Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सीईओलाई साउदको सुझाव, रविन्द्र भट्टराईको लगानी कला, वित्तीय विवरण +अन्य समाचार

अर्थ संसार

शनिबार, २२ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

आज माघ २१ गते, शुक्रबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजबाट खुल्यो, माघ २५ गतेसम्म भर्न पाइने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेराे सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।

२. आइएमई जनरल इन्स्योरेन्सले तोक्यो बुकक्लोज मिति, माघ २७ गतेसम्म कायम हुनेले हकप्रद भर्न पाउने

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे छ । कम्पनीले हकप्रद प्रयाेजनका लागि फागुन १ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीकाे ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

३. सूर्योदय लघुवित्तको नाफा ४४४.९३ प्रतिशतले बढ्दा ४३ रुपैयाँ नाघ्याे ईपीएस

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४४.९३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड १८ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ७६६.२० प्रतिशतले बढेर ४ करोड १० लाख ३२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ४७ लाख ३७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ५८ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

४.  रविन्द्र भट्टराई भन्छन्, "सेयरबाट मनग्य नाफा कमाउन कला चाहिन्छ"

चर्चित सेयर विश्लेषक डा. रविन्द्र भट्टराईले सेयर बजारबाट मनग्य कमाउने कला चाहिने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा सेयर लगानी कलाको बारेमा बोल्दै सेयर बजारबाट नाफा कमाउनु विज्ञान भन्दा पनि कला रहेको बताएका हुन् । समान रकम प्राप्त गरेका रामे र श्यामेमध्ये एउटाले दोब्बर बनाउनु र एउटाले त्यही पैसालाई उही समयमा आधा बनाउनु वा सबै सिध्याउनु पैसा व्यवस्थापन सम्बन्धी कला रहेको उनी बताउँछन् । उनका अनुसार सेयर बजारमा लगानीकर्ताका आ-आफ्नै कला हुन्छन् । उनले लेखेका छन्, "कसैले एउटै कम्पनी र त्यही बजारबाट मनग्ये पैसा कमाउनु र कसैले गुमाउनु कुनै विज्ञान हैन । यो एक प्रकारको कला नै हो । सबैका लागि समान अवसर प्रदान गर्ने सेयर बजारमा कोहिले मनग्ये कमाउनु, कोहिले गुमाउनु, कोहीले सन्तोषजनक अवस्थामा पैसा बनाउनु आफैमा एउटा कला हो । तर त्यहाँ प्रस्तुत हुने कलाकारहरुको प्रस्तुति फरक फरक हुन्छ जसका कारण कोहि निरन्तर राम्रो गरेर त्यसको मजा लिइ रहेका हुन्छन् । कोही राम्रो गरेर बाहिरिन्छन् भने कोही राम्रो गर्न नसकी निरास भएर निस्कन्छन् ।"

५. ११.९१ प्रतिशतले बढ्याे रैराङ हाइड्रोपावरको नाफा, ईपीएस २० रुपैयाँ ७१ पैसा

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड ७९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर १५ करोड ९९ लाख २७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १४ करोड ३९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर १४ करोड ३४ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ४१ लााख २५ हजार रूपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी ५६ कराेड रुपैयाँ र जगेडा कोषमा ६ करोड ८ लाख ९५ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११० रुपैयाँ ८७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २७.१८ गुणा रहेको छ ।

६. नेप्सेका नवनियुक्त सीईओलाई साउदको सुझाव : इन्साइडर ट्रेडिङ्ग रोक्न नेप्सेमा भएको संयन्त्र प्रयोग गर्नुहोस्

नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आफ्ना कार्यकालमा भएका कामहरुलाई मात्र अगाडी बढाए पनि त्यो सेयर बजारका लागि  निकै फलदायी हुने सुझाव नवनियुक्त सीईओलाई दिएका छन् । सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्ण बहादुर कार्कीलाई नियुक्त गरेसँगै नवनियुक्त सीईओले प्राथमिकताका साथ गर्नुपर्ने कार्यहरु के-के होलान भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै साउदले आम लगानीकर्ताहरुले नेप्सेले अहिले चाहीँ केही गर्यो है भन्ने अनुभूति दिलाउने तरिकाले काम गर्ने हो भने यतिबेला प्रसस्त अवसरहरु रहेको बताए। आफु नेप्सेमा छँदै इन्ट्रा डे ट्रेडिङ्ग र अप्सन ट्रेडिङ्ग को कार्यविधि तयार गरिसकेको र अब त्यसलाई संचालक समितिबाट पारित गराएर कार्यान्वन गर्न सकिने बताउँदै अहिले सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग नराम्ररी मौलाएको र त्यसलाई नियन्त्रण गर्न कुन प्लेयरले कताबाट कसरी प्ले गरिरहेको छ भन्ने थाहा पाउने संयन्त्र नेप्सेसँग भएको र सो संयन्त्रको प्रयोग गरि इन्साइडर ट्रेडिङ्गलाई नियन्त्रण गर्नुपर्ने उनले बताए । 

७.  हिमालय ऊर्जा नोक्सानमा, ईपीएससँगै अधिकांश सूचक ऋणात्मक

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी १ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ लाख १२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसैगरी, दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा अन्य स्रोतबाट ६९ हजार १ सय ५९ रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षकाे दाेश्राे त्रैमाससम्म आइपुग्दा घटेर २ हजार ७ सय ३४ रुपैयाँमा सीमित भएको छ । हाल कम्पनीकाे चुक्ता पूँजी ९९ कराेड रूपैयाँ रहँदा जगेडा कोष भने ८५ लाख २४ हजार रुपैयाँ ऋणात्मक रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०१४ पैसा ऋणात्मक रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ १४ पैसा रहेकाे छ । 

८. डिजिटल नेटवर्किङ व्यवसायमा संलग्न नहुन अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैसँग आग्रह गरेका छन् । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न समेत मन्त्री शर्माले आग्रह गरे । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् ।

९. ग्रीनलाईफ हाइड्रोपावरकाे साधारण सभा सम्पन्न

ग्रीनलाईफ हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा माघ २१ गते, शुक्रबार कम्पनीकाे केन्द्रिय कार्यालय, कमलपाेखरी, काठमाडाैँमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी सञ्चालक समितिले निर्णय गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट पाैष ५ मा नियुक्त भएका लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि.ए. छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिएका छन् । सभाले सञ्चालकहरुको पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको बैठक भत्ता सिफारिस गर्ने, कम्पनीको संस्थापक समूह "क" बाट ५ जना तथा सर्वसाधारण समूह "ख" बाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । 

१०. २ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

शुक्रबार सुनकाे मूल्य ताेलामा २ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर एक हजार २ सय ५० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको