Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको निक्षेप घट्दै

पत्रपत्रिका

बुधबार, २६ माघ २०७८, ०८ : २८ मा प्रकाशित

विदेशी मुद्राको निक्षेप घट्दै

विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा २०७८ असोजमा १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि पुनः घट्दै २०७८ पुस मसान्तसम्ममा ९७ अर्बमा झरेको छ ।

नेपाल राष्ट्र बैंकको नीतिगत प्रावधानअनुसार एनआरएनका साथै विदेशी मुद्रा आर्जन गर्ने सर्वसाधारणहरूले विदेशी मुद्रामा निक्षेप राख्न पाउँछन् ।

विदेशी मुद्रा भित्र्याउने उद्देश्यले गत मङ्सिरमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न व्यवस्थालाई लचिलो बनाएको थियो । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले गैरआवासीय नेपाली (एनआरएनए) हरूबाट अमेरिकी डलर, यूरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियाली डलर वा क्यानेडेली डलर, जापनी येन र चिनियाँ युआनमा एकवर्षे अवधिको मुद्दती निक्षेप खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले २ वर्ष अवधिको मात्र खाता खोल्न सकिने व्यवस्थालाई परिवर्तन गरी एकवर्षे अवधिको र अमेरिकी डलरका अतिरिक्त जापानी र चिनियाँ मुद्रामा समेत खाता खोल्न सकिने सुविधा थप गरेको हो । यसै गरी मुद्दती खातामा राख्नुपर्ने न्यूनतम रकम पनि १० हजार डलरबाट घटाएर ५ हजार डलर कायम गरिएको छ । विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको ग्राहक पहिचानसमेत अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

विदेशी मुद्रा भित्र्याउन खाता खोल्ने प्रावधान लचिलो बनाए पनि बैंकहरूमा विदेशी मुद्राको निक्षेप बढ्न सकेको छैन ।

अर्थमन्त्री जनादर्न शर्माले सार्वजनिक कार्यक्रमहरूमा बैंकहरूलाई एनआरएनबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानको मार्केटिङ गर्न आग्रह गर्दै आएका छन् । विदेशमा नेपालीहरूले ऋणात्मक ब्याजदरमा समेत निक्षेप राख्ने भएकाले त्यो रकम नेपाली बैंकहरूले ल्याउन सक्ने उनको भनाइ छ ।

हालसम्म नेपाल बैंकले मात्र औपचारिक रूपमा यस्तो योजना सार्वजनिक गरेको छ । गत सातामात्र नेपाल बैंकले एनआरएन डिपोजिट एकाउन्ट सार्वजनिक गर्दै अमेरिकी डलरमा साधारण बचत खातामा ४ दशमलव ५ र मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

पछिल्लो समय विदेशमा बस्ने नेपालीहरूका साथै देशबाट समेत क्रिप्टोकरेन्सीलगायत अनलाइन मार्केटिङमा लगानी गर्ने क्रम बढ्दै गएकाले विप्रेषण आप्रवाहसमेत प्रभाव परेको राष्ट्र बैंकले अनुमान गर्दै आएको छ ।

मंगलवार पनि राष्ट्र बैंकले चेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार तथा व्यवसायमा संलग्न नहुन आग्रह गरेको छ ।

छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बद्ध लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झटसमेत आउन सक्ने भएकाले यस्तो कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले पटकपटक सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ लगानी नगर्न चेतावनी दिए पनि नेपालीहरूले कारोबार गर्न भने छोडेका छैनन् ।

(याे समाचार आजकाे आर्थिक अभियानमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको