Like us!
Follow us!
Connect us!
Watch us!

बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा रोक लगाउने (आजको आर्थिक समाचार)

अर्थ संसार

सोमबार, २६ पुस २०७८, २० : ५६ मा प्रकाशित

१. तरलतामा सुधारको संकेत, निक्षेप संकलन बढ्दा ओरालो लाग्दै सीडी रेसियो

बैंकहरूको निक्षेप संकलन एक सातामा ५९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । पौष १६ गते बैंकहरूको निक्षेप ४८ खर्ब १८ अर्ब रूपैयाँ रहेको मा एक सतामा बैंकहरूको निक्षेप ५९ अर्बले बढेर पौष २३ गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । यो एक सातामा बैंकहरूको कर्जा लगानी ८ अर्बले बढेर ४६ खर्ब २५ अर्ब पुगेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८९.२९ मा झरेको राष्ट्र बैंकले जनाएको छ । 

२. प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन हुने, नगदमा भन्दा बोनसमा जोड !

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश परिवर्तन हुने भएको छ  । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा (कर प्रयोजन बाहेक)  रोक लगाउने भएपछि कम्पनीको लाभांश परिवर्तन हुने भएको हो । समितिले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश वितरण गर्न नदिने निर्णय पनि गरिसकेको छ । उक्त कम्पनीले यसअघि नै गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । अहिले नगद लाभांशमा रोक लगाउने नीति ल्याउन लागेपछि समितिले आइतवार उक्त निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक पौडेलले प्रिमियर इन्स्योरेन्सलाई नगद लाभांश बाँड्न नदिनेगरी निर्णय भएको बताए ।

३. स्थगित महालक्ष्मी विकास बैंकको साधारण सभा माघ ३ गते हुने

गणपुरक संख्या नपुगेपछि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आगामी माघ ३ गते बिहान १० बजे बैंकको केन्द्रिय कार्यलय दरबारमार्ग, काठमाडौमा हुने भएको छ । सभाले बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

४. २८०० को बीन्दुलाई टेस्ट गर्दै दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा झिनो सुधार

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारमा सकारात्मक माहोले निरन्तरता पाएको छ ।  नप्सेमा आज पनि दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ । कूल २३६ वटा कम्पनीको एक करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ १३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको मात्र उपसूचक घटेको छ घने बाँकि सबै समूहको उपसूचक बढेको छ । सोमबार गोर्खाज् फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज १ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य पनि ९.९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । यस दिन प्रभु सेलेक्ट फण्ड को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर एक हजार ९.१७ रूपैयाँमा झरेको छ ।  

५. एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को प्रस्तावित लाभांश बिमा समितीबाट स्विकृत भएको छ  । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (नगद लाभांश कर सहित) गरी जम्मा २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

६. नेप्सेमा २ लाख ३३ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस बापतको २ लाख ३३ हजार १ सय ५१ कित्ता सेयर सूचिकृत भएको हो ।

७. गभर्नर अधिकारी भन्छन्, "सेयरबजार बढ्दा धेरै उत्साहित र कम हुँदा निराश हुनुपर्ने जरुरी छैन"

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयरबजार बढ्दा धेरै उत्साहित र कम हुँदा निराश हुनुपर्ने जरुरी नभएको बताए छन् । आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले लगानीयोग्य रकम (तरलता) अभाव रहेका कारण कर्जा तथा निक्षेपको ब्याजदर बढ्न सक्ने संकेत गरेका छन् । अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताएका हुन् । उनले असार मसान्तसम्म औसत ८ दशमलव ८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९ दशमलव १ प्रतिशत पुगेको बताए । 

८. डा. केशब श्रेष्ठ भन्छन्, “बजार बढ्ने आधारहरु धेरै छन तर लकडाउनको हल्लैले मात्र बढेको बजार दिगो नहुन सक्छ”

सेयर विश्लेषक केशब प्रसाद श्रेष्ठले अहिले बढेको बजार दिगो नहुन सक्ने सम्भावना रहेको बताएका छन।  अर्थसंसारसँग कुरा गर्दै उनले अर्थतन्त्रका अन्य इण्डिकेटरहरुमा खास सुधार नभईसकेको अहिलेकै अवस्थामा  सेयर बजार बढेर अल टाइम हाइलाइ ब्रेक गर्दै माथि जान्छ भन्ने कुरामा आफू विश्वस्त नभएको बताए। उनले भने, "बजार बढ्ने केहि आधार नै नभएका होइनन, आधारहरु छन। धितोपत्र बोर्ड र नेप्सको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ, त्यो एउटा सकारात्मक कुरा हो।  बैंक वित्तिय संस्थाहरुको व्याजदर पनि नबढ्ने कुराहरु आइरहेको छ त्यो पनि बजारको लागि सकारात्मक कुरा हो।  बिस्तारै तरलता सहज हुँदै गएको छ त्यसले पक्कै पनि सेयर बजारमा सकारात्मक नै असर पार्नेछ। तर यी सबै कुराहरु भैसकेका छैनन्।  बैंक वित्तिय संस्थाहरुले माघ महिनाको व्याजदर निर्धारण गरिसकेका छैनन्। बढाउँछन कि बढाउँदैनन् हेर्ने बाँकी छ।" 

९. लगानीकर्तालाई  संरक्षणा चौधरीको सुझाब, "पार्टी गर्ने ५/६ हजार पैसाले सेयर किन्दै जानुस”

पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले पार्टी गर्ने पैसाले सेयर किन्न सल्लाह दिएकी छन ।  अर्थसंसार डट कमको कार्यक्रम मार्केट प्रेसक्रिप्सनमा बोल्दै उनले अनावश्यक रुपमा खर्च गरिने ५/६ हजार पैसाले हाइड्रोपावरको १० कित्ता सेयर किन्न सकिने र सो १० कित्ताले भविष्यमा दिने प्रतिफल आकर्षक हुने बताइ ।  सेयर बजार आफ्नो अल टाइम हाइ भन्दा धेरै खसिसकेको भन्दै उनले  अहिलेको समय  सेयर बजारमा प्रवेश गर्न उपयुक्त भएको  बताइन। 

१०.  ३ सयले घट्यो सुनको भाउ, ५ रुपैयाँले घट्यो चाँदी

सोमबार सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।  चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको