Like us!
Follow us!
Connect us!
Watch us!

दिपेन्द्र अग्रवालले सँधै फाइनान्स रोज्नुमा ३ वटा मुख्य कारण,एनएमबि बैंकको लाभांश पारित

अर्थ संसार

विहीबार, २२ पुस २०७८, २० : ४४ मा प्रकाशित

आज (पौष २२ गते, बिहिबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. गरिमा विकास बैंकको लाभांश घोषणा, १६ प्रतिशत बोनस दिने

गरिमा विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेको छ  । बैंकको आज (पौष २२ गते, बिहिबार) बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. एशियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ करोड ८० लाख रूपैयाँ बराबरकाे ११ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाैष ११ गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

३. हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ६.६५ प्रतिशत बोनस

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो (पौष २१ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । 

४. एकैदिनमा ३० अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एक दिनमै ३० अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलनमा आक्रामक बन्न थालेपछि सिडी रेसियाे पनि सुधार हुँदै गएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते बैंकहरूकाे निक्षेप ४२ खर्ब ४७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ३० अर्बले बढेकाे हाे । निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब १९ अर्ब पुगेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.८२ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । 

५. एक सातामै १६७ अंकले बढ्याे नेप्से परिसूचक

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । यस साताभरमा नेप्से परिसूचक १६६.९७ अंकले बढेकाे छ । गत साता २५२४.५० विन्दुमा बन्द भएकाे सेयर बजार याे साताकाे अन्तिम दिनसम्म आइपुग्दा २६९२.४७ विन्दुमा पुगेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेकाे छ । नेप्से १.६३ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ९.१६ अंकले बढेर ५०६.१६ विन्दुमा पुगेको छ । कूल २३८ वटा कम्पनीकाे ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार र उत्पादन तथा प्रशाेधन उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर बढेको छ । बिहीबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ३७ लाख ६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड र मध्यभाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन नेपाल बङ्गलादेश बैंककाे डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त ॠणपत्रकाे मूल्य ३.५३ प्रतिशतले घटेर एक हजार ४० रूपैयाँमा झरेकाे छ । 

६. तरलता सहज हुँदै, बैंकहरुले फटाफट कर्जा दिन थाले !

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता सहज हुन थालेसँगै बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरेका छन् । यसअघि धेरै बैंक तथा वित्तिय संस्थाहरुले थप ऋण प्रवाह गर्न सक्ने अवस्था नभएको भन्दै कर्जाको माग गर्दै आउने ग्राहकहरुलाई फिर्ता पठाइदिएका थिए। तर अहिले वित्तिय प्रणालीमा तरलता थपिँदै गर्दा बैंक वित्तिय संस्थाहरुले नयाँ कर्जा प्रवाह गर्न सुरु गरिसकेका छन् ।  'यस अघि सिडी रेसियो ९० भन्दा माथि गैसकेपछि हामीले थप कर्जा प्रवाह रोकेका थियौं, अहिले सिडी रेसियो ९० प्रतिशतभन्दा तल आइसकेको अवस्थामा नयाँ कर्जा दिन सुरु गरिसकेका छौं। ' एक कमर्सियल बैंकका उच्च अधिकारीले अर्थ संसारलाई बताए।   

७. एनएमबि बैंकको साधारण सभा सम्पन्न, १५.८ प्रतिशत लाभांश पारित

एनएमबि बैंक लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज पौष २२ गते आर्मि अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भएकाे छ । सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

८. दिपेन्द्र अग्रवालले सँधै फाइनान्स रोज्नुमा ३ वटा मुख्य कारण

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले प्राय जसाे सँधै फाइनान्स कम्पनीलाई जाेड दिने गर्दछन् । आफ्नो पोर्टफोलियोमा ६० देखि ७० प्रतिशतसम्म फाइनान्स कम्पनीहरू रहेको उनी बताउँछन् । आफूले लगानीकर्ताहरूलाई फाइनान्स कम्पनीहरू किन्न अनुरोध गर्नुमा २-३ वटा मुख्य कुरा रहेको उनले बताए । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्ने क्रममा उनले भने, "मैले सँधै फाइनान्स भन्नुमा २-३ वटा मुख्य कारणहरू छन् । पहिलाे भनेकाे डिमान्ड एण्ड सप्लाईकाे कुरा हाे । फाइनान्स कम्पनीहरूमा सप्लाई कम छ, डिमाण्ड धेरै छ । दाेश्राे कारण भनेकाे सबै फाइनान्स कम्पनीहरूकाे चुक्ता पूँजीलाई मिलाउँदा पनि जम्मा ११ अर्ब ६० कराेड हुन्छ । जुन चाँही एउटा वाणिज्य बैंक भन्दा पनि कम्ति छ । एउटा वाणिज्य बैंक उचाल्नु र सबै फाइनान्स कम्पनीहरू उचाल्नु दुबै बराबर छ । तेश्राे कारण फाइनान्सहरूकाे प्रस्तुती राम्राे हुनु हाे । सेयर बजार राम्राे हुँदा फाइनान्स कम्पनीहरूलाई पनि राम्राे हुन्छ । उनीहरूकाे ईपीएस बढेकाे छ । फाइनान्स कम्पनीहरू संस्थागत सुशासनमा पनि अगाडि दौडिएका छन् । हाइड्राेकाे तुलनामा फाइनान्स कम्पनीहरूकाे लाभांश क्षमता पनि राम्राे छ । त्यसैले म सँधै फाइनान्स कम्पनी राेज्ने गर्दछु ।"

९. ५ सयले घट्याे सुनकाे भाउ, २५ रूपैयाँले घट्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य पनि ताेलामा २५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ३५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको