Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुट्याे,नेपाल बङ्गलादेशको काराेबार राेक्का+ अन्य समाचार

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०७ : १० मा प्रकाशित

हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुट्याे,नेपाल बङ्गलादेशको काराेबार राेक्का+ अन्य समाचार

पौष ३० गते, शुक्रबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. प्रभु इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, ११ प्रतिशत बोनस दिने

प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे हिजाे (पाैष २९ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. बैंकहरूले बढाएनन् निक्षेपकाे ब्याजदर

बैंकहरूले विभिन्न खातामा भाेलि (माघ १ गते शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर हेर्दा माघ महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छैनन् । प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी अवधिकाे लागि व्यक्तिगतमा अधिकतम १०.०५ प्रतिशतसम्म र संस्थागतमा ९.०५ प्रतिशतसम्मकाे ब्याजदरलाई नै निरन्तरता दिएका छन्। बैंकर्स संघकाे सहमति अनुसार बैंकहरूले यसअघि पाैष महिनामा पनि मंसिर महिनाकाे ब्याजदरलाई नै निरन्तरता दिएका थिए । बैंकहरूले अहिले पनि ब्याजदर यथावत राखेका हुन् ।

३. हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया टुट्याे, राष्ट्र बैंकले कारबाही गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर टुटेकाे छ । हिमालयन बैंक लिमिटेडकाे आज पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे छ । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे हाे । विवादपछि मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो । मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४ सय १० आएको थियो । यसमा मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट र विपक्षमा ४२.२९ प्रतिशत भोट आएको थियो । मर्जर गर्ने भए ७५ प्रतिशत मत पक्षमा आउनु पर्दथ्याे । त्यसाे नहुँदा मर्जर भाँडिएको छ। अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यी दुई बैंकलाई तीन वर्षसम्म लाभांश वितरणमा रोक लगाउनेदेखि, साखा सञ्जाल विस्तार र राष्ट्र बैंकबाट पाउने अन्य सेवा सुविधाबाट समेत दुबै बैंकलाई बञ्चित गराउने सम्मको निर्णय हुन सक्ने बताइएको छ ।

४. नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच मर्जरकाे प्रारम्भिक सम्झौता, नेपाल बङ्गलादेश बैंकको सेयर काराेबार राेक्का

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच हिजाे (पाैष २९ गते, बिहीबार) एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।  सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती  गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदान प्रदान अनुपात  कायम भएको छ । सम्झाैता पत्रमा हस्ताक्षर भएसँगै बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार आज (पाैष ३० गते, शुक्रबार) बाट राेक्का राखिएकाे छ ।

५. ग्रीनलाईफ हाइड्रोपावरले डाक्याे साधारण सभा, माघ ९ गते बुकक्लाेज

ग्रीनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे पाैष ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे बाह्राैँ वार्षिक साधारण सभा माघ २१ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको बैठक भत्ता सिफारिस गर्ने, कम्पनीको संस्थापक समूह "क" बाट ५ जना तथा सर्वसाधारण समूह "ख" बाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि माघ ९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले माघ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

६. हिमालयन पावर पार्टनरकाे साधारण सभा सम्पन्न, लाभांश बीनाकाे अन्तिम एजीएम भएकाे घाेषणा

हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ । वार्षिक साधारण सभामा बाेल्दै कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले लाभांश बीनाकाे याे नै अन्तिम वार्षिक साधारण सभा रहेकाे घाेषणा गरेका छन् । अर्काे वर्षदेखि आफ्ना शेयरधनीहरूको हात खाली नबनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 
सभामा संस्थापक शेयरधनीका तर्फबाट जीवनाथ लामिछाने, चन्द्र प्रसाद ढकाल, पशुपती भण्डारी र गुरू प्रसाद ढकाल निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा डा. हेमन्त कुमार दवाडी नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारणका तर्फबाट अम्बिका प्रसाद पाैडेल र दीवाकर पाैडेल निर्वाचित भएका छन् । 

७. वोमी र सूर्योदय लघुवित्तबीच मर्जरकाे अन्तिम सम्झाैता

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेबीच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि अन्तिम सम्झाैता भएकाे छ । यी दुई संस्थाबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमाेजिम गाभ्न/गाभिनका लागि हिजाे (पाैष २९ गते, बिहीबार) अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएकाे संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

८. छ्याङ्दी हाइड्रोपावरको साधारण सभा सम्पन्न, पुन : ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ । कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे वार्षिक साधारण सभाले फेरि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । सभाले कम्पनीकाे अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्रमा संशाेधन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

९. पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३० कराेड ९९ लाख ७४ हजार रूपैयाँ बराबरकाे ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्कासन गर्न पाैष २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

१०. सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्वाचित गर्दै मैलुङ खोला जलविद्युतकाे साधारण सभा सम्पन्न

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा, आज (पाैष ३० गते, शुक्रबार) लैनचाैर ब्याङ्क्वेट्स, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. विरेन्द्र प्रसाद महताेद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गरिएकाे छ । सभामा सर्वसाधारण शेयरधनी समूहकाे तर्फबाट २ जना सञ्चालककाे निर्वाचन गरिएकाे छ । डा. सुनिल पाेखरेल र रघुनाथ कुँइकेल निर्वाचित भएका हुन् ।

११. २ सयले बढ्याे सुनकाे भाउ, ५ रूपैयाँले बढ्याे चाँदी

शुक्रबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ६० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको