Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता, ५ महिना पछि नेप्सेको चार्टमा RSI ७० माथि

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, २० : ३९ मा प्रकाशित

आज (पाैष २७ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. अर्थमन्त्री जनादर्न शर्माको दावी "तरलताको अभाव १ महीनाभित्र समाधान हुन्छ"

अर्थमन्त्री जनार्दन शर्माले विद्यमान तरलताको अभाव १ महीनाभित्र समाधान हुने बताएका छन् । बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने उनले दाबी गरेका हुन् । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजस्तो संकट आइसकेको छैन,’ मन्त्री शर्माले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’ उनका अनुसार कोभिड–१९ का कारण २ वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको हो । बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन समेत उनले आग्रह गरेका छन् ।

२. नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय थप, अब माघ १२ गतेसम्म भर्न पाइने 

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । बैंकको हकप्रदमा अब माघ १२ गतेसम्म आवेदन दिन पाइनेछ ।  बैंकले पाैष ७ गतेबाट १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बैंकको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

३. प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित, नाफा परिवर्तन हुनसक्ने

प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको पाैष ३० गते, शुक्रबार हुने भनिएकाे साधारण सभा स्थगित भएको छ । कम्पनीको हिजाे (पौष २६ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले बढ्दो कोभिड-१९ को महामारी एवं कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनपछिको खुद नाफामा परिवर्तन हुनसक्ने अवस्था सृजना भएको समेत प्राविधिक कारणले गर्दा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरेकाे हाे । कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

४. जानकी फाइनान्सले गर्याे लाभांश घाेषणा, १५ प्रतिशत बाेनस दिने

जानकी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे पाैष २७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

५. सेयर बजारमा राैनकता कायमै, फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

आज (मंगलबार) पनि सेयर बजारमा राैनकता कायमै छ । नेप्से परिसूचक झण्डै अर्धसतकले बढेकाे छ । बढेकाे बजारमा फाइनान्स कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै फाइनान्स उपसमूह बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेकाे छ । नेप्से १.७७ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ विन्दुमा पुगेको छ । कूल २३२ वटा कम्पनीकाे एक कराेड १९ लाख ७० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रूपैयाँ ५१ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधनबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ६.१५ प्रतिशतले बढेकाे छ । मंगलबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ८३ लाख २२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पाेखरा फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.५२ प्रतिशतले घटेर एक हजार एक सय ७७ रूपैयाँमा झरेकाे छ । 

६. ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले यस्ताे आग्रह गरेका हुन् । उनले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न अनुरोध गर्दै जसरी पनि खर्च बढाउन आग्रह गरेका छन् । पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले पछिल्लाे समय अन्य मन्त्रालयहरूलाई ताकेता गर्दै आइरहेको छ ।  

७. युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

 युनियन हाइड्रोपावर कम्पनी लिमिटेडकाे १५औं वार्षिक साधारण सभा आज (मंगलबार) कम्पनीकाे केन्द्रिय कार्यालय धोबीघाट ललितपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएकाे छ । 

८. ५ महिना पछि नेप्सेको चार्टमा RSI ७० माथि, बजारले अझै माथिको यात्रा तय गर्न सक्ने संकेत

नेप्सेको चार्टमा डेली बेसिसमा करिब ५ महिना पछि RSI ७० को लेभलभन्दा माथि गएको छ।  यसअघि १९ अगस्ट  २०२१ मा नेप्सेले अल टाइम हाइ बनाएकै दिनबाट नेप्सेको डेली चार्टमा RSI ७० भन्दा तल झरेको थियो।  त्यसपछि बजार घट्दो क्रममा गयो र विभिन्न चरणका उतार चढावहरु आउँदै नेप्से २२६० को हाराहारीसम्म झर्यो।  २२६० को विन्दुबाट उकालो लाग्न थालेको नेप्से बढ्दै गएर आज २८०० भन्दा माथि गएको छ। यसरी नेप्सेले २८४५ को बिन्दुलाई क्रस गर्दै गर्दा नेप्सेको चार्टमा RSI ७० को लेभलभन्दा माथि गएको हो। RSI ६० भन्दा माथि रहनुलाई ट्रेडिङ्ग जोन मानिन्छ भने RSI ७० माथि रहनुलाई स्ट्रंग ट्रेडिङ्ग जोन मानिन्छ।  बजारमा बायर साइड हावी हुँदै गई लगानीकर्तामा बायिंग मेण्टालिटि एकदम बलियो बनेको अवस्थामा RSI ७० भन्दा माथि जाने गर्दछ।  यसले बजारले अझै माथिको यात्रा तय गर्न सक्ने संकेत गर्दछ।   

९. हरि ढकाल भन्छन्, “बजार घट्दा आन्दोलित हुने लगानीकर्ताहरुको पुरानै रोग हो”

नेपाली सेयर बजारका चर्चीत लगानीकर्ताहरु हरी ढकालले बजार घट्दा आन्दोलित हुने लगानीकर्ताहरुको पुरानै रोग रहेकाे बताएका छन् । अर्थ संसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्ने क्रममा बजार घट्दा आन्दोलनमा जाने लगानीकर्ताहरु बजार बढेको बेला बजार सुधारको कुरा किन बिर्सिन्छन् होला भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै उनले भने, ' यो लगानीकर्ताहरुको पुरानो रोग हो।  घट्न थाल्यो भने आक्रोशित भैहाल्ने, २/५ दिन हरियो भयो भने चुप लागेर बस्ने। नेपालका लगानीकर्ताहरु जति अधैर्य लगानीकर्ता मैले कतै देखेको छैन। '

१०. ३ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९१ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ३० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको