Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीगत खर्च गर्नू भनेर बारम्बार दबाब दिँदा राम्राे हुँदैन : अर्थमन्त्री शर्मा

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १५ : ३७ मा प्रकाशित

पूँजीगत खर्च गर्नू भनेर बारम्बार दबाब दिँदा राम्राे हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पूँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताएका हुन् ।

‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन’, मन्त्री शर्माले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए । यसैगरी, उनले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिएका छन् ।

जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्दै खर्च गर्न सकिने तथा नसकिने योजनाहरूको सूची बनाउन निर्देशन दिएका हुन् । खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उनले निर्देशन दिएका छन् ।

त्यस्तै, खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरूलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको