Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको पुँजी तत्काल नबढाउन सुझाव,दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी नबोल्नुस (भिडियो)

अर्थ संसार

आइतबार, १८ पुस २०७८, २१ : ४९ मा प्रकाशित

आज (पौष १८ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. कर्पोरेट डेभलपमेन्ट बैंकको  हकप्रद माघ ७ गतेबाट खुल्ने, पुस २५ गतेसम्म कायम हुनेले भर्न पाउने

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ बराबर १.५ को अनुपातमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

२. प्रभु बैंककाे साधारण सभा सम्पन्न : १२.६३ प्रतिशत लाभांश पारित 

प्रभु बैंक लिमिटेडकाे बीसौँ वार्षिक साधारण सभा आज (पौष १८ गते, आइतबार) बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा सम्पन्न भएकाे छ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

३. बैंकहरूको पुँजी तत्काल नबढाउन सुझाव, प्रतिफल घट्दै गएकोमा चिन्ता

बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चालकहरूले माग गरेका छन् । सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीका विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकमा प्रतिवेदन बुझाउँदै पुँजी नबढाउन आग्रह गरेको हो । २०७२ सालको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले दुई वर्षभित्रमा चुक्ता पुँजी चार गुणाले बढाउने नीति ल्याए पनि बैंक तथा वित्तीय संस्थाको संख्या घटेन । हकप्रद सेयरको माध्यमबाट पनि पुँजी बढाउन दिँदा मर्जरमा जानुको सट्टा बैंक तथा वित्तीय संस्थाले छोटो समयमा हकप्रद सेयर जारी गरेरसमेत चार गुणाले पुँजी बढाए । जसकारण उपलब्ध कोषलाई उपयोग गर्न आक्रामक कर्जा विस्तार गर्दा तरलता अभावजस्ता साइड इफेक्ट देखिएको अध्ययनमा उल्लेख छ । २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी र प्रतिफल दर निरन्तर रूपमा घटिरहेको प्रतिवेदनले औँल्याएको छ । जसकारण बैंकका लगानीकर्ता निरुत्साहित भएको भन्दै उक्त चुनाैती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै व्याजदर निर्धारण हुने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ । 

४. सन् २०२२ लाई सेयर बजारको हरियो कार्पेट, लगानीकर्ता उत्साहित

सन् २०२२ काे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ । सेयर बजारले सन् २०२२ लाई सेयर बजारको हरियो कार्पेटले स्वागत गरेकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे साताकाे अन्तिम काराेबार दिनकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेकाे छ । नेप्से २.३९ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा पुगेको छ । कूल २४० वटा कम्पनीकाे ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेको छ । आइतबार हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४४ कराेड ९४ लाख २ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज  हिमालयन डिष्टिलरीका लगानीकर्ताले नै सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ हजार ३ सय १८ रूपैयाँ पुगेकाे छ । यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ९० पैसामा झरेकाे छ । 

५. दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको अनुरोध !

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालाई बीमा कम्पनीको दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी जथाभावी नबोल्न स्वतन्त्र पुँजी बजार सुधार संघले आग्रह गरेको छ । समितिको जिम्मेवार व्यक्तिले बीमा कम्पनीको विषयमा बोल्दा दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता मारमा परेको भन्दै जथाभावी नबोल्न आग्रह गरेका हुन् । 

६. एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड, ४५६ रुपैयाँ ७८ पैसा कट अफ कायम

एक्सेल डेभलपमेन्ट बैंकले  मंसिर २९ गते, बुधबारबाट पाैष ७ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू पाैष १३ गते, मंगलबार खोलिएर पाैष १५ गते, बिहीबार बाँडफाँड गरिएकाे हाे । लिलामी सेयरमा ४५६ रुपैयाँ ७८ पैसा कट अफ कायम भएकाे छ । बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा भाेलि (पाैष १९ गते, साेमबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । बैंकले सर्वसाधारण समुहतर्फकाे २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

७. विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, १० देशमा जाने योजना

बैंक तथा वित्तीय संस्थाका संचालकहरूले विदेशमा नेपाली बैंकको शाखा कार्यालय खोल्न दिन माग गरेका छन् । सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकका एक अध्ययन प्रतिवेदन बुझाउँदै शाखा खोल्न दिन माग गरेका हुन् । हाल नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई स्वीकृति लिई विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाबाट प्रभावकारी रूपमा काम गर्न नसकिएको भन्दै शाखा नै खोल्न दिने व्यवस्था गर्न आग्रह गरेका हुन् । सीबीफीनले गरेको अध्ययन प्रतिवेदनमा विशेष मापदण्ड बनाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गरिनु उपयुक्त हुने र यसबाट नेपाली बैंकहरूले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यवसायमा थप योगदान दिनसक्ने उल्लेख गरिएको छ । यसैगरी सीबीफीनले भिजन २०३० जारी गर्दै कम्तीमा १० देशमा नेपाली बैंकका शाखा/सम्पर्क कार्यालय पुर्‍याउने योजनासमेत सार्वजनिक गरेको छ ।

८. सेयर बजारलाई राष्ट्रिय बहसको विषय बनाउन लगानीकर्ता संगठनहरुको ठूलो भूमिका रहेकाे राधा पाेखरेलकाे दावी

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले एमसीसी जस्तो कुरामा राष्ट्रिय बहस हुँदै गर्दा नेपालीहरुले विदेशमा रगत पसिना एक गरेर कमाएको पैसा लगानी गर्ने क्षेत्र सेयर बजारको विकासको बारेमा सरकार र नियमनकारी निकायहरु गम्भीर नदेखिँदा अहिलेको समस्या देखिएको बताएकी  छिन् ।  अर्थ संसार डट कमको कार्यक्रम लगानीकर्ताको आवाजमा बोल्दै उनले राजनीतिक दलका नेताहरुले सेयर बजारको बारेमा बुझ्दै नबुझेकाे बताइन् । 'नेताका आसेपासे, सल्लाहकारहरुले पनि त्यसरी नै ब्रिफ गर्दा रहेछन क्यारे, नेताहरुमा सेयर बजारको खासै ज्ञान भएको र राम्रो धारणा रहेको मैले पाइँन। ' उनले भनिन् । 

९. ७ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

आइतबार सुनको मूल्य ताेलामा ७ सय रूपैयाँले बढेर प्रतिताेला ९३ हजार ४ सय रूपैयाँ पुगेकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ७० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको