Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह निर्वाचनको मिति घोषणा, सेयर बजार, सिडी रेसियो र तरलता संकट

अर्थ संसार

सोमबार, २४ माघ २०७८, १८ : २६ मा प्रकाशित

१. रिडी हाइड्रोकाे नाफामा छलाङ, ईपीएस १६० रुपैयाँ नाघ्दा अधिकांश सूचकमा चमक

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ काे दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ४६ करोड ९८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ६७ करोड ४४ लाख ७२ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ६६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४७ करोड एक लाख ६१ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६० रुपैयाँ ४८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २९ पैसा पुगेको छ । कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात ५.२२ गुणा रहेको छ ।

२. ४ अर्बले बढ्याे निक्षेप, घट्यो सिडी रेसियो

बैंकहरूकाे निक्षेप संकलन एकदिनमा ४ अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलन बढेपछि सिडी रेसियाे घटेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ २० गते ४८ खर्ब ६९ अर्ब रहेकाे बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप माघ २१ गतेसम्म बढेर ४८ खर्ब ७३ अर्ब पुगेकाे छ । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप ४ अर्बले बढेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप ४ अर्बले बढेर ४३ खर्ब ११ अर्ब पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४६ खर्ब ७१ अर्बमा स्थिर रहेकाे छ ।  बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.३० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

३. स्वावलम्बन लघुवित्तको नाफा २७.४२ प्रतिशतले बढ्दा ४१ रुपैयाँ नाघ्याे ईपीएस

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.४२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड ४५ लाख २६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ६३ करोड ५० लाख ३० हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले २९ करोड २९ लाख १ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्यस्तै, संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ ।

४. दाेहाेराे अंकले बढ्याे सेयर बजार, सर्वाधिक कमाउने र काराेबार हुने दुवैमा निफ्रा अब्बल

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । गत बिहीबार र हिजाे आइतबार घटेकाे बजारले आज भने उकालाे यात्रा तय गरेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेकाे छ । नेप्से ०.५५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेकाे छ । कूल २२४ वटा कम्पनीकाे ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार एक सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ । साेमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ४९ कराेड ३४ लाख ४९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज सर्वाधिक नाफा कमाउनेमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ता नै अगाडि छन् । बैंककाे सेयरमूल्य ८.४२ प्रतिशतले बढेर ४ सय १२ रूपैयाँ पुगेकाे छ । यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय ६८ रूपैयाँमा झरेकाे छ ।

५. ४६.८४ प्रतिशतले बढ्याे आरएमडिसी लघुवित्तको नाफा, अन्य सूचक सकारात्मक 

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.८४ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ११ करोड ४७ लाख ४७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ३७.८८ प्रतिशतले बढेर २७ करोड ७४ लाख २२ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी २० करोड १२ लाख ४ हजार रूपैयाँ रहेकाे थियाे । दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ४३.४८ प्रतिशतले बढेर २३ करोड ४९ लाख ५५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १६ कराेड ३७ लाख ४४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ र जगेडा कोषमा ९८ करोड ९२ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी ( ईपीएस) २७ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ रहेकाे छ ।

६. बैंकहरुको चुक्ता पूँजी बढ्दा तरलता संकट

बैक तथा वित्तिय परिसंघ नेपाल (सिबिफिन) ले हालै जारी गरेको 'तरलता संकटका कारणहरु र समाधानका उपायहरु, २०७८' ले बैंक तथा वित्तिय संस्थाहरुको पूँजी बृद्धिलाई पनि तरलता संकटको कारणको रुपमा औँल्याइएको छ । ४ गुणाले चुक्ता पुँजी वृद्धि भएकाले बैंकहरुसँग स्वपुँजी धेरै हुन गएकाे सिबिफिनले बताएकाे छ । जसका कारण अत्याधिक कर्जा बिस्तार गर्दा पनि पुँजी प्रर्याप्तता अनुपात कायम गर्नलाई बैंकहरुलाई कुनै दबाब नभएकाे उल्लेख गरिएकाे छ । आ.व. ०६९/७० यता हरेक वर्ष निक्षेप भन्दा कर्जाको वृद्धि दर बढी छ । आ.व. ०७६।७७ मा मात्र घटेको देखिन्छ । उक्त समयमा कोभिड १९ लाई नियन्त्रण गर्नका लागि देश लकडाउनमा गएको थियो । जसकारण व्यवसायिक क्रियाकलाप लगभग ठप्प थियो । त्यसैले, कर्जा प्रवाहमा पनि कमी आएको देखिन्छ । चालु आ. व. ०७८/७९ को पहिलो ४ महिनामा पनि निक्षेप मात्र ६४ अर्ब रुपैयाँले बढदा कर्जा भने ३ खर्ब ८५ अर्ब रुपैयाँले बढेको देखिन्छ ।

७. जनरल इन्स्योरेन्सको नाफा ५६.२० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५६.२० प्रतिशतले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क ११ करोड ९७ लाख ३७ हजार रुपैयाँ रहेको थियो । हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब रुपैयाँ र जगेडा काेषमा १३ कराेड ३ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे बीमा काेषमा १४ कराेड ९२ लाख रूपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।

८. एक सयले बढ्याे सुनकाे भाउ, ५ रूपैयाँले बढ्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ५५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको