Like us!
Follow us!
Connect us!
Watch us!

तरलताको अवस्था सहज हुँदै, छिट्टै अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण (भिडियो)

अर्थ संसार

सोमबार, १९ पुस २०७८, २२ : ०१ मा प्रकाशित

आज (पाैष १९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. साल्ट ट्रेडिङ्गले पठायाे बोनस, सेयर अभौतिकिकरण गराउन आग्रह

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीको कार्तिक १६ गते मंगलबार सम्पन्न भएकाे ५४औँ वार्षिक साधारण सभाले पारित गरेकाे २० प्रतिशत बाेनस सेयर कार्तिक १ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बाेनस वितरण गरिनेछ । कम्पनीकाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

२. तरलताको अवस्था सहज हुँदै : बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सिडी रेसियो पनि घट्यो

गत साता बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब पुगेको छ । वाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्बबाट ४२ खर्ब ४९ अर्ब पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको ५ खर्ब ६८ अर्बबाट वृद्धि भई ५ खर्ब ६९ अर्ब पुगेको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि दुई अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । गत सातामात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो । तरलताको अवस्था सहज भएपछि बैंकहरूको औशत कर्जा-निक्षेप (सिडी) अनुपात पनि ९० दशमलव ७६ प्रतिशतमा झरेको छ । 

३. सेयर बजारमा सकारात्मक माहोल, छिट्टै अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । सेयर बजारमा ठूला लगानीकर्ताहरू प्रवेश गरिसकेका र बजारमा सकारात्मक माहाेल देखिएकाे हेर्दा छिट्टै बजारले अलटाइम हाई रेकर्ड ब्रेक गर्ने प्रक्षेपण गर्न सकिने लगानीकर्ता प्रशन्न ढुङ्गानाले बताएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेकाे छ । नेप्से १.२४ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ । कूल २३० वटा कम्पनीकाे ८२ लाख ५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७८ रूपैयाँ ५८ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेको छ । साेमबार पनि हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ४४ लाख ७० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ७७ रूपैयाँ १० पैसा पुगेकाे छ । यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य २.५९ प्रतिशतले घटेर ९ सय ४ रूपैयाँमा झरेकाे छ । 

४. ६ वटा लघुवित्तलाई मर्जर प्रकृया तोड्न राष्ट्र बैंकको अनुमति, लाभांश राेक्का

नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्तलाई मर्जर प्रकृया तोड्न अनुमति प्रदान गरेकाे छ । राष्ट्र बैंकले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई डिमर्जकाे अनुमति दिएकाे हाे । अब यी संस्थाहरूले आर्थिक वर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरेको भए , साधारण सभाबाट पारित गरेकाे भएतापनि शेयरयरधनीहरुलाई लाभांश वितरण गर्न भने पाउँदैनन् ।  २०७९ असार मसान्तसम्म अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गरिसकेर राष्ट्रिय वा प्रादेशिक स्तरको के हुने भन्ने यकिन गरेपछि भने लाभांश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएकाे छ । यसका साथै, यी संस्थाहरूले २०७९ असार मसान्तसम्म अर्को संस्थासँग मर्जर वा प्राप्ति नगरेसम्म राष्ट्र बैंकले दिने अन्य सुविधाबाट समेत बञ्चित हुनेछन् ।

५. लघुवित्तलाई मर्जरको कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएकाे छ । नेपाल राष्ट्र बैंकले बैंकबाट "घ" वर्गकाे इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएकाे एकीकृत निर्देशन, २०७७  मा संशाेधन गर्दै इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्न निर्देशन दिएकाे हाे ।

६. भगवती हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

भगवती हाइड्रोपार कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । कम्पनीले ५ लाख ७२ हजार ६४ हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि र ८ लाख ५८ हजार ९८ कित्ता आईपीओ सर्वसाधारणको लागि गरी कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस कम्पनीले कास्की जिल्लाको विजयपुर खोलामा ४ दशमलव ५ मोगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

७. मुक्ति अर्याल भन्छन्, "वाणिज्य बैंकहरुको सेयरमूल्य सबैभन्दा अन्डरभ्यालुड, फण्ड हुनेलाई लगानीको सुनौलो अवसर"

अहिले नेप्सेमा वाणिज्य बैंकहरुको सेयर मूल्य सबैभन्दा अन्डरभ्यालुड रहेको सेयर विश्लेषक एवंम इन्भेष्टमेन्ट बैंकर मुक्ती अर्यालले बताएका छन् । रिटर्नको हिसाबले हेर्दा अन्य क्षेत्रको तुलनामा वाणिज्य बैंकहरुको रिटर्न धेरै नै राम्रो देखिएकाे र बैंकहरुले वार्षिक रुपमा दिने लाभांशको तुलनामा बैंकहरुको सेयरमूल्य धेरै नै अन्डरभ्यालुड देखिएकाे उनी बताउँछन् । अझ पछिल्लो करेक्सनपछि बजारमा यो क्षेत्रका कम्पनीहरुको सेयरमूल्य त डिस्काउन्टेड प्राइसमा नै देखिएकाे बताउँदै उनले जोसँग अहिले फण्डको उपलब्धता छ उनीहरुका लागि यो बजार प्रवेशको उत्तम समय रहेकाे बताए ।

८. ३ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार एक सय रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ६५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको