Like us!
Follow us!
Connect us!
Watch us!

छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयरमा लगानी, कुमारी बैंकको १९ करोड कर्जा रकम सुरक्षित(भिडियो)

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, २२ : ३० मा प्रकाशित

आज (पाैष १३ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. कुमारी बैंकको १९ करोड कर्जा रकम सुरक्षित, कुशल व्यवस्थापनले जोगिए कर्मचारी !

कुमारी बैंक लिमिटेडको व्यवस्थापनमा रहेको कुशल नेतृत्वको कारण १९ करोड ऋणकर्जा प्रकरणमा बैंकका कर्मचारीहरु बैकिङ्ग कसुर मुद्दा चल्नबाट जोगिएका छन् । नेतृत्वको विवेकपूर्ण निर्णयका कारण उक्त प्रकरणमा बैंकबाट प्रवाह भई सकेको कर्जा  रकम समेत सुरक्षित गरेको छ। गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा  तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेको थिए । उक्त उजुरीमा छानविन हुँदा सरकारी वकिल कार्यालयले बैंकिङ्ग कसुर मुद्दा समेत आकर्षित हुने देखिँदा सो उपर समेत छानवीन गर्न व्युरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्न भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकोले विशेष सरकारी वकिल कार्यालयले बैकिङ्ग कसुर मुद्दा चलाउन नपर्ने भनी राय व्यक्त गरेको हो।

२. ४५ प्रतिशत लाभांश पारित गर्न नेशनल माईक्रोफाइनान्सले डाक्यो साधारण सभा, पौष २७ गतेदेखि बुकक्लोज

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको हिजो पौष ८ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँँ वार्षिक साधारण सभा माघ ६ गते, बिहीबार क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत गरी) कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष २७ गतेदेखि गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. प्रचण्डको राजनीतिक प्रतिवेदनः छोटो समयमै अकुत सम्पत्ति कमाउन सेयरमा लगानी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको बताएका छन् । उनले प्रतिवेदनमा भनेका छन् 'उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो, उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन्।' उनले केहि दिन अघि पनि एक कार्यक्रममा पुँजीबजार लाई साम्यवादको साधन भनेपछि उनको चर्को विरोध भएको थियो । विरोधपछि प्रचण्डले आफु नेपालका लाखौँ सेयर लगानीकर्ताहरुको हितको पक्षमा रहेको भन्दै विज्ञप्ती समेत निकालेका थिए । 

४. प्रचण्डको प्रतिवेदनलाई बजारले पचायाे, नेप्सेमा सामान्य गिरावट

सेयर बजारले प्रचण्डको प्रतिवेदनलाई सहजै पचाएकाे छ । मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेकाे छ । नेप्से ०.११ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.९१ अंकले घटेर ४७०.९८ विन्दुमा झरेको छ । कूल २३० वटा कम्पनीकाे ५८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ । मंगलबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ३९ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । मंगलबार पनि मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ३३ रूपैयाँ १० पैसा पुगेकाे छ । आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ७ सय ८९ रूपैयाँ १० पैसामा झरेकाे छ ।

५. साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा, नियामक नेतृत्वबिहीन हुँदा ढिलाई

विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुईवटा अन्य कम्पनी रहेको बोर्डले जनाएको छ । बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डकाे अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृत हुन सकेको छैन । तत्कालीन बोर्ड अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता बर्खास्त गरेको थियो । त्यसयता सेबाेन नेतृत्वबिहीन छ । 

६. अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा 

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले माघ ५ गते थापाथलीस्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, आईपीओ निष्कासनका लागि सोही अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

७. नवराज दहाल भन्छन् “बजारलाई सकारात्मक बनाउने समाचार छिट्टै आउनेछ, वास्तविक बुल आउनै बाँकी”

नेप्से पछिल्लो समय धरै नै घटिसकेकाले अब बजार बढ्ने र सकारात्मक माहोल हुने गरी समाचार आउन धेरै समय बाँकी नरहेको र नेपालको यो बुल ट्रेन्डको असली बुल आउनै बाँकी रहेको सक्रिय लगानीकर्ता नवराज दहालले बताएका छन् । अर्थ संसार डटमकको कार्यक्रम लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले आफूले केही दिन अघिबाट नै सेयर बजारकाे असली बुल आउनै बाँकीरहेकाे कुरा निरन्तर भन्दै आएकाे बताएका छन् । अब छिट्टै नै बजार माथि जाने गरी सकारात्मक समाचार आउन पनि धेरै समय नलाग्ने उनकाे तर्क छ ।

८. २ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी 

मंगलबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले बढेर एक हजार २ सय ६० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको