, मंगलबार) दिनभरकाे आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको भन्दै लगानीकर्ता संगठित, पौडेल नेतृत्वमा महासंघ बन्ने

नेपालको पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको भन्दै विभिन्न लगानीकर्ता संगठनहरु र लगानीकर्ताहरु संगठित हुने भएका छन् । विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठनहरुको महासंघ गठन गर्ने तयारीमा लगानीकर्ताहरु छन् ।लगानीकर्ताहरुको हिजो सम्पन्न भेलाले एकतावद्द र सामुहिक ढंगले माग पुरा गर्नको लागि कार्य गर्ने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार समितिका सभापति समेत रहेका सक्रिय लगानीकर्ता अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा एक कार्यदल गठन भएको छ । आगामी शुक्रबार लगानीकर्ताहरुको आम भेला बोलाइएको छ । त्यही भेलाबाट महासंघको समेत घोषणा हुन सक्नेछ भने आगामी दिनमा सेयर बजार सुद्धिकरणका लागि आवश्यक विभिन्न कार्यक्रमहरु तय गरिनेछ । 

२. मनकामना स्मार्ट लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्विकृत

 मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ  । संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । साेही लाभांश राष्ट्र बैंकबाट स्विकृत भएकाे हाे । अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. लाभांश पारित गर्न गणपति लघुवित्तले डाक्याे साधारण सभा, पाैष ७ गतेदेखि बुकक्लाेज

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाँचाै वार्षिक साधारण सभा पाैष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी -४, दुलेगाैँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ । सभामा संस्थाकाे कार्तिक १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ७ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. नेप्से दाेहाेराे अंकले घट्याे : विश्लेषक भन्छन् "बजार घट्नुपर्ने जति घटिसक्याे अब घट्ने मार्जिन छैन"

आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ट्रेडरहरू हावी हुँदा अहिले बजार घटेको लगानीकर्ता नवराज दहालले बताएका छन् ।  हिजो बजार बढेपछि यसअघि न्यूनतम मूल्यमा सेयर किन्ने लगानीकर्ताहरूले नाफा बुक गर्दा आज बजार घटेको उनले बताए । ४/१२ को सेलिङ प्रेसर बजारमा अझै पनि आइरहेको उनी बताउँछन् । त्यतीबेला होल्ड गरेर राख्नेहरूले रातो नबनाइकिन हरियो हुँदै अलिकति उच्च मूल्यमा लगेर बेचौँ भन्ने चाहानाले उच्च मूल्यमा बेच्न खोजिरहँदा बजार हावी भएको उनको तर्क छ ।  राष्ट्र बैंकले लघुवित्तहरूलाई पनि सेयर बेच्न निर्देशन दिएको हुनाले उनीहरूको होल्डिङ आउनै बाँकी रहेको र लघुवित्तहरूले नाफा बुक गर्दै जाने उनले बताए । अब बजार घट्नुपर्ने जति घटिसकेको र घट्ने मार्जिन नभएको उनको धारणा छ । बजार १८ सयको इन्डेक्समा हुँदा ठूला ठूला कम्पनी आइनसेका बताउँदै उनले अहिले बजारमा ठूला ठूला कम्पनीहरूको प्रवेश भइसकेको बताए । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८६ अंकले घटेर ४७८.११ विन्दुमा झरेकाे छ । कूल २३१ वटा कम्पनीकाे ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । मंगलबार प्राइम कमर्सियल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ३६ लाख ४७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै बढेकाे छ । फण्डकाे मूल्य ४.६५ प्रतिशतले बढेर १० रूपैयाँ १३ पैसा पुगेकाे छ । यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सकाे सेयरमूल्य ७.६५ प्रतिशतले बढेर ७ सय १२ रूपैयाँमा झरेकाे छ ।

५. राष्ट्र बैंकले स्विकृत गर्याे साना किसान विकास लघुवित्तकाे लाभांश

नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्विकृत गरेको छ  । संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले स्विकृत गरेकाे हाे । अब उक्त प्रस्तावित लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

६. आईपीओ ल्याउन लागेकाे राष्ट्र उत्थान लघुवित्तले डाक्याे साधारण सभा

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाकाे मंसिर १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा पाैष १५ गते, बिहीबार संस्थाकाे केन्द्रिय कार्यालय, साँगा, काभ्रेपलाञ्चाेकमा अपरान्ह १ बजेदेखि सुरू हुनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दैछ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

७. सानिमा मिडिल तमोरले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने मुख्य एजेन्डा

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर १५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा पाैष १४ गते, बुधबार अकामा हाेटल, धुम्बाराही, काठमाडाैँ र विद्युतीय माध्यम ZOOM APP मार्फत एकसाथ बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको आईपीओबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वितीय योजना तथा रणनीति निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ । 

८. पार्किङ्ग अातंक : पार्किङ्गका नाममा सेवाग्राही लुट्दै नर्भिक अस्पताल

काठमाडौँका केही अस्पतालहरुले अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामी भेट्न आउने बिरामीका आफन्तहरुसँग महँगो पार्किङ्ग शुल्क असुलिरहेको पाइएको छ । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल नेपालकै महँगो अस्पताहरुमध्येमा एक पर्छ । यहाँको सेवा सामान्य अन्य अस्पतालहरुको तुलनामा महँगो र राम्रो पनि मानिन्छ । तर यही अस्पतालले बिरामीको उपचारको शुल्कले नपुगेर उपचार गर्न आउने बिरामी र उनीहरु भेट्न आउने आफन्तसँग चर्को पार्किङ्ग असुल गरिरहेको छ । स:शुल्क सेवाग्राहीलाई अनिवार्य पार्किङ्गकाे सुविधा दिनु अस्पतालको न्यूनतम कर्तव्य भएपनि वर्षौँदेखि अस्पतालले पार्किङ्ग बापत छुट्टै पैसा असुल गरिरहेको छ । अहिले नर्भिक अस्पतालमा आउने सेवाग्राहीले दुईपांग्रे सवारीको प्रतिघण्टा १५ रुपैयाँ र दिनभरको ३५ रुपैयाँ शुल्क तिर्नुपर्छ भने चारपांग्रे सवारी साधनको प्रतिघण्टा ३५ रुपैयाँ र दिनभरको १ सय ५० रुपैयाँ शूल्क तिर्नु पर्दछ । सेवाग्राहीहरूले नर्भिक हस्पिटलकाे चर्काे पार्किङ्ग शुल्क विरूद्ध विभिन्न माध्यमबाट अाक्राेश पाेख्दै अाइरहेका छन् ।

९. नेपाल पुनर्बीमाले बोनस घोषणाको ६ महिनामा पनि तोकेन बुक क्लोज मिति, धितोपत्र बोर्ड माैन

नेपाल पुनर्बीमा कम्पनीले लाभांस घोषणा गरेको ६ महिना भइसक्दा पनि बुक क्लोजको मिति तोक्न सकेको छैन ।  साधारणत: कुनै कम्पनीले लाभांस घोषणा गरेको केही हप्ताभित्र बुकक्लोज गरिसकेर १/२ महिनाको अवधिमा त लाभांस लगानीकर्ताको खातामा पठाईसक्ने चलन छ ।  नेपाल धितोपत्र बोर्डमा सुचिकृत कम्पनीहरुले गर्नुपर्ने कामहरु समयमा गरेका छन् कि छैनन् भनेर हेर्न भनेर 'सुपरिवेक्षण शाखा ' नामको छुट्टै संयत्र छ । तर धिताेपत्र बाेर्डकाे 'सुपरिवेक्षण शाखा 'ले पनि हालसम्म नेपाल पुनर्बीमा कम्पनीप्रति केही कदम चालेकाे देखिएन । करिब २० दिन अगाडि यसबारेमा बुझ्दा कम्पनीका प्रवक्ता दामोदर भण्डारीले बुक क्लोजको मिति तोक्न ढिला भएको स्वीकार्दै साता/ दस दिनभित्रै बुक क्लोजको मिति सार्वजनिक गरिने बताएका थिए।  हप्ता दिनभित्र गरिसक्छौ भनेको काम २० दिन भैसक्दा पनि किन भएन भनेर पटक पटक सम्पर्क गर्ने कोसिस गर्दा पनि कम्पनीका पदाधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।

१०.   सञ्जाेग काेइराला भन्छन्, "सेयर बजारकाे बुल सकिएकाे छैन"

अभिनेता, युवा व्यवसायी एवमं सेयर विश्लेषक सञ्जाेग काेइरालाले अहिले नै सेयर बजारकाे बुल नसकिएकाे बताएका छन् । अर्थसंसारकाे साप्ताहिक कार्यक्रम अर्थसंसार टकमा कुराकानी गर्दै उनले अहिले बजार केही समय साइडवेजमा गएर पुन: उकालाे लाग्ने बताएका हुन् ।

११. २ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा २ सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको