Like us!
Follow us!
Connect us!
Watch us!

सहज हुँदै तरलता,बढ्दै लगानीकर्ताकाे मनाेबल (भिडियो )

अर्थ संसार

मंगलबार, २० पुस २०७८, २२ : ३४ मा प्रकाशित

आज (पाैष २० गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सर्वोत्तम सिमेन्टले डाक्यो साधारण सभा,  बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा माघ ११ गते काठमाण्डौँको तीनकुनेस्थित न्यौपाने टावरमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको छ । जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ ।  यस्तै, सभामा आर्थिक वर्ष २ं०७७/७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २ं०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पारित गरिनेछ ।

२. नेप्सेमा अरूण भ्यालीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १५ लाख ७२ हजार ३ सय ५९ कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीकाे असाेज २४ गते, आइतबार सम्पन्न भएकाे चाैबिसाैँ वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बाेनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । कम्पनीको साधारण सभाले बोनस सेयर पश्चात् कायम हुने चुक्ता पूँजीको एक बराबर शुन्य दशमलव पाँच अर्थात पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको थियाे । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

३. सुधारिँदै निक्षेप, सहज हुँदै तरलता

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे । नेपाल राष्ट्र बैंकले तरलताकाे अभाव न्यूनिकरण गर्न विभिन्न माध्यमबाट कदम चाल्दा बैंकहरूकाे निक्षेप बढ्न थालेकाे हाे । पाैष १६ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा १४ अर्बले बढेकाे हाे । पाैष ९ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यसैगरी, बैंकहरुको कर्जा लगानी पनि ११ अर्ब रुपैयाँले बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेकाे छ । पाैष २ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस अवधिसम्म बैंकहरुको सिडी रेसियो (कर्जा निक्षेप अनुपात) ९१.०२ प्रतिशत रहेको छ । 

४. सेयर बजारमा राैनकता कायमै, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । गत बुधबारदेखि लगातार बढिरहेकाे सेयर बजारले आज पनि उकालो यात्रालाई नै निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ । कूल २३४ वटा कम्पनीकाे ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन र अन्य उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर बढेको छ । मंगलबार नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १४ कराेड ७७ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ३ वटा कम्पनीकाे सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । त्यस्तै, मध्यभाेटेकाेशी जलविद्युत, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंककाे सर्किट लेभलमा काराेबार भएकाे हाे । यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.५० प्रतिशतले घटेर ४ सय १० रूपैयाँ ७० पैसामा झरेकाे छ ।

५. सहकारीको ब्याजदर तत्काल नबढ्ने

सहकारी संस्थाहरूबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अवस्था सहज बन्न थालेको भन्दै ब्याजदर तत्काल नबढाउने निष्कर्षमा सहकारी विभाग पुगेको हो । यसअघि ब्याजदर पुनरावलोकन गर्न १५ पुसमा ब्याजदर निर्धारण समितिको बैठक बसेको थियो । बैठकमा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्‍याउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी अर्थ मन्त्रालय र सहकारी बैंकका प्रतिनिधिहरूले ब्याजदर बढाउने आधार नभएको बताएपछि एक साताका लागि बैठक स्थगित गरिएको थियो । हाल सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४ दशमलव ७५ प्रतिशतसम्म ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर लागु गरिएको छ । गत कात्तिक १५ गतेदेखि लागु भएको ब्याजदर त्यसअघि १६ प्रतिशत थियो । 

६. वाणिज्य बैंकहरूमा ५० अर्ब निक्षेप थपिने

स्थानिय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्ब रुपैयाँ थपिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि सरकारले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपलाई तरलता गणना गर्न पाउने व्यवस्था गरेको थियो । सरकारको निर्णय अनुसार उक्त प्रावधान मंगलबारबाट कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले यो निक्षेपबाट उत्पादनशील क्षेत्रमा मात्र कर्जा लगानी गर्न पाउनेछन् । यसबाट व्यापारिक क्षेत्रका लागि भने लगानी गर्न नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यो प्रावधान २०७९ असार मसान्तसम्म मात्र लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । 

७. ५ महिनापछि नेप्सेको RSI ६० माथि: ५० दिनको मुभिंग एभरेज भयो ब्रेक

नेप्से ३२२५ बाट झरेर २२६० को बिन्दुसम्म आइपुग्दा बनेको डाउन ट्रेन्डलाइनलाइ ब्रेक गर्दै बढेको नेप्से परिसूचक आज ५० दिनको मुभिंग एभरेज भन्दा पनि माथि जान सफल रहेकाे छ । बजार ५० दिनको मुभिंग एभरेज भन्दा माथि जानुलाइ मिड टर्ममा बजार बुलिश भएको मानिन्छ।  अहिले बजार २०० दिनको मुभिंग एभरेज भन्दा तल नै रहेको छ । अहिले करिब  २७६० को बिन्दुतिर रहेको २०० दिनको मुभिंग एभरेजको बिन्दुलाई आगामी दिनमा नेप्सेले ब्रेक गर्न सकेको खण्डमा बजार एग्रेसिभ रुपमा बुलिश भएर जाने सम्भावना उच्च भएर जानेछ।  आज बजार बढ्दै गर्दा  नेप्सेको डेली चार्ट्मा RSI १४ ६१.२६ को लेभलमा पुगेको छ।  गत ५ महिनामा नेप्सेको डेली चार्ट प्याटर्नमा RSI ६० भन्दा माथि गएको यो पहिलो पटक हो।  अगस्ट २४ २०२१ बाट RSI ६० भन्दा तल झर्न थालेको नेप्सेको चार्ट्मा त्यसपछि बजार बढेर २८७८ को बिन्दुमा पुग्दै गर्दा पनि RSI ६० भन्दा माथि जान सकेको थिएन।  तर आज RSI ६० भन्दा माथि जानुले एकदमै राम्रो संकेत गर्दछ।  यदि आगामी दिनमा RSI ६० को लेभल भन्दा माथि माथि नै बस्न सफल भयो भने बजारको माथितिरकै यात्रा कायम रहन सक्ने सम्भावना बढेर जानेछ।  

८. केशव कोइराला भन्छन्, "राष्ट्र बैंकको पछिल्लो परिपत्रले लघुवित्त कम्पनीहरुलाई सहुलियत प्रदान गरेको छ"

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तहरूलाई २०७९ असार मसान्तभित्र मर्जरको कार्य योजना पेश गर्न निर्देशन दिएकाे छ । चर्चित सेयर विश्लेषक तथा लगानीकर्ता केशव कोइराला 'काका' ले राष्ट्र बैंकको यो नीति कुनै नयाँ नीति नभएको भन्दै यसअघि २०७९ असार मसान्त भित्र त्यस्ता क्रस होल्डिङ्ग भएका लघुवित्तहरु मर्जमा जानुपर्ने व्यवस्था गरेको राष्ट्र बैंकले अहिले २०७९ असार मसान्त भित्र त्यस्ता क्रस होल्डिङ्ग भएका बैंक तथा वित्तिय संस्थाहरुलाई कसरी र कुन हिसाबमा गाभ्ने भन्ने खाका प्रस्तुत गर्ने समय दिएकाले त्यसले ती बैंक वित्तिय संस्थाहरुलाई केही सहुलियत प्राप्त भएको बताएका छन् । त्यस किसिमको गाभ्ने/गाभिने काम १ डेढ वर्ष पछाडी धकेलिएर जाने सम्भावना पनि बढेर गएको उनले बताए।  यसले बजारमा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक प्रभाव पर्न सक्ने पनि उनले आँकलन गरेका छन् । 

९. ९ सयले घट्याे सुनकाे भाउ, १५ रूपैयाँले घट्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ९ सयले घटेर प्रतिताेला ९२ हजार २ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको