Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफको आकर्षक लाभांश, अर्थतन्त्र संकटको पूर्व अवस्थामा +अन्य समाचार

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १९ : ५५ मा प्रकाशित

आज (माघ १३ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. नेशनल लाइफले गर्याे आकर्षक लाभांश घाेषणा, १९ प्रतिशत बाेनस दिने

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे हिजाे (माघ १२ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. शिखर इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, माघ २० गतेसम्म कायम हुनेले हकप्रद भर्न पाउने

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

३. लाभांश पारित गर्न ज्योति लाईफले डाक्याे साधारण सभा, माघ २४ गते बुकक्लोज 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।  । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २३ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

४. सेयर बजारको ओरालो यात्रामा ब्रेक, पाचाैँ काराेबार दिनमा बढ्याे नेप्से परिसूचक

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस साताकाे पहिलाे काराेबार दिन आइतबारदेखि नै निरन्तर घटिरहेकाे सेयर बजारले आज भने उकालाे यात्रा तय गरेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.१२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ । कूल २२४ वटा कम्पनीकाे ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ । बिहीबार नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बिहीबार २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । विन नेपाल लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३८ रूपैयाँ २० पैसा पुगेकाे छ । बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ९ रूपैयाँ ५० पैसा पुगेकाे छ । आज सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रूपैयाँ १० पैसामा झरेकाे छ ।

५. सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न शिखर इन्स्योरेन्सको आग्रह

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक र आधारभुत शेयरधनीलाई हकप्रदको पैसा जम्मा गर्न अनुराेध गरेकाे छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुल्ला गर्नु पूर्व धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, को निर्देशन नं. १२(४) बमोजिम सञ्चालक लगायत आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था रहेको हुनाले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन ५ गतेभित्र जम्मा गर्न अनुराेध गरेकाे हाे ।

६. डिप्रोक्स लघुवित्तको नाफा बढ्यो, ईपीएस घट्यो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले  ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३२ करोड ४० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७.७९ प्रतिशतले बढेर ७१ करोड ३० लाख १८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर ४७ करोड २९ लाख ९९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो । संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) १६ रूपैयाँले घटेर ४८ रुपैयाँ २१ पैसामा झरेकाे छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २ पैसा रहेको छ ।

७. जानकी फाइनान्सको नाफामा उछाल, ११ रूपैयाँ पुग्यो ईपीएस

जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी ३ करोड ३० लाख ४५ हजार रूपैयाँ खुद नोक्सानी थियो। समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी पनि ६५.२९ प्रतिशतले बढेर ९ करोड ५१ लाख ७४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी ५ करोड ७५ लाख ७७ हजार रूपैयाँमा सिमित रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा बढेर ४ करोड २७ लाख ५१ हजार रूपैयाँमा पुगेको छ । गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ३ करोड ४५ लाख ८७ हजार रूपैयाँ ऋणात्मक थियो । कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ५४ लाख ९४ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६१ पैसा रहेको छ । 

८. पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन्, ‘अर्थतन्त्र संकटको पूर्व अवस्थामा, कुर्सी बचाउन अर्थमन्त्रीले अर्थतन्त्र सामान्य भने’

पूर्व अर्थमन्त्री एबं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले आफू कुर्सीमा बसेको बेला अर्थतन्त्र नकारात्मक अवस्थामा छ भनेर भन्दा कुर्सीबाट हट्नु पर्छ की भनेर सबै सामान्य छ भनेको हुनसक्ने बताएका छन् । अर्थसंसार डटकमको साप्ताहिक कार्यक्रम अर्थसंसार टकको कुराकानीमा उनले भने “अर्थमन्त्रीको कुर्सीमा बस्दा अब सबै खराब छ भन्यो भने त कुर्सी छोड्नु पर्छ, त्यसैले पनि उहाँले सबै सही छ भन्नु भएको होला तर उहाँले नै सार्वजनिक गर्नुभएको तथ्यले त त्यस्तो भन्दैन पुस मसान्तसम्ममा पूँजीगत खर्च जम्मा १३ प्रतिशत मात्र भएको छ विगतमा कम्तीमा पनि ३० प्रतिशत क्रस गर्थ्यो अर्थतन्त्रका अरु इन्डिकेटरहरु पनि सही देखिँदैनन् अब यही इन्डिकेटरहरु बोकेर अर्थमन्त्रीले अर्थतन्त्र सही छ भनेर त भन्नु नपर्ने हो तर उहाँ भनिरहनु भएको छ सरकारको हिसाबले भन्न नमिले नभन्नु भएको होला तर म बाहिर छु मैले सबै तथ्यहरु हेर्दा अर्थतन्त्रमा केही संकटमा जाने देखिरहेको छु” । 

९. ९ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ९ सय रूपैयाँले घटेर प्रतिताेला ९३ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ९० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको