Like us!
Follow us!
Connect us!
Watch us!

सबै विश्लेषकहरुको एउटै स्वर: अब बजार बढ्ने नै हो !

अर्थ संसार

शनिबार, २४ पुस २०७८, १२ : ३९ मा प्रकाशित

सबै विश्लेषकहरुको एउटै स्वर: अब बजार बढ्ने नै हो !

करिब ५ महिनाको अवधिमै नेप्से परिसूचक ३२२५ को बिन्दुबाट २२५५ को बिन्दुसम्म झर्यो। प्रतिशतको हिसाबमा यो घटाई करिब ३०% को थियो। छोटो समयमै बजार ३० प्रतिशत भन्दा बढीले खस्नु भनेको धेरै नै खस्नु हो। बजार २२५५ को बिन्दुसम्म झरेर लय समात्दै २७०० को नजिक नजिक आइपुगेको छ। यो अवस्थामा अब के गर्ने भन्ने कुरामा धेरै लगानीकर्ताहरुमा द्विविधा देखिन्छ।  कतिपय लगानीकर्ताहरु अहिलेको बजार उचालिएको र अझै एक चरण बजार घट्ने विचार व्यक्त गरिरहेका छन भने कतिपयले चाहिँ बजार धेरै नै घटेर माथि चढ्दै गरेको हुँदा अब बजार नघट्ने बरु पहिलाको हाई लाइ ब्रेक गरेर माथि जाने विचार व्यक्त गर्दछन्।  

यहि प्रसंगमा अबको नेप्सेको यात्रा कस्तो रहने भन्ने विषयमा आजको शनिवार विशेष शृंखलामा  हामीले चर्चित प्राविधिक विश्लेषकहरु, आधारभूत विश्लेषकहरु र लगानीकर्ताका नेताका विचारहरु पस्किने जमर्को गरेका छौं। 

परशुराम कुँवर क्षेत्री , अनुभवी बैंकर तथा विश्लेषक 

सफल तथा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीले वातावरण बिस्तारै सहज हुँदै जाँदा त्यसले सेयर बजारमा पनि सकारात्मक असर पार्ने बताएका छन।  सरकारले गर्ने पुँजीगत खर्च बढ्दै गएको र आउने महिनाहरुमा थप बढ्न सक्ने हुँदा त्यसले अहिले देखिएको तरलता संकुचनको अवस्था बिस्तारै समाधान हुँदै जाने देखिएको बताउँदै उनले भने, 'तरलता फालाफाल नै त नहोला तर अहिलेको यो कठिन परिस्थितिबाट चाहिँ हामी छिट्टै सहजता तर्फ जाँदैछौं।'

'तत्काल सेयर बजार कस्तो होला भन्ने कुरा त प्राविधिक विश्लेषक साथीहरुले अझ राम्ररी भन्न सक्नुहोला तर अर्थतन्त्रको अवस्था तथा अन्य वातावरणको विश्लेषण गरेर हामीले भन्नु पर्दा चाहिँ अर्थतन्त्रमा अहिले केहि समयका लागि देखिएको  समस्या समाधान भई अर्थतन्त्र सहज रुपमा चलायमान हुँदै जाँदा त्यसले दिर्घकालमा सेयर बजारमा सकारात्मक नै असर पार्ने देखिन्छ। ' उनले थपे। 

पुष महिना सकिन लाग्दै गर्दा माघ महिनामा बैंकहरुले व्याजदर बढाउलान कि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले भने, 'तरलता संकट उत्कर्षमा पुग्दै गर्दा पुष महिनामा त बैंकहरुले व्याजदर बढाएनन , अब तरलता सहज हुँदै गएको अवस्थामा माघ महिनामा व्याजदर बढाउलान जस्तो मलाई लाग्दैन।  कस्ट अफ फन्ड घटाउन बरु घटाउनलान कि ?' 

तुलसी राम ढकाल ,अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जुन बेलामा बजार घट्नु पर्ने थिएन त्यो बेलामा बजार अस्वाभाविक रुपमा घटेको भन्दै अब आउने हप्ताहरुमा बजार बढेर नै जाने कुरामा दुइमत नरहेको बताए। 'कात्तिक /मंसिर ताका खासै बजार घट्नु पर्ने थिएन तर घटेर २२६० सम्म आयो।  विगतका वर्षहरुमा विभिन्न कारणहरुले पुष महिनामा चाहिँ बजार अलिकति घट्ने गरेको थियो।  तर यो पालि मंसिरमै बजार घटिसकेको हुनाले पुष मसान्तताका बजार घटेन।  यो बेलामा पनि बजार नघट्नुको मतलब के हो भने अब माघ महिनामा बजार बढ्ने हो, यसमा दुइमत नै छैन।  अब यसका आधारहरु के छन भन्ने कुरामा तरलता बिस्तारै सहज हुँदै छ; यसअघि २/५ लाख कर्जा पनि प्रवाह गर्न नसक्ने अवस्थामा रहेका बैंक/वित्तिय संस्थाहरु पनि विस्तारै नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा पुग्दै छन।' उनले भने।   

बजार बढ्दै गर्दा कारोबार रकमले खासै साथ दिएको देखिएन नि भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै  उनले यो समयमा ३/४ अर्बको कारोबार हुनु पनि आफैमा सकारात्मक कुरा रहेको बताएका छन।  'पुष मसान्त भन्ने बित्तिकै लगानीकर्ताले व्याज तिर्ने बेला हो , लोन तिर्ने बेला हो। पुष मसान्त भनेको लगानीकर्ताले सेयर बेचेर भएपनि  व्याज/ऋण  तिर्नुपर्ने बाध्यात्मक  समय हो।  यस्तो समयमा पनि जुन किसिमको उत्साह बजारमा देखिएको छ, यसले बजार अब माथि नै जाने आधार प्रदान गरेको छ।  अनि अर्को कुरा अहिले नेप्से इन्डेक्स तलै रहँदा जुन ३/४ अर्बको कारोबार भएको छ त्यो भनेको नेप्से इन्डेक्स माथि रहँदा ६/७ अर्बको कारोबार भए बराबर हो।  सेयर कित्ता त घटेको छैन नि, बरु सेयर सस्तो हुँदा रकम थोरै देखिएको हो। ' थप स्पष्ट पार्दै उनले भने।  

बिष्णु प्रसाद बस्याल, प्राविधिक विश्लेषक 

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले बजारमा अन्तिम समय बन्दै गएको ट्रेन्ड हेर्दा अबको १ महिना भित्रमा नेप्सेले ३२०० को बिन्दुलाई क्रस गर्ने सम्भावना बढेर गएको बताएका छन। 'बजार ३२०० नपुगी खासै ठुलो करेक्सन आउने सम्भावना देखिदैन, ३२०० को बिन्दुसम्म पुग्न १ देखि बढीमा २ महिनासम्म लाग्न सक्ने सम्भावना देखेको छु', उनले थपे।  

बजारमा सानातिना करेक्सन आउन सक्ने तर यो पटक ३१०० देखि ३२०० को बिन्दुमा नपुगेसम्म बजार सिग्नीफिकेन्ट रुपमा घट्ने सम्भावना देखिदैन भन्दै उनले अहिले इलिअट वेभ एनालाइसिस अनुसार बजार अप्वार्ड मुभमै रहेको बताए। 

सन्दिप कुमार चौधरी, प्राविधिक विश्लेषक 

प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले बजार अप ट्रेण्डमा लागिसकेको र बीच बीचमा सानातिना करेक्सनहरु आए तापनि बजारको यात्रा माथितिरकै हुने बताएका छन।  बजारले २२६० कै बिन्दुमा बटम लगाइसकेको भनेर आफुले यसअघि नै भनिसकेको बताउँदै उनले बजारमा अब आउने एउटा सानो करेक्सनले हाइयर लो बनाउने र त्यसपछि बजार एक्स्ट्रिम अप्वार्ड जान सक्ने सम्भावना देखिएको बताएका छन।  

बजार बढ्ने क्रममा बढेको बढेकै नहुने, बीच बीचमा करेक्सनहरु आउंदै बढेको बजार नै दिगो रुपमा अघि बढ्ने भन्दै उनले अहिले टेक्निकल इण्डिकेटरहरुले बजार सकारात्मक लयमै रहेको देखाईरहेको बताउँदै आउने समय लगानीकर्ताहरुका लागि सुखद रहने बताए। 

सेयर बजारमा मेरो अनुमान १००% मिल्यो । माघ लागेपछि हरि ढकालको यस्तो अनुमान ! 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको