Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीका आर्थिक सल्लाहकारको खुलासा देखि गुरु प्रसाद न्यौपाने हकप्रदको अनुमति पाउन अदालत जाने कुरा (आर्थिक समाचार भिडियोमा )

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, २१ : २३ मा प्रकाशित

आज (पाैष ६ गते, मंगलबार) दिनभरका आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सिभिल बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

सिभिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकको हिजाे (पौष ५ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले डाक्याे साधारण सभा, पाैष १५ गते बुकक्लाेज

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (पाैष ५ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा पाैष २७ गते, मंगलबार हाेटल द नारायणी, गैँडाकाेट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको मंसिर ४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. ब्रोकर नम्बर २८ ले १५८ प्रतिशत लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

ब्रोकर नम्बर २८ अर्थात् श्री कृष्ण सेक्युरिटिज लिमिटेडले १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छब्बीसाैँ वार्षिक साधारण सभा पाैष २७ गते, मंगलबार, कम्पनीकाे केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप चुक्ता पुँजीकाे १५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८ प्रतिशत नगद गरी कूल १५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४. एक सातापछि सेयर बजारमा हरियाली, ५७ अंकले बढ्याे नेप्से परिसूचक 

एक हप्तापछि आज फेरि सेयर बजारमा हरियाली देखिएको छ । यसअघि गत मंगलबार सेयर बजार ६ प्रतिशत बढेको थियो । त्यसपछि फेरि सेयर बजार दिनहुँ घटिरहेको थियो । आज फेरि बजारमा सकारात्मक माहोल देखिएको हो । नेप्से परिसूचक अर्थसतक भन्दा धेरैले बढ्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेर ४६२.५२ विन्दुमा पुगेको छ । कूल २२६ वटा कम्पनीकाे ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । मंगलबार हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ५८ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ पुगेकाे छ । यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.८९ प्रतिशतले घटेर प्रतिकित्ता ९ सय २५ रूपैयाँमा झरेकाे छ । 

५. पञ्चकन्या माई हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, पाैष २० गते बुकक्लाेज

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पाैष ५ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चाैँथाे, पाचाैँ तथा छैठाैँ वार्षिक साधारण सभा, कुपण्डाेल ब्याङ्क्वेट, कुपण्डाेल, ललितपुर र भर्चुअल माध्यममार्फत् एक साथ सञ्चालन हुनेछ । सभामा ३ वटा आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, ३ वटै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालककाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

६. युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीलाइ छैन लाभांश 

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार ललितपुर ३, धोबिघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यममार्फत् सञ्चालन गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । सभामा वार्षिक प्रतिवेदनहरू छलफल गर्ने लेक्षापरिक्षक नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २१ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

७. अर्थमन्त्रीका आर्थिक सल्लाहकारको खुलासाः पुष महिनाभरीमा पूँजीगत खर्च आश्चर्यजनक रुपमा बढ्छ !

अर्थमन्त्रीका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले पुष महिनाभरिमा पुँजीगत खर्च आश्चर्यजनक ढंगले बढ्ने बताएका छन् ।  अर्थ संसारसँग कुरा गर्दै उनले वित्तिय प्रणालीमा देखिएको तरलता संकुचनको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर रुपमा काम भैरहेको र  सोही अनुरुप नै प्रणालीमा ५० अर्ब थपिने हिसाबले स्थानिय तहमा जाने पैसाको ८०% प्रतिशतसम्म निक्षेपको रुपमा गणना गर्न दिने निर्णय गरिएको बताए। उनले भने, 'सबै मन्त्रालय हरुसँग छलफल र अन्तरक्रिया भैरहेको छ।  पुष महिना सकिदा नसकिँदै आश्चर्यजनक रुपमा पुँजीगत खर्च वृद्धि हुनेछ। अर्थमन्त्रालयको यो प्रयासमा सरोकारवाला सबै साथीहरुले साथ दिने वचन दिनुभएको छ। 

८. गुरु प्रसाद न्यौपाने भन्छन्, "अरुण काबेलीले हकप्रद अनुमति पाँउछ, नपाए अदालतसम्म जान्छौँ"

अरुण काबेली पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्याैपानेले अरुण काबेलीले प्रस्ताव गरेको १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाउने र यदी नियामकले यसलाई रोक्ने प्रयास गरे आफूहरु अदालतको ढोकासम्म पुग्ने बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकमा कुराकानी गर्दै उनले भने “कम्पनी ऐनमा कँही कतै पनि कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि हकप्रद जारी गर्न नपाउने व्यवस्था त गरेको छैन नी लगानीकर्ताहरुबाट हकप्रद मार्फत जम्मा गरेको पैसाले हामीले केही बैंकको कर्जा तिर्ने लक्ष्य लिएका छौँ यदी यसो भएमा हाम्रो लाभांश क्षमता करिब ७ देखि ८ प्रतिशतले वृद्धि हुन्छ यसको प्रतिफल त आखिरमा लगानीकर्ताहरुले नै पाउने हो नी त्यसैले अहिले अरुण काबेलीको हकप्रद रोक्न हुँदैन तर यदि नियमन आयोगले रोकेमा हामी अदालतको ढोका ढकढक्याउन बाध्य हुनेछौँ ।” 

९. ८ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार रूपैयाँ कायम भएकाे छ । अाज चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ३५ रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको