Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफका लगानीकर्ता असन्तुष्ट, नयाँ आईपीओ, हकप्रद प्रस्ताव + अन्य समाचार

अर्थ संसार

आइतबार, २३ माघ २०७८, २१ : २६ मा प्रकाशित

आज (माघ २३ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. नेपाल लाइफले ह्वात्तै घटायाे लाभांश, लगानीकर्ता आक्राेसित 

नेपाल लाइफ इन्स्योन्स कम्पनी लिमिटेडले ह्वात्तै घटाएर आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले अपेक्षा गरिएको भन्दा एकदमै कम बोनस घोषणा गरेपछि लगानीकर्ताहरू आक्राेसित बनेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लगानीकर्ताहरूले गालीकाे ओइराे लगाएका छन् ।

२. अरूण भ्यालीले अरूण काबेलीको २२ लाख कित्ता बढी सेयर बेच्ने

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अरूण काबेली पावर कम्पनी लिमिटेडको सेयर बेच्ने भएको छ । कम्पनीले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराएको छ ।कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको जानकारी दिएको छ ।

३. पहिलाे चरणकाे आईपीओ फागुन २ गतेदेखि निष्कासन गर्दै ग्रीन भेन्चर्स, चैत्र १ गतेसम्म आवेदन दिन पाइने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलाे चरणमा जारी पूँजीको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले याे आईपीओ आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गा र रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेकाे हाे । आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले यस आईपीओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडाैँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडाैँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धाेबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलाे चरणकाे आईपीओ बाँडफाँड भएपछि दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । 

४. ४०.५७ अंकले घट्याे सेयर बजार : लगानीकर्ता पर्ख र हेरको अवस्थामा

आइतबार नेप्से परिसूचक उच्च अंकले घटेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि घटेकाे छ ।अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेकाे छ । नेप्से १.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले घटेर ५३१.९२ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीकाे एक कराेड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । यस दिन सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ । आज पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५४ कराेड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ७५ रूपैयाँ पुगेकाे छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ७ सय ६३ रूपैयाँ ३० पैसामा झरेकाे छ । लगातार सकारात्मक सर्किट लाग्दै आएकाे संस्थाकाे सेयरमूल्यमा आज भने नकारात्मक सर्किट लागेकाे हाे ।

५. एचआईडीसीएलकाे ३ कराेड ३० लाख कित्ता लिलामी सेयर फागुन १ गतेबाट खुल्ने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले यसअघि बिक्री नभएकाे सेयर पुन: लिलाम बढाबढ गरी फागुन १ गतेबाट बिक्री खुल्ला गर्ने भएकाे छ । कम्पनीकाे माघ २० गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेकाे थियाे ।लगानीकर्ताले फागुन १ गतेदेखि फागुन १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

६. पिपुल्स इन्भेष्टमेन्टले हकप्रद निष्कासन गर्ने, डाक्याे साधारण सभा

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा फागुन १८ गते, बुधबार, पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पूँजीको १:०.३० अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

७. २२ प्रतिशतले घट्यो सूर्या लाईफको नाफा, प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा गिरावट आएको छ । समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २२.१७ प्रतिशतले घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ६.९६ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो । हाल चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड ९० लाख ४ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जिवन बीमा कोषमा १२ अर्ब ५७ करोड १७ लाख ५० हजार रुपैयाँ र महाबिपत्ति कोषमा १६ करोड ३३ लाख १९ हजार रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ६३.९९ गुणा रहेको छ ।

८. आइतबार सुन चाँदी दुवैको मूल्य स्थिर

साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । आज पनि सुन प्रतिताेला ९२ हजार ५ सय र चाँदी प्रतिताेला एक हजार २ सय ५० रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको