Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंककाे उच्च लाभांश क्षमता, २ बीमा कम्पनीकाे लाभांश घाेषणा + अन्य समाचार

अर्थ संसार

आइतबार, १६ माघ २०७८, ०७ : ५० मा प्रकाशित

साताभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. नेप्सेमा १५२ अंककाे गिरावट, २ खर्ब १३ अर्बले घट्याे लगानीकर्ताकाे सम्पत्ती

यस साता नेप्से परिसूचक १५१.३३ अंकले घटेर २७७९.९३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक २९३१.२६ विन्दुमा थियो । यस साताकाे ५ काराेबार दिनमा नेप्सेमा एक दिन मात्र सामान्य सुधार देखिएकाे थियाे भने बाँकी ४ दिन नेप्सेले ओरालाे यात्रा तय गरेकाे थियाे । ४ दिनकाे अवधिमा नेप्से १५१.३३ अंकले घटेकाे हाे । बजार पुँजीकरणको कुरा गर्नुपर्दा याे साता लगानीकर्ताकाे सम्पत्ती २ खर्ब १३ अर्बले घटेर ३९ खर्ब २८ अर्बमा झरेकाे छ । गत साता बजार पुँजीकरण ४१ खर्ब ४२ अर्ब रहेकाे थियाे ।

२. २ बीमा कम्पनीकाे लाभांश घाेषणा

यस साता २ वटा बीमा कम्पनीले लाभांश घाेषणा गरेका छन् । नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा भएकाे हाे । नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । त्यसैगरी, एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

३. हकप्रद अनुमतिको पर्खाइमा अपि पावर र नेपाल फाइनान्स

लामो समय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहिन हुँदा रोकिएको हकप्रद र आईपीआको अनुमति प्रक्रिया पुनः सुरु भएको छ । अध्यक्षको निलम्बन पछि बोर्डले हालसम्म विभिन्न ६ वटा कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिइसकेकाे छ भने बाँकी २ कम्पनी सेबोनको पाइपलाईनमा छन् । धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानाको बहिर्गमन पछि नारायणी डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, छ्याङ्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका हुन् । ६ कम्पनीले हकप्रद निष्काशनको अनुमति पाइसकेपछि अब नेपाल फाइनान्स र अपि पावर कम्पनी लिमिटेड आईपिओ निष्काशनको अनुमतिको पर्खाइमा रहेका छन् । यी दुबै कम्पनीहरु धितोपत्र बोर्डबाट गरिएको कमेन्टको रिप्लाई पनि बुझाइसकेका छन् । अब कम्पनीबाट आएको रिप्लाई हेरेर सबै प्रक्रिया पुगेको छिट्टै हकप्रदको अनुमति प्रदान गरिने बोर्डले जनाएको छ । अपि पावर कम्पनीको आयोजना निर्माण स्थलमा बोर्डको टोली पुगेर अनुगमन समेत गरेर फर्किसकेको छ अब सबै प्रक्रिया पुरा गरी कम्पनीले छिट्टै हकप्रदको अनुमति पाउनेछ । कम्पनीले १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते सेबोनमा निवेदन पेश गरेको हो । त्यस्तै नेपाल फाइनान्स कम्पनी लिमिटेडले पनि धितोपत्र बोर्डले दिएको कमेन्टको जवाफ पुस ५ गते नै बोर्डलाई बुझाइसकेको छ अब कम्पनीले बुझाइको जबाफको आवश्यक अध्यन गरी बोर्डले फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिनेछ । कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको हो । 

४. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार  रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर याे साता नेप्सेमा सूचिकृत भएको हो ।

५. ४ महिनापछि लगानीकर्तालाई लगानीको अवसर 

४ महिनापछि सर्वसाधारणहरूले फेरि आईपीओ भर्न पाउने भएका छन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २ सय २० कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् । 

६. दोस्रो त्रैमासकाे वित्तीय विवरण : वितरणयोग्य मुनाफामा एभरेष्ट बैंकको छलाङ, उच्च लाभांशकाे क्षमता 

नेपालका २७ वाणिज्य बैंकहरुमध्ये २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् । ती सबै बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीमा कति वितरणयोग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो एभरेष्ट बैंक देखिएको छ । समिक्षा अवधीसम्ममा बैकको वितरणयोग्य मुनाफा २ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार २७ वाणिज्य बैंकहरु मध्य ४ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा १ अर्बभन्दामाथि छ । तेस्तै यो अवधीमा सबैभन्दा कम वितरणयोग्य मुनाफा सनराइज बैंकको देखिन्छ । सनराइज बैंकको वितरणयोग्य मुनाफा दोस्रो त्रैमाससम्ममा ३० करोड ११ लाख रुपैयाँमा सीमित देखिन्छ । बैंकहरुको अहिलेको वितरणयोग्य नाफालाई नै हेरेर यो आर्थिक बर्षको मुनाफाबाट कति लाभांश दिन्छन् भन्ने अनुमान लगाउन नसकेपनि बिहानीले दिनको संकेत गर्छ भनेजस्तै बाँकी दिनहरुमा पनि बैंकले यही बमोजिको पर्फमेन्स गरेमा यीनै बैंकहरुले राम्रो लाभांश वितरण गर्नसक्ने अनुमान गर्न सकिन्छ । कम्पनीले लाभांश वितरण गर्दा वितरणयोग्य मुनाफाबाट मात्र भनई सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको