Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट,अर्थमन्त्री सेयर बजारप्रति अत्यन्त सकारात्मक (दिनभरकाे आर्थिक समाचारहरू)

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, २१ : ४७ मा प्रकाशित

नेप्सेमा भारी गिरावट,अर्थमन्त्री सेयर बजारप्रति अत्यन्त सकारात्मक (दिनभरकाे आर्थिक समाचारहरू)

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर २२ गते, बुधबार) दिनभरका मुख्य आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. फरवार्ड माइक्राेफाइनान्सले गर्याे बम्पर लाभांश घोषणा, ३५ प्रतिशत बोनस दिने

फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको हिजाे मंसिर २१ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. प्रभु बैंककाे लाभांश राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेडकाे लाभांश स्वीकृत गरेको छ  । बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । साेही लाभांश राष्ट्र बैंकले मंसिर २१ गते, मंगलबार स्वीकृत गरेकाे हाे ।अब उक्त प्रस्तावित लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. लाभांश पारित गर्न वोमी लघुवित्तले डाक्याे साधारण सभा, पाैष १ गतेदेखि बुकक्लाेज

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २१ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दशाैँ वार्षिक साधारण सभा पाैष १६ गते शुक्रबार, धुलिखेल नगरपालिका -४, धुलिखेल, काभ्रेपलाञ्चाेकस्थित हाेटल अरनिकाे सभाहलमा बिहान ११ बजेबाट हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही लाभांश अर्थ मन्त्रालयकाे मंसिर २० गतेकाे निर्णयबाट स्वीकृत भएकाे हाे । बीमा समितिले यसअघि नै असाेज ४ गते स्वीकृती प्रदान गरिसकेकाे छ । अब उक्त लाभांश कम्पनीकाे साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

५. नेप्सेमा भारी गिरावट, काराेबारमा नेशनल हाइड्राेपावर अब्बल

आज (बुधबार) पनि सेयर बजारमा भारी अंककाे गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेकाे छ । नेप्से २.१२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४६४.७९ विन्दुमा झरेकाे छ । कूल २२६ वटा कम्पनीकाे ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार, विकास बैंक र फाइनान्स समूह घटेकाे छ । बुधबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड ८८ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । बैंककाे सेयरमूल्य १.९४ प्रतिशतले बढेर ४ सय ५० रूपैयाँ ८० पैसा पुगेकाे छ । यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ८.५४ प्रतिशतले घटेर एक हजार एक सय ६८ रूपैयाँमा झरेकाे छ । संस्थाले लाभांश नदिने घाेषणा गरेसँगै यसकाे सेयरमूल्यमा नकारात्मक प्रभाव परेकाे हाे । 

६. सामुदायिक लघुवित्तले सेयरधनीलाई निराश बनायो : लाभांश वितरण नगर्ने

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधीहरूले गत आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट कुनै प्रकारकाे लाभांश नपाउने भएका छन् । संस्थाकाे आज (मंसिर २२ गते, बुधबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश प्रस्ताव नगरी तयार गरीएको आर्थिक वर्षको २०७७/७८ को वार्षिक प्रतिवेदन स्विकृत गरी वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैकंमा पेश गरेको छ । साेही सूचना मार्फत् संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश, बाेनस सेयर तथा हकप्रद सेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएकाे जनाएको छ ।

७. अर्थमन्त्री सेयर बजारप्रति अत्यन्त सकारात्मक, लगानीकर्ताको मागबारे केही दिनमा ठोस कुरा आउने

अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लहाकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले अर्थमन्त्री जनार्दन शर्मा जहिले पनि सेयर बजार प्रति सकारात्मक रहेका र सेयर बजारको विकास र स्थायित्वको लागि उनी सक्रिय रुपमा लागिरहेका बताए । बजारमा हल्ला गरीए जस्तो अर्थमन्त्रालय सेयर बजार प्रति नकारात्मक नरहेकाे उनी बताउँछन् । लगानीकर्ताहरुको मागको बारेमा अर्थमन्त्रालय जानकार रहेकाे र त्यस विषयमा गम्भीर छलफल पनि भैरहेको उनले बताएका छन् । तरलता संकटकाे बारेमा बाेल्दै २ हप्ताभित्र पुँजीगत खर्च व्यापक रुपमा गर्ने गरी तयारी भैरहेको उनले बताए । उनले भने,  अहिले देखिएको तरलता संकटलाइ द्रुत गतिमा समाधान गरिनेछ त्यसमा अर्थ मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन ।

८. थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । त्यसैगरी, साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ ।

९. ५० प्रतिशत लाभांश पारितसँगै महिला लघुवित्तकाे साधारण सभा सम्पन्न, सञ्चालकमा राेजी सिग्देल र कमल कुमार भारती निर्वाचित

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा आज (मंसिर २२ गते, बुधबार) हिमालयन दृश्य रिसाेर्ट, धुलिखेल-३, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे हाे । सभामा संस्थाकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ । साधारण सभाबाट सञ्चालकमा राेजी सिग्देल र कमल कुमार भारती निर्वाचित भएका छन् ।

१०. ५ सयले बढ्याे सुनकाे भाउ, १० रुपैयाँले बढ्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ५ सय रुपैयाँले बढेर प्रतिताेला ९२ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे छ । चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको