Like us!
Follow us!
Connect us!
Watch us!

निरज गिरीलाई प्रश्न : "बजार बढ्दा विज्ञप्तिबाजी गर्ने बोर्ड घट्दा किन बोल्दैन ?"+ अरु आर्थिक समाचार (भिडियाे)

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, २१ : १० मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर २३ गते, बिहीबार) दिनभरकाे आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, १३.३० प्रतिशत बोनस दिने

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको हिजाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. घलेम्दी हाइड्रोले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा पौष १६ गते सासा ब्याङ्क्वेट, नयाँ बजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । सभामा वार्षिक प्रतिवेदनहरू छलफल गरिनेछ । लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।  कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ५ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

३. सुर्योदय लघुवित्तले डाक्याे साधारण सभा : लाभांश पारित र मर्जर मुख्य एजेन्डा

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर २२ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा पाैष १६ गते, शुक्रबार सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने/गाभिने (मर्जर) काे प्रस्ताव पारित गरिनेछ । वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् । सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे । बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।

४. नेप्से घट्दा सेन्सेटिभ बढ्याे, साताभरमै १३६ अंकले घटेकाे बजार सम्हालिन खाेज्दै

साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक घट्दा सेन्सेटिभ परिसूचक भने बढेकाे छ । याे एक सातामा सेयर बजार १३६ अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेकाे छ । नेप्से ०.२४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेकाे छ । कूल २३१ वटा कम्पनीकाे ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५५ प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ २० पैसा पुगेकाे छ । यस दिन पनि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले नै सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ५.८२ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँमा झरेकाे छ । संस्थाले लाभांश नदिने घाेषणा गरेसँगै यसकाे सेयरमूल्यमा नकारात्मक प्रभाव परेकाे हाे ।

५. निरज गिरीलाई प्रश्न : "बजार बढ्दा विज्ञप्तिबाजी गर्ने बोर्ड घट्दा किन बोल्दैन ?"

बजार बढ्दा विज्ञप्तिबाजी गर्ने नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड बजार घट्दा भने चुँइक्क बाेलेकाे छैन । बजार बढ्दै गर्दा मुख्यतः पीइ रेसियोकै आधारमा जोखिमयुक्त कम्पनीहरु भनेर लिस्ट सार्वजनिक गर्ने धितोपत्र बोर्डले बजार तिव्र रुपमा घटेर आधारभूत रुपमा निकै बलिया कतिपय कम्पनीहरुको पीइ रेसियो १५ भन्दा पनि तल आइसकेको अवस्थामा ’लगानीयुक्त कम्पनीहरु’ भनेर लिस्ट सार्वजनिक गर्नु पर्छ कि पर्दैन भनी धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई सोध्दा उनले त्यो बेलामा पनि जोखिमयुक्त भन्ने हिसाबले भन्दा पनि आम लगानीकर्तामा वित्तिय साक्षरता बढाउनको लागि विभिन्न सूचकहरुलाई आधार बनाएर लिस्ट सार्वजनिक गरेको र अहिले धितोपत्र बोर्ड नेतृत्व विहिन अवस्थामा रहेकाले अहिले ठोस रुपमा केहि गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । धितोपत्र बोर्ड सञ्चालक समितिले हरेक महिना आफ्नो विचार समेत उल्लेख गरी सेयर बजारको अवस्थाको बारेमा रिपोर्टिङ्ग गर्न निर्देशन दिएको बताउँदै उनले सञ्चालक समितिमा प्रतिवेदन पठाउने र त्यो प्रतिवेदनमा बजारको घट्दो अवस्थाको बारेमा पनि उल्लेख गर्ने बताए । यदि सञ्चालक समितिबाट त्यस्तो किसिमको निर्देशन आएको खण्डमा धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल बढाउने किसिमको विज्ञप्ति निकाल्न पनि सक्ने उनले बताएका छन् ।

६. आलोचकहरुलाई अर्थमन्त्री शर्माको जवाफ "७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु"

अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्ताे दाबी गरेका हुन् । विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौति आएको र अब बिस्तारै ती समाधान हुँदै जाने उनले बताए । ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’ अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए । 

७. गभर्नर अधिकारी भन्छन्, "कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भयाे"

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको जानकारी दिएका छन् । उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएको समेत बताए । राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ । यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो । ‘६४ अर्ब निक्षेप बढ्दा ४११ अर्ब कर्जा प्रवाह भएको छ’ उनले भने,  ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो ।’ 

८. आईपीओकाे तयारीमा रहेकाे हिमालयन रि इन्स्योरेन्सले कमायाे ४ करोड ४७ लाख रूपैयाँ नाफा

गत जेठको तेस्रो साता कम्पनी स्थापनाका लागि सैद्धान्तिक स्वीकृति पाई असार १७ गतेबाट सञ्चालित हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ४ करोड ४७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ खुद बिमा शुल्क बापत आम्दानी गरेको छ भने १ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानि समेत गरिसकेको छ । ७ अर्ब चुक्त्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५ करोड १८ लाख २७ हजार रुपैयाँ सञ्चित छ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

९. सगरमाथा जलविद्युतले आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा 

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे मंसिर २१ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णय बमोजिम कम्पनीको प्रथम वार्षिक साधारण सभा पाैष १४ गते बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाण्डौंमा बिहान ९:०० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले प्रारम्भिक सेयर निष्कासन (IPO) जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने प्रस्ताव पारित गरिनेछ ।

१०. बिहीबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर 

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुन प्रतिताेला ९२ हजार ३ सय रुपैयाँ र चाँदी प्रतिताेला १ हजार २ सय रुपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको