Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ६००० पुग्ने सम्भावना, बीमा कम्पनीमा आकर्षण, प्रचण्डलाई काउन्टर +दिनभरका आर्थिक समाचार (भिडियाे)

अर्थ संसार

आइतबार, ११ पुस २०७८, २१ : ०८ मा प्रकाशित

नेप्से ६००० पुग्ने सम्भावना, बीमा कम्पनीमा आकर्षण, प्रचण्डलाई काउन्टर +दिनभरका आर्थिक समाचार (भिडियाे)

आज (पाैष ११ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. हिमालयन बैंकले डाक्याे साधारण सभा, लाभांश वितरण र मर्जर मुख्य एजेन्डा

हिमालयन बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष ९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे उनन्तीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँबाट भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने, सेयर स्वाप रेसियो एक बराबर एक कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू पारित गरिनेछन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ११ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । हाल नेप्सेमा बैंककाे सेयर काराेबार राेक्का छ । 

२. चर्चित ज्याेतिष डा.सुनिल सिटाैला भन्छन्, "२०२१ को रेकर्ड २०२२ मा तोडिनेछ, नेप्से ६००० पुग्ने सम्भावना अत्याधिक छ"

चर्चित ज्याेतिष डा.सुनिल सिटाैलाले सन् २०२२ ले सेयर लगानीकर्तामा खुसियाली लिएर आउने बताएका छन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले २०२१ काे रेकर्ड २०२२ मा ताेडिने बताएका हुन् । उनले नेप्से परिसूचक ६००० काे विन्दुमा पुग्ने सम्भावना अत्याधिक रहेकाे बताएका छन् । उनले भने, "ज्योतिषशास्त्रमा विभिन्न नियमहरु हुन्छन् । अंकज्योतिषको नियम अनुसार नेप्से ६००० क्रस गर्न सक्ने देखिन्छ । यदि ६ हजार कटेन नै भने पनि २०२२ मा बजार बुम नै हुन्छ यो चाहिँ पक्का हो । सन् २०२१ को रेकर्ड चाहिँ २०२२ मा तोडिन्छ।"

३. लाभांश पारित गर्न मल्टीपर्पस फाइनान्सले डाक्याे साधारण सभा,  पाैष २१ गते बुकक्लाेज

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैबीसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, नेता चाैक, राजविराजमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. प्रचण्डलाई उपेन्द्र यादवको काउन्टर: अर्थतन्त्रमा यत्राे ठूलाे योगदान दिने पूँजी बजार कसरी साम्राज्यवादी ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेयर बजारको विकास हुँदा देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन्। अर्थसंसार डट कमसँग कुरा गर्दै यादवले आफू र आफ्नो पार्टी सेयर बजारको विकास र स्थायित्वको लागि प्रतिवद्ध रहेको बताएका हुन्।  केही समय अघि सत्ता गठबन्धनको एक महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार पूँजीवादी साम्राज्यवादको विस्तारित रुप हो भनि दिएको अभिव्यक्तिप्रति आफ्नो असहमति रहेको पनि उनले बताए।  'नेपालमा पुँजीवादको विकास नै हुन सकेको छैन, पुँजीवाद नै अहिले बच्चा अवस्थामा छ।  अब यो कहिले ठूलो हुने अनि यसले साम्राज्यवादको रुप धारण गर्ने ? त्यसैले अहिले यो बहसको कुनै अर्थ छैन।' उनले थप स्पष्ट पारे।  

५. नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, बीमा समूहमा बढ्याे लगानीकर्ताको आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायम नै छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि बढेकाे छ । बढेकाे बजारमा बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह बढेकाे छ । बीमा समितिले बीमा कम्पनीहरूको पूँजी बढाउन विभिन्न माध्यमबाट कदम चालेको छ । मुख्यतय बोनस र मर्जरलाई प्राथमिकता दिइएको छ । अहिले लाभांश सिजन पनि चलिरहेको छ । अधिकांश बीमा कम्पनीहरूले लाभांश घोषणा गर्नै बाँकी छ । यस्तो अवस्थामा बीमा कम्पनीहरूले उच्च बोनस बाँड्ने अपेक्षाले लगानीकर्ताले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीहरूको पूँजी वृद्धिको कुरा भइरहँदा बीमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा पुगेकाे छ । नेप्से २.८२ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ विन्दुमा पुगेको छ । कूल २३१ वटा कम्पनीकाे ८६ लाख एक हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह बढेकाे छ । आज हाइड्राेपावर र फाइनान्स समूह घटेका हुन् । आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३२ कराेड ७ लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज १५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमध्ये मध्य भाेटेकाेशी बाहेक बाँकी सबै इन्स्याेरेन्स कम्पनीहरू रहेका छन् । यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५७ प्रतिशतले घटेर ७ सय ९७ रूपैयाँमा झरेकाे छ । 

६. मैलुङ खोला जलविद्युतले डाक्याे साधारण सभा, पाैष २१ गते बुकक्लाेज

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आठाैँ वार्षिक साधारण सभा, पाैष ३० गते, शुक्रबार लैनचाैर ब्याङ्क्वेट्स, लैनचाैर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट २ जना सञ्चालककाे निर्वाचन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

७. नम्बर १ भन्ने नेपाल लाइफका सञ्चालक भत्तामा लिप्त, बीमा समितिले पठायो पत्र !

बीमा समितिले नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुलाई पत्र काटेको छ । कम्पनीका सञ्चालकहरुले गैरकानुनीरुपमा भत्ता लिएको विषयमा बीमा समितिले उनीहरुलाई पत्र काटेको हो। सञ्चालकहरुबाट भत्ताको दुरुपयोग भएको गुनासो आएकाले वास्तविकता के हो ? भनेर पत्र पठाएको  बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले अर्थ संसारलाई बताएका छन् । शुक्रबार बसेको बैठकको निर्णय अनुसार उनीहरुलाई बीमा समितिले पत्र काटेको हो । पत्रको जवाफ आइसकेपछि र छानबिनका आधारमा अनधिकृतरुपमा भत्ता लिइएको पाइए कारबाही गरिने समितिले जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा रहेको बेलामा अनधिकृतरुपमा भत्ता लिएको भन्ने गुनासोका आधारमा कम्पनीका आठ जना सञ्चालकहरुलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । 

८. बीमा समितिका अध्यक्ष भन्छन्, "बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनुपर्छ"

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरुको व्यवसायको दायरा बढ्दै गएकाले हाल कायम पुँजी अपर्याप्त रहेको बताएका छन् ।  अर्थसंसारसँग कुरा गर्दै उनले पुँजी कम हुँदा बीमा कम्पनीहरुको जोखिम बढ्ने भएकाले कसरी बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने भनेर छलफल भैरहको बताएका छन् ।  आफूहरु सकेसम्म बोनस सेयर र मर्जरबाटै पुँजी बढाउने  तयारीमा रहेको पनि उनले बताए । कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिँदा त्यसले बजार खल्बल्याउने भन्दै उनले राम्रो आम्दानी भएका र रिजर्भमा पैसा भएका बीमा कम्पनीहरुलाई बोनस मार्फत पुँजी बढाउन दिईने र बोनस मार्फत पुँजी बढाउन नसक्ने कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहन गरिने बताएका छन् ।   

९. अम्बिका प्रसाद पौडेल भन्छन्, "सरकार र नियामक निकायले सेयर बजारलाई बुझ्नै सकेनन्"

उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नियामक निकाय तथा सरकारले पुँजी बजारलाई राम्ररी बुझ्नै नसकेको आरोप लगाएका छन्।  अर्थसंसार डट कमको कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले नियामक निकाय र सरकारले पुँजी बजारलाई सकारात्मक रुपमा हेर्न नसक्दा नेपालको सेयर बजार बामपुड्के नै रहन गएको र अभिभावकबाट राम्रो स्याहार सुसार नपाउँदा कुपोषणको शिकार भएको बालकको जस्तो हालत पूँजी बजारको हुन गएको बताए।  

१०. आइतबार सुन चाँदी दुवैकाे मूल्य स्थिर

आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुनकाे मूल्य प्रतिताेला ९३ हजार एक सय रूपैयाँ र चाँदीकाे मूल्य प्रतिताेला एक हजार २ सय ६० रूपैयाँमा नै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको