Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीलाई लाभांश वितरण गर्न कडाइ,सिडी रेसियो प्रभावित, थप ११ कम्पनी कारबाहीमा

अर्थ संसार

मंगलबार, १८ माघ २०७८, १९ : ११ मा प्रकाशित

१. लगानीकाे नयाँ अवसर, इमर्जिङ नेपालको आईपीओ माघ २६ गतेदेखि बजारमा आउने

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

२. सहकारीलाई लाभांश वितरण गर्न कडाइ

सहकारी विभागले सहकारी संघसंस्थालाई लाभांश वितरण तथा सेवा केन्द्र खोल्नका लागि कडाइ गर्ने भएको छ । सहकारी संघसंस्थाका लागि एकीकृत निर्देशनमार्फत संघीय सहकारी विभागले लाभांश वितरण, सेवाकेन्द्र स्थापना, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था र सहकारी ऐन तथा नियमावली कार्यान्वयनमा कडाइ गर्न लागेको हो । सहकारी ऐन २०७४ जारी भएपछि विभागले पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गर्न पाउने व्यवस्था गरेको छ ।

३. १३ प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी  ९ रुपैयाँ २६ पैसा

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.९० प्रतिशतले बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बीमा शुल्क पनि ९.१४ प्रतिशतले बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ८० करोड ८६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो । हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख २३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाबिपत्ति कोषमा १ करोड ७ लाख २० हजार रुपैयाँ सन्चित छ । समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ ।

४. नियम तोड्नेलाई धमाधम कारबाही गर्दै बीमा समिति, थप ११ कम्पनी कारबाहीमा

बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बीमा कम्पनीहरूलाई जरीवाना गर्ने निर्णय गरेकाे छ । समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा बीमा कम्पनीहरूलाई १० हजार रूपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको हाे । जरीवाना गरिएका बीमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।

५. नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, एनएचपीसी काराेबारमा अब्बल

आज (मंगलबार) सेयर बजारमा हरियाली देखिएकाे छ । आइतबार सतक भन्दा बढीले बढेकाे बजारमा हिजाे दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे ।आज फेरि बजारले उकालाे यात्रा तय गरेकाे हाे । नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि हिजाेकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेकाे छ । नेप्से ०.६७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० विन्दुमा पुगेकाे छ । कूल २२३ वटा कम्पनीकाे एक कराेड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ । मंगलबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३९ कराेड एक लाख ४१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय १८ रूपैयाँ १० पैसा पुगेकाे छ । यस्तै, बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ६ सय ७८ रूपैयाँ पुगेकाे छ । यस दिन नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय २० रूपैयाँमा झरेकाे छ । 

७. ३ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ३ अर्बले घटेकाे छ । बैंकहरू निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाे परेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । माघ १४ गते बैंकहरूकाे निक्षेप ४८ खर्ब ७२ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ३ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप २ अर्बले घटेर ४३ खर्ब ६ अर्बमा झरेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ६९ अर्बमा स्थिर रहेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.२९ प्रतिशतबाट बढेर ९०.३३ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

८. हाथवे इन्भेष्टमेन्टले आईएमई जनरलकाे २ लाख बढी कित्ता सेयर बेच्ने, बीमा समितिबाट पायो स्वीकृति

हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीकाे २ लाख ९ हजार ८ सय ९ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेकाे हाे । आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पाैष २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त सेयर बिक्रीका लागि अनुमति प्रदान गर्ने र साे सम्बन्धमा सम्बन्धमा कम्पनीको नियामक निकाय बीमा समितिमा स्वीकृतिका लागि पत्राचार गर्ने निर्णय भएकाे थियाे । बीमा समितिले माघ १६ गते सेयर बिक्री गर्न स्वीकृति प्रदान गरेकाे छ । बीमा समितिले ३ महिनाभित्र बिक्री कार्य सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएकाे छ । 

९. अर्थमन्त्री शर्मा भन्छन्, "पूँजीगत खर्च गर्नू भनेर बारम्बार दबाब दिँदा राम्राे हुँदैन"

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पूँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताएका हुन् । ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन’, मन्त्री शर्माले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर खर्च गर्नुपर्छ भनेर दबाबको रूपमा दबाब दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’ मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताए । यसैगरी, उनले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने/नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन दिएका छन् ।

१०. एक सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

मंगलबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९१ हजार ९ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि स्थिर रही प्रतिताेला एक हजार २ सय ४० रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको