Like us!
Follow us!
Connect us!
Watch us!

एकाएक किन सुरु भयो सामाजिक सञ्जालमा लगानीकर्ताको 'नो भोट' अभियान ?

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १५ : ०२ मा प्रकाशित

एकाएक किन सुरु भयो सामाजिक सञ्जालमा लगानीकर्ताको 'नो भोट' अभियान ?

केहि दिन यता नेपालको सामाजिक सञ्जालमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले पूँजी बजार विरोधीलाई चुनावमा 'नो भोट' भन्दै विभिन्न तस्विरहरु पोष्ट गरिरहेका छन् । नेपालको पूँजी बजारको विकासमा सरकार र विभिन्न निकायहरु गम्भिर नभएको भन्दै लगानीकर्ताहरुले यस्तो अभियान चलाएका हुन् । 

सामाजिक सञ्जाल मार्फत सरकार र दलहरुलाई सचेत बनाउन कै लागि यो अभियान सञ्चालन गरिएको बताउँछन् यसका अभियन्ताहरु । पूँजी बजार भनेको त देशको अर्थतन्त्रको मेरुदण्ड नै हो यसरी सरकारले नै अर्थतन्त्रको मेरुदण्डमाथि नकारात्मक व्यवहार गरेपछि अर्थतन्त्रको हालत झनै के होला ? एक लगानीकर्ताले प्रश्न गरे । 

यो हामीले कुनै एक दल वा एक नेतालाई केन्द्रित गरेर यो अभियान चलाएका होइँनौ अभियान त नितान्त रुपले सेयर बजारमाथि गिद्धे नजर राख्ने सबै शासकहरुलाई होसियार गराउन र आम लगानीकर्ताहरुको शक्ति प्रदर्शनका लागि पनि यो अभियान चलाइएको बताउँछन् अभियन्ताहरु । 

अहिले सामजिक सञ्जालमा फैलिएको 'नो भोट' अभियानको सुरुवात किन र कसरी भयो यो अभियानका अभियन्ताहरु राेहन कार्की र हरी ढकालसँग कुराकानी गरेका छौँ । उनीहरूकाे धारण जस्ताको तेस्तै :

रोहन कार्की, अध्यक्ष स्वतन्त्र पूँजीबजार सुधार संघ 

अहिले नेपालको पूँजी बजारमा जुन संकटको अवस्था र्सिजना भएको छ यो सबैको मुख्य कारक भनेको नै सरकार हो । केहि महिना अघिसम्म बजारमा सकारात्मक माहोल थियो नेप्से परिसूचक ३२०० नाघेको थियो त्यो अवस्थाबाट सरकार र विभिन्न नियामकहरुको अनुचित प्रहारका कारण बजार अहिले २४०० को विन्दुसम्म पुगिसकेको छ यस्तो अवस्थामा पनि लाखौँको संख्यामा रहेका लगानीकर्ताहरुको हितमा एक शब्द नबोल्ने नियामक, सरकार र अर्थमन्त्री हामीलाई हुनु र नहुनुको के अर्थ ?  

अहिले बजारमा ब्रोकरको मनोमानीले सिमा नाघिसकेको छ, विभिन्न नियामक निकायहरु यति लामो समयदेखि नेतृत्व बिहिन छन् ती निकायहरुमा राम्रो र योग्य नेतृत्व चयन गर्नुभन्दा पनि अहिले सरकार राजनितिक भागभण्डा र आर्थिक लेनदेनकै आधारमा नियुक्ती गर्ने ध्याउन्नमा देखिन्छ बजारमा यत्रो नकारात्मक माहोल छाँउदा पनि एक शब्द नबोल्ने अर्थमन्त्री र सरकार हामीलाई किन चाहियो भनेर नै हामीले यस्ता दल र दलका नेताहरुलाई किन भोट दिने भनेर यो अभियानको आरम्भ गरेको हौँ । 

अहिले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई सरकारले दोस्रो दर्जाको नागरिक सरहको व्यवहार गरिरहेको छ । बजारमा यस्तो नकारात्मक माहोल हुँदा समेत आम लगानीकर्ताहरुको मनोबल वृद्धि हुने गरी केही पनि नगरेपछि अब हाम्रो सम्पतीको संरक्षणमा कुनै चासो नदिने सरकारलाई अब हामीले पनि भोट दिनु हुँदैन भनेर नै हामीले यो अभियानको थालनी गरेका हौँ । जनताले सरकार र नेताहरुको कामको जवाफ दिने भनेको नै मतदानबाट हो त्यसैले समयमै सरकार नेताहरुको पूँजीबजारप्रतिको रबैया परिवर्तन भएन भने अब आउने चुनावमा पूँजी बजार विरोधी नेता र तिनका दलहरुले लगानीकर्ताहरुको शक्ति बुझ्नेछन् ।

यसरी हामीले अहिले सञ्चालन गरेको शान्तिपुर्ण संघर्षका कार्यक्रमहरुबाट पनि यदि हाम्रा मागहरुको सुनुवाई भएन भने हामीले लाखौँ लगानीकर्ताहरुको पूँजीमा खेलबाड गर्ने जो कोहीलाई पनि त्यसै छोड्ने छैनौँ अब छिट्टै थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्नेछौँ ।    

हरी ढकाल,  संयोजक- सेयर लगानीकर्ता दवाब समूह

हाम्रो राज्यले जहिले पनि नपालको पूँजी बजारलाई केही न केही भाँजो हालेर स्वतन्त्र ढंगले चल्न नदिने गर्यो, बजारलाई प्राकृतिक ढंगले चलाउनु पर्छ र चल्न दिनुपर्छ भन्दै लगानीकर्ताहरुले राखेका विभिन्न मागहरुको सम्बोधन नै नगर्ने र बजारलाई स्थायी बनाउनका लागि कुनै नीति नियमहरु नै नल्याउने गरेपछि आम लगानीकर्ताहरुको सक्रियतामा यो 'नो भोट' अभियानको सुरुवात भएको हो । 

पछिल्लो समय नेपालको पूँजी बजारमा 'फ्रि फल' जस्तो देखिएको छ यस्तो अवस्थामा पनि हाम्रो अर्थमन्त्रालय कानमा तेल हालेरै सुतेको छ । विश्वका जुन सुकै देशमा पनि यदि बजारमा यस्तो अवस्था देखिन्थ्यौँ भने काेही पनि अर्थमन्त्रालय नबोली बस्दैन तर राम्रो देशको अर्थमन्त्रालय केही थाहा नै नभए जसरी मौन छ यस्तो अवस्थामा अब पनि हामी चुप लागेर बस्नुहुन्न हाम्रो सम्पती माथि खेलबाड गर्ने दल र तिनका नेताहरुलाई अब हामीले भोट दिनु हुन्न भनेर नै यो अभियान सुरु भएको हो ।

अहिले यो ३-४ दिनमा सेयर बजारमा लगानी गर्ने र यसमा सरोकार राख्नेहरुले सामाजिक सञ्जाल मार्फत जुन एकता देखाउनु भएको छ यसले पक्कै पनि यी शासकहरुलाई एक पटक सोच्न बाध्य भने बनाएकै छ । यो मुभमेन्टले उनीहरुमा एक किसिमको प्रेसर पक्कै पनि क्रियट गरेको छ ।

अब निकट भविष्यमा नै तीनै तहको चुनावमा देश जाँदैछ यदि अब पनि उहाँहरु सच्चिनु भएन, बजार मैत्री पोलिसीहरु र्निमाण गर्नुभएन भने उहाँहरुलाई लगानीकर्ताहरुले साँच्चिकै भोट गर्ने छैनन् । अहिलेको अभियानमा आम लगानीकर्ताहरुले बजारको विकासका लागि आफ्नो एकता प्रस्तुत गर्नुभएको छ अबको दिनमा पनि बजार विराेधी सरकार र अन्य निकायहरुलाई पनि खबरदारी गर्न विभिन्न माध्यमबाट एकजुट हुन जरुरी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको